रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको सनसनीपूर्ण जित

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण
रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको सनसनीपूर्ण जित

जनकपुर बोल्ट्सलाई दुई रनले हराएपछि विराटनगर किंग्सका खेलाडी । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

  • जनकपुरलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । वेस्ट इन्डिजका विश्वप्रसिद्ध अलराउन्डर रसेलले १० रन खर्चेर दुई विकेट लिँदै विराटनगरलाई दुई रनको जित दिलाए ।

काठमाडाैं- विश्व क्रिकेटकै चर्चित वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि मंगलबार विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले स्तब्ध बनाएको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित निकाल्न अन्तिम बलसम्म प्रतीक्षा गर्नु परेको थियो । पहिलो ब्याटिङ गरेको विराटनगरले २० ओभरमा तीन विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । प्रत्युत्तरमा जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउँदा विराटनगरले दुई रनको रोमाञ्चक जित निकाल्यो ।

जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो । विराटनगरका कप्तान सन्दीप लामिछानेले अन्तिम ओभर अनुभवी बलर रसेललाई गर्न लगाएका थिए । इनिङ्सको १९.१ ओभरमा रसेलले सैफ हसनलाई एक रन दिएका थिए । इनिङ्सको १९.२ ओभरमा रसेलले जनकपुरका कप्तान हरमित सिंहलाई क्याचआउट गराए । इनिङ्सको १९.३ ओभरमा जनकपुरका अभिषेक तिवारीले रसेलविरुद्ध चौका प्रहार गरे । त्यसपछि इनिङ्सको १९.४ ओभरमा अभिषेकले एक रन लिए ।

यसवेलामा जनकपुरलाई अन्तिम दुई बलमा सात रन आवश्यक भयो । इनिङ्सको १९.५ ओभरमा हसनले चौका प्रहार गर्दै खेलमा रोमाञ्चकता बढाए । इनिङ्सकै अन्तिम बलमा जनकपुरलाई सनसनी जित निकाल्न तीन आवश्यक रह्यो । विराटनगरलाई जित निकाल्न अन्तिम बल डट वा एक रनमा हुनुपर्ने थियो । दबाबपूर्ण स्थितिमा रसेलले आफ्नो अन्तर्राष्ट्रिय अनुभव प्रयोग गर्दै हसनलाई बासिर अहमदबाट क्याच गराए । त्यससँगै विराटनगर दुई रनले विजयी भयो । रसेलले चार ओभरमा ४५ रन खर्चेर चार विकेट लिए । अन्तिम बलमा विकेट लिएपछि रसेलसहित विराटनगरका खेलाडीले त्रिवि मैदानमै खुसी मनाए । जनकपुरका हसन नतिजा विश्वास गर्न नसकेर पिचमै घोप्टिएर बसेका थिए ।

२१ छक्का र १८ चौका
चालू एनपिएलमा रोमाञ्चक खेलमध्ये विराटनगर र जनकपुरबिच रह्यो । यस खेलमा कुल २१ छक्का र १८ चौका ब्याट्सम्यानहरूले प्रहार गरेका थिए । पहिलो ब्याटिङ गरेको इनिङ्समा विराटनगरका ब्याट्सम्यानले १० छक्का र ११ चौका प्रहार गरे । १७५ लक्ष्य पछ्याएको जनकपुरको इनिङ्समा ११ छक्का र सात चौका प्रहार भएको थियो । जनकपुरका लागि विशाल सुलिङ र जिमी निसिमले समान तीन छक्का प्रहार गरेका थिए । विराटनगरको ब्याटिङमा लोकेशले समान तीन छक्का र चौका हिर्काए । इमरानले पाँच चौका र दुई छक्का प्रहार गरे । जनकपुरको सुरुवात कमजोर रह्यो । चौथो ओभरमा मोइन अली १० रनमा पेभेलियन फर्किए । अनिल साह डकआउट भए । हसन र विशालले चौथो विकेटका लागि ७६ रनको महŒवपूर्ण साझेदारी गरे । निसमले आक्रामक ब्याटिङ गर्दै खेललाई जनकपुरको पक्षमा फर्काउने प्रयास गरे । उनले हसनसँग पाँचौँ विकेटका लागि ५६ रन जोडेका थिए । 

एकै खेलमा चार अर्धशतक
तेस्रो सिजनको एनपिएलअन्तर्गत १२औँ खेल बलरका तुलनमा ब्याट्सम्यान चम्किए । विराटनगरले पहिलो ब्याटिङ गर्दा तीन र जनकपुरको शतकीय इनिङ्स प्रहार भएको थियो । सुदूरपश्चिम रोयल्सविरुद्धको अघिल्लो खेलमा आक्रामक ब्याटिङ गरेका सेहान जयसूर्या इनिङ्सको ०.४ ओभरमा एक रनमै स्टम्पिङ भए । त्यसपछि विराटनगरका लागि लोकेश बम, इमरान सेख र आन्द्रे रसेलले अर्धशतकीय इनिङ्स खेल्दा पहिलो इनिङ्समा १७४ रन बन्यो ।

लोकेश र इमरानबिच दोस्रो विकेटका लागि १०७ रनको साझेदारी भएको थियो । दुवैले ०.४ देखि १३.२ ओभरसम्म साझेदारी गरेका थिए । इमरानले ४५ बलमा ५६ रन जोडेका थिए । इनिङ्सको १७.६ ओभरमा लोकेशले आफ्नो विकेट गुमाए । उनले ४० बलमा समान ५० रन जोडे । चालू एनपिएलमा दोस्रो अर्धशतक उनले लगाएका छन् । विराटनगरको ब्याटिङमा वेस्ट इन्डिजका अलराउन्डर रसेलले पुनः एकपटक आफ्नो वर्ल्ड क्लास प्रदर्शन देखाए ।

उनले केवल २९ बलमा पाँच छक्का र दुई चौकाको सहयोगमा ५२ रन जोडे । बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले ३८ रन खर्चेर दुई विकेट लिए । जनकपुरको ब्याटिङमा सैफ हसनले आक्रामक ब्याटिङ गरेका थिए । उनले ४८ बलमा पाँच छक्का र दुई चौकाको सहयोगमा ७१ र नको योगदान दिँदा पनि जनकपुरलाई जित दिलाउन सकेनन् । उनी इनिङ्सको अन्तिम बलमा रसेलको ओभरमा क्याचआउट भएका थिए ।

रसेलका नजरमा नेपालको पिच चुनौतीपूर्ण 

nullवेस्ट इन्डिजका टी–२० विश्वकप विजेता अलराउन्डर रसेलले लगभग संसारका सबै फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गरिसकेका छन् । उनको नयाँ फ्रेन्चाइज लिग नेपाल प्रिमियर हो । इन्डियन प्रिमियर लिगकै विदेशी खेलाडीमध्ये प्रभावशाली प्रदर्शन गरेको सूचीमा उनी पर्छन् । रसेलले आइपिएलको उपाधि पनि जितेका छन् । उनै विश्व च्याम्पियन रसेलले नेपालमा क्रिकेट खेल्नु अन्य स्थानको तुलनामा फरक अनुभव बाँडेका छन् । उनले त्रिवि क्रिकेट मैदानको पिचमा बल कहिलेकाहीँ सट रहने र स्पिन हुँदा ब्याटिङमा छिटो अनुकूल हुनुपर्ने विश्लेषण गरेका छन् ।

‘पिचमा रहँदा आफूले चाहेजस्तो सबै बलमा ठुलो सट खेल्न सकिने अवस्था यहाँ छैन,’ जनकपुरविरुद्ध म्यान अफ दी म्याच भएपछि रसेलले भने, ‘पिचको अवस्था बुझेर खेल्ने शैली परिवर्तन गर्नुपर्छ । यही चुनौतीका कारण मलाई नेपालमा क्रिकेट खेल्न थप रमाइलो बनाइरहेको छ ।’ पहिलो सिजनमा केवल तीन खेलमा सहभागी भएका रसेलले नेपालमा देखिएको क्रिकेटप्रति क्रेजका कारण अर्को वर्ष पनि आउन मन लागेको प्रतिक्रिया दिए । ‘आगामी वर्ष पनि एनपिएल खेल्न नेपाल फर्किने इच्छा छ,’ एनपिएलको प्रशंसा गर्दै उनले भने, ‘नेपालमा खेल्ने चुनौती र खेलाडीको प्रतिभाबाट प्रभावित भएको छु ।’ उनी अब एक खेल खेलेर फर्कँदै छन् ।

नेपालको सुन्दरतामा विशेष आकर्षण
रसेलले नेपालको मौसम र यहाँको सुन्दरताको खुलेर बताएका छन् । ‘रमाइलो पक्ष के छ भने, म बिहान उठ्दा हिमालको सुन्दर दृश्य देख्न सक्छु । यो मेरो जीवनकै विशेष अनुभव रह्यो,’ उनले भने । उनले सानैदेखि नेपालमा सगरमाथाबारे सुनेको बताए । ‘बाल्यकालदेखि नै सगरमाथाको देश सुन्दर छ भन्ने सुनेको थिएँ । यसको उचाइबारे जानकार छु,’ रसेलको भनाइ छ, ‘विश्वकै सर्वोच्च शिखर रहेको देशमा आउन खुसी लागेको छ ।’ 

सुझावित समाचार