Skip This
४५औँ बुद्धिचाल ओलम्पियाड : सात असम्बन्धित व्यक्तिलाई पनि टोलीमा राखेपछि खेलाडीले समेत पाएनन् हंगेरीको भिसा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार o९:३९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

४५औँ बुद्धिचाल ओलम्पियाड : सात असम्बन्धित व्यक्तिलाई पनि टोलीमा राखेपछि खेलाडीले समेत पाएनन् हंगेरीको भिसा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार o९:३९:oo

विश्व बुद्धिचाल महासंघले नेपाललाई १४ सदस्यीय टोलीको भिसा आवेदन दिन भनेको थियो, तर नेपाल बुद्धिचाल महासंघले असम्बन्धित थप सातजनालाई अफिसियलका रूपमा लैजान सिफारिस गरेपछि खेलाडीले समेत पाएनन् भिसा

नेपाल बुद्धिचाल महासंघले असम्बन्धित व्यक्तिलाई ४५औँ ओलम्पियाडमा सहभागिताका लागि नेपाली टोलीको सदस्य बनाएपछि हंगेरीले भिसा नदिएको खुलेको छ । हंगेरीमा बुधबारदेखि सुरु भएकोे ओलम्पियाडमा सहभागी हुन बुद्धिचाल महासंघले नेपालस्थित जर्मनी दूतावासमा २१ जनाका लागि भिसा आवेदन दिएको थियो । तर, दूतावासले २० जनालाई भिसा दिन अस्वीकार गर्‍यो । 

नेपालमा हंगेरीको दूतावास नभएका कारण जर्मनी दूतावासले हेर्दै आएको छ । अस्ट्रेलियामा रहेका विवेक थिङको मात्र भिसा लागेको छ । अब उनले मात्र ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् । विश्व बुद्धिचाल महासंघ (फिडे)ले हंगेरीको बुढापेस्टमा भइरहेको ओलम्पियाडका लागि आधिकारिक रूपमा नेपाललाई १४ सदस्यीय टोलीको भिसा आवेदन दिन भनिएको थियो । तर, बुद्धिचाल महासंघले थप सातजनासमेत अफिसियलकै रूपमा समावेश गरी भिसा आवेदन दिएको थियो । 

फिडेले महिला र पुरुष टोलीका पाँच–पाँचजना खेलाडी, एक–एकजना टिम कप्तान, एकजना हेड अफ डेलिगेट्स र एकजना डेलिगेट्स गरी १४ जनासम्मलाई आधिकारिक मानेको छ । बुद्धिचाल महासंघले हेड अफ डेलिगेट्सका अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा फिडे डेलिगेट महासचिव धर्मबहादुर लामा, पुरुष टिम कप्तान कोषाध्यक्ष ताराबहादुर रानाभाट र महिला टिम कप्तानमा सदस्य राजु ताम्राकार पठाउने निर्णय गरेको थियो ।

बुद्धिचाल महासंघले १४ बाहेक थप सातजनालाई अफिसियलका रूपमा लाने प्रयास गरेपछि नेपाली टोलीले भिसा नपाएको स्रोतले बताएको छ । ‘फिडेले नेपाली टोलीमा १४ जनालाई मात्र आधिकारिक मानेको छ, यसबाहेक अफिसियल बनेर भिसा आवदेन दिएकामाथि दूतावासले शंका गरेको हुनुपर्छ, सम्भवतः उनीहरूमाथि मानव तस्करी हुनेजस्तो लाग्यो कि ? यस कारण सिंगो टोलीले भिसा नपाएको हो,’ स्रोतको दाबी छ । 

काठमाडौंमा रहेको जर्मनी दूतावासमा पहिलोपटकको प्रयासमा भिसा नलागेपछि टोलीले भारतको नयाँदिल्लीस्थित हंगेरी दूतावासमा भिसा लगाउन प्रयास गरेको थियो । ४५औँ ओलम्पियाडमा सहभागी नहुने निश्चित भएपछि नेपाली टोली बिहीबार बिहानै नयाँदिल्लीबाट स्वदेश फर्केको छ । नयाँ पत्रिकाको सम्पर्कमा आएको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले टोलीमा असम्बन्धित व्यक्ति कोही नरहेको दाबी गरेका छन् । 

‘हंगेरीमा आयोजना भइरहेको ओलम्पियाडमा सहभागी हुन आवेदन दिएको नेपाली टोलीमा असम्बन्धित व्यक्ति कोही पनि छैनन्,’ टेलिफोन वार्तामा महर्जनले भने, ‘यसपटक हामीमाथि षड्यन्त्र भएको छ ।’ उनले नेपालमा भिसा आवदेन दिनु नै गल्ती भएको बताए । ‘हामीहरूको ठूलो गल्ती नै नेपालमै भिसा अप्लाई गर्नु थियो,’ महर्जनले भने । 

ओलम्पियाड खेल्न भनेर घरबाट बिदा भएका खेलाडी क्षितिज भण्डारी पनि बिहीबारै फर्केका छन् । उनले खेलाडीमाथि ठूलो अपमान भएको बताएका छन् । ‘भिसा नपाउँदा दुःख लागेको छ, कसैका कारण नेपाली खेलाडीमाथि अन्याय भएको छ,’ उनले भने, ‘ओलम्पियाडजस्तो प्रतियोगितामा खेल्न नपाउँदा खेलाडीले ठूलो क्षति व्यहोरेजस्तो लाग्छ ।’ 

फिडेले आफ्ना सबै सदस्य राष्ट्रलाई ओलम्पियाडमा सहभागी गराउँदै आएको छ । नेपाल पहिलोपटक सन् २००४ मा स्पेनमा भएको ओलम्पियाडमा सहभागी भएको थियो । त्यसपछि हरेक दुई वर्षमा आयोजना हुने ओलम्पियाडमा नेपालले स्पेनपछि इटाली, जर्मनी, नर्वे, रुस, जर्जियामा भाग लिएको थियो । 

बुद्धिचाललाई सहयोग गर्ने व्यक्ति जाने चलन
फिडेले १४ जनालाई मात्र आधिकारिक माने पनि बुद्धिचाल खेललाई माया र सहयोग गर्ने व्यक्तिलाई ओलम्पियाडमा सहभागी गराउने चलन रहेको बुद्धिचाल महासंघका अध्यक्ष महर्जनको भनाइ छ । ‘यसपटक मात्र बुद्धिचाललाई सहयोग गर्ने व्यक्तित्वलाई लाने प्रयास गरेका हौँ,’ उनले भने, ‘यसअघिको इतिहास हेर्‍यौँ भने खेलाडी, डेलिगेटबाहेक अन्य व्यक्ति जाने गरेका थिए ।’ 

यसअघि नर्वेमा २०, जर्जियामा २१ र अजरबैजानमा ३० सदस्यीय टोलीले ओलम्पियाडका लागि भिसा पाएको उनले बताए । ‘यदि असम्बन्धित व्यक्ति लगेको भए, त्यसवेला पनि नेपाली टोलीले भिसा नपाउनुपर्ने थियो, हामीले आधिकारिक व्यक्तिलाई मात्र लाने गरेका छौँ,’ महर्जनको भनाइ छ ।

खेलाडीमाथि अन्याय भयो : क्षितिज भण्डारी, खेलाडी
एक बुद्धिचाल खेलाडीको चाहना नै ओलम्पियाड खेल्ने हो ।

हामीहरूको नजरमा यो ओलम्पिक र विश्वकपजस्तै हो । तर, केही व्यक्तिका कारण हंगेरीमा भइरहेको ओलम्पियाडमा सहभागी हुन सकेनौँ । कम्तीमा खेलाडीले भिसा पाउनुपर्ने थियो ।

काठमाडौंमा नभएपछि नयाँदिल्ली आएका थियौँ । तर, यहाँ पनि भिसा नलागेपछि नेपाल फर्किनुपर्दा दुःख लागेको छ । यस्तो हुन्छ भन्ने कल्पना पनि थिएन ।

ओलम्पियाडमा सहभागी हुँदा धेरै विषयमा ज्ञान हासिल गर्न सकिन्छ । त्यो मौका गुमायौँ ।

टोलीमा असम्बन्धित कोही छैन : हेराकाजी महर्जन, अध्यक्ष, नेपाल बुद्धिचाल महासंघ
मिडियालगायत अन्य क्षेत्रमा आएजस्तो ४५औँ ओलम्पियाडमा सहभागिताका लागि भिसा आवेदन दिएको नेपाली टोलीमा असम्बन्धित व्यक्ति कोही छैनन् । हामीमाथि षड्यन्त्र भएको छ । कसैले नेपालस्थित जर्मन दूतावासमा प्रोटेस्ट राखेका कारण नै भिसा नलागेजस्तो लाग्छ । पहिलो त नेपालमै भिसा आवेदन दिनु ठुलो गल्ती थियो । एकैपटक नयाँदिल्लीमा आएर भिसा आवेदन दिएको भए भिसा लाग्थ्यो कि ? तर, यहाँ पनि सोचेजस्तो भएन । मैले र संघका अन्य पदाधिकारीले कम्तीमा खेलाडीलाई भिसा दिनुस् भनेका थियौँ, तर उहाँहरूले खेलाडीलाई पनि विश्वास गर्नुभएन । यो नेपाली बुद्धिचाल इतिहासकै कालो दिन हो । फेरि फिडेले १४ जना आधिकारिक माने पनि अन्य व्यक्तिलाई लैजान सकिने प्रावधान छ । बुद्धिचालको विकासमा सहयोग गर्ने जोसुकैलाई पनि उनीहरूकै खर्चमा सहभागी गराउन सकिन्छ । हामीले अघिल्लोपटक पनि यस्तै गरेका थियौँ र यसपटक पनि बुद्धिचालको विकासमा सहयोग गरेकालाई लैजान प्रयास भएको हो । यसमा पत्रकारदेखि अन्य व्यक्ति पनि समावेश गर्न सकिन्छ । हामीमाथिको षड्यन्त्रको अनुसन्धान हुनेछ । हामी ती व्यक्तिनजिक पुगेका छौँ ।