कर्णाली याक्सबाट खेल्न डेभिड मिलर काठमाडौं आइपुगे

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण
कर्णाली याक्सबाट खेल्न डेभिड मिलर काठमाडौं आइपुगे

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर काठमाडौं आइपुगेका छन् । 

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्टस् प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । 

३७ वर्षीय मध्यक्रमका बायाँहाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् । 

उनले भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरू खेलेका छन् । उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मिलर मुख्य खेलाडी थिए । 

कर्णाली याक्स स्पोर्टस् प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन् । 

मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२०  आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई शतक र नाै अर्धशतक प्रहार गरेका थिए । उनले आफ्नो करिअरको दुई टी–२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए । 

यता, ५८४ टी–२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । यस्तै, आइपिएलमा पञ्जावबाट रोयल च्यालेन्जर्स बेंग्लाेरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए । 

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडाैं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो । 

अब, कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्दै छ । सो खेलमा डेभिड मिलर सहभागी हुनेछन् ।

सुझावित समाचार