१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ भदौ ८ शनिबार १o:५o:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुई सेकेन्ड बाँकी हुँदा हानेको किकले जितेको स्वर्ण 

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १o:५o:oo

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक जित्यो । कराँतेमा मात्रै १० स्वर्ण, चार रजत र पाँच कांस्यसहित कुल १९ पदक जित्यो । देशलाई त्यही ५१ स्वर्ण जिताउनेमध्येकी एक खेलाडी हुन्, कुसुम खड्का । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीकी कुसुमले ४५ केजी तौलसमूहको प्रतिस्पर्धामा बंगलादेशकी मोउन्जेरा बोर्नलाई ३–२ स्कोरले हराउँदै स्वर्ण पदक जितिन् । सेमिफाइनलमा श्रीलंकन सेनारथ अर्चाइगे इस्खालाई पराजित गर्दै रजत पदक पक्का गरिन् । दुवै खेलमा उनले अन्तिम १५ सेकेन्डभित्र कमब्याक जित निकालिन् । फाइनलमा अन्तिम दुई सेकेन्डमा एक अंक जोड्दै स्वर्ण पदक जिताइन् । उनै कुसुमले सागमा नेपाललाई स्वर्ण पदक जिताउँदाको क्षण नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाइन् :

मैले सिन्धुपाल्चोक चौताराको पीपलडाँडाबाट खेल्न सुरु गरेँ । ११–१२ वर्षको उमेरबाटै पढ्दापढ्दै खेल पनि अगाडि बढाएँ । पढ्न जाँदा बाटोमा डोजो देखेपछि खेल्न सुरु गरेँ । प्रशिक्षण पनि निःशुल्क भएपछि कराँते खेल्न थालेँ । पछि काठमाडौंको बौद्धमा परिवार नै बसाइँ सर्‍यौँ र बौद्ध डोजोमा रहेर प्रशिक्षण लिन सुरु गरेँ । लहैलहैमा लागेर खेल सुरु गरेकी मैले विजय लामा दाइहरूको खेलमा सामेल भएर राष्ट्रिय खेलाडी बन्ने सपना देखेँ । घर–परिवारबाट पनि साथ रह्यो । १० कक्षा पास गरेपछि खेल्न पनि छाडेकी थिएँ । खेलेरै घरपरिवार धान्न गाह्रो हुने देखेकी थिएँ । लगभग अब खेल्दिनँ भनेर खेल्न पनि छाडेकी हुँ । घरपरिवारमै केही गर्नुपर्छ भन्ने सोचेर बसेकी थिएँ । तर, विक्रम गुरुङ गुरुले घरमै आएर ‘तिमी राम्रो खेलाडी हो, खेल्नुपर्छ’ भन्नुभयो । परिवारलाई पनि तपाईंकी छोरी खेलमा राम्रो छिन् भनेपछि खेल्न पुनः सुरु गरेकी थिएँ । 

राष्ट्रिय च्याम्पियनलाई हराएँ
सबै खेलाडी एकैपटक खेल्न र प्रशिक्षण गर्न गएको देख्न थालेँ । ट्र्याकसुटमा खेल्न गएको देख्दा मज्जा लाग्थ्यो । १० कक्षामा पुग्दा एउटा राष्ट्रिय प्रतियोगिता खेलेँ । नेपालगन्जमा आयोजना भएको प्रतियोगितामा मैले कक्षा १० मा पढ्दा नै राष्ट्रिय च्याम्पियन अरुणा डिसी दिदीलाई हराएकी थिएँ । नेपाल पुलिसकी अरुणा दिदीलाई जितेपछि म स्वर्ण पदक जित्न सफल भएँ । त्यसपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफबाट खेलेँ । दुई वर्ष एपिएफमै खेलेँ । विराटनगरमा भएको सातौँ राष्ट्रिय प्रतियोगिता एपिएफबाट खेलेकी हुँ । जागिरपछि नेपालगन्जमा भएको आठौँ र पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा नेपाली सेनाको टिमबाट सहभागी भएँ । 

चारजनालाई हराएर छनोटमा प्रथम
मैले १३औँ एसियन गेम्समा ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी हुँ । तीनपटक छनोट भएको थियो । काठमाडौंमा भएको छनोटमा मैले सुदूरपश्चिम, एपिएफ र बागमतीका खेलाडीलाई हराएँ । मनीषा योञ्जन, वर्षा रावतजस्ता खेलाडीलाई हराएर पहिलोपटक साग गेम्स खेल्न छनोट भएँ । फाइनल छनोटमा पनि सफल भएपछि देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ । राष्ट्रिय टिममा दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र राजेश गुरुहरूले अभ्यास गराउनुभयो । सागका लागि तीन महिना क्लोज क्याम्प भएको हो । सागअघि मैले कराँतेको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितिसकेकी थिएँ । त्यसैले पनि छनोट मेरा लागि सहज भयो ।

प्रतियोगिताअघि गोलीगाँठोमा समस्या
सागअघि इन्डोनेसिया खेल्न गएकी थिएँ । तर, प्रतियोगितामा गोलीगाँठोमा चोट लाग्यो । निकै समस्याबीच प्रतियोगिता खेलेर आएँ । त्यसपछि मलेसियामा १५ दिनको अभ्यास हुँदा निकै राम्रो प्रशिक्षण पायौँ । सागअघि बंगलादेशमा पाँचौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप भयो । त्यहाँ पनि स्वर्ण पदक जितेँ । भारत र बंगलादेशसँग खेल्न गाह्रो थियो । झन् बंगलादेशका खेलाडी राम्रा थिए । तैपनि, मैले त्यहाँ बंगाली खेलाडीलाई नै हराएर उपाधि जितेको हो । गोलीगाँठोको समस्या बल्झिन्छ कि भन्ने डर निकै थियो । तर, भाग्यवश मलाई त्यो घाउले सताएन ।

पहिलो दिन नै खेल
सागको पहिलो दिन नै मेरो फाइट थियो । हाम्रो क्लोज क्याम्प कुपन्डोलको एक होटेलमा भएको थियो । खेल खेल्न प्रहरी स्कटिङमा सातदोबाटो कराँते हल पुगेका थियौँ । त्यो दिन सम्झिँदा अझै पनि एकदमै रमाइलो लाग्छ । पहिलोपटक त्यसरी प्रहरीको स्कटिङमा प्रतियोगिता खेल्न पुगेका थियौँ । त्यसैले पनि मेरो आत्मबल निकै बलियो थियो । पहिलो दिन नै खेल हुँदा के हुने हो भन्ने मनमा द्विविधा थियो । खेलाडीलाई त्यसै त राष्ट्रिय च्याम्पियनसिप जोगाउन निकै गाह्रो हुन्छ । त्यहाँमाथि पहिलोपटक साग गेम्स खेल्दै थिएँ ।

मैले देशलाई पदक जिताउनु छ भनी खेलमा लागिपरेँ । मैले पदक जित्दा मेरो र देशको सान नै भिन्नै हुने थियो । यो धेरै माथिको कुरा पनि हो । राति निद्रा पनि नलाग्ने भएको थियो । त्यसैले उपाधि जित्नुपर्छ र त्यसका लागि सक्दो मिहिनेत गर्छु भन्ने नै थियो । 

सेमिफाइलनमा श्रीलंकासँग आशा नै मारेँ 
पहिलो खेलका लागि निकै दबाब थियो । प्रशिक्षकले निकै आत्मबल बढाउनुभएको थियो । तैपनि, मनमा डर लागिरहेको थियो । एकपटक चिप्लियो भने अहिलेसम्मको सबै तयारी बेकार हुन्छ भन्ने लाग्यो । पहिलो खेल श्रीलंकन सेनारथेसँग थियो । उनले तीन स्कोरका अग्रता लिइन् । मलाई कमब्याक गर्न निकै कठिन भएको थियो । मेरो भाग्य नै छैन, यति नै रहेछ जस्तो लाग्दै थियो । १५ सेकेन्ड मात्रै बाँकी थियो । यत्तिकै आत्मसमर्पण गर्दिनँ भन्ने भयो । मरेरै खेल्छु भन्नेर तम्सिएँ, १५ सेकेन्ड बाँकी रहँदा मैले अग्रता बनाएँ र खेल जित्न सफल भएँ । फाइनलमा त्यति मेरो आँसु झरेन, जति सेमिफाइनलमा गाह्रो भएको थियो । भित्रैबाट भक्कानिएर रुन मन लाग्यो । आफ्नो मिहिनेत सफल भएको भन्ठानेँ । मलाई खेल जित्न निकै गाह्रो भयो । अब, यहाँबाट माथि बढ्दिनँ भन्ने पनि लाग्यो । एक स्कोर नै बढाउन निकै गाह्रो थियो । जम्मा तीन अंक जोड्नु थियो । श्रीलंकन खेलाडीलाई भेट्टाउन र किक हान्न सकिरहेकी थिइनँ । तीन मिनेट मात्र बाँकी थियो, के गर्नु र कसो गर्नु भएर केही सोच्नै सकिनँ । मसँग भन्ने शब्द नै थिएन । तर, भाग्यवश म सफल भएँ । एउटै किकले मलाई फाइनलमा स्थान दिलायो ।

फाइनलअघि नै पदक जित्ने विश्वास 
फाइनलमा बंगलादेशसँग खेल्ने तय भयो । मैले सेमिफाइनलमा श्रीलंकाको खेलाडी हराउँदा नै अब स्वर्ण पदक पक्काजस्तो भएको थियो । किनभने, बंगलादेशमै भएको प्रतियोगितामा बंगाली खेलाडी मोउन्जेरालाई मैले हराएकी थिएँ । त्यसैले पनि ढुक्क थिएँ । तर, आत्मविश्वास भए पनि खेलमा निकै गाह्रो भयो । उनलाई मैले जति बुझेकी थिएँ, खेलमा त्यति सहज भएन । निकै गाह्रो भयो । मैले सुरुमा अग्रता बनाएँ । उनले फेरि बराबर गरिन् । २–२ को बराबरी भयो । तर, १५ सेकेन्ड बाँकी रहँदा मैले दबाब बनाउन सकेँ । फलतः दुई सेकेन्ड हुँदा सोचेको जस्तो किक लाग्यो । ३–२ को स्कोरमा जित निकालेँ । प्रतिस्पर्धा निकै कडा भएको थियो । सेमिफाइनल र फाइनल नै १५ सेकेन्डको अन्तरमा जितेको हो । 

आमाकै अघि स्वर्ण पदक जितेँ 
आमाले घरमा कहिल्यै पनि खेल खेल्न रोक्नुभएन । आमाबुबाले खाना नखाएर भए पनि मलाई खेल्न नै प्रेरित गर्नुभयो । बाबाले पनि सधैँ खेल्न प्रोत्साहन गर्नुभयो । आमालाई खेलका बारेमा थाहा नभए पनि सधैँ खेल हेर्न भने आउनुहुन्थ्यो । सागमा छोरीले पदक जित्दा निकै खुसी हुनुभयो । बाबा भने हेर्न आउनुभएन । तर, बाबाले सधैँ प्रतियोगिता हुँदा खेल्नुपर्छ । जित्नुपर्छ भनेर हौस्याउनुहुन्थ्यो । मलाई प्रतियोगिता हुने थाहा हुँदैनथ्यो । बाबालाई सबै कुरा थाहा हुने । ४५ केजी प्रतिस्पर्धामा मैले सहभागिता जनाएकी थिएँ । तर, बाबालाई मैले ४५ केजीमा खेलेको थाहा रहेनछ । अनि ‘जिम जाऊ ज्यान बढाउनुपर्छ’ भन्नुहुथ्यो । बुबाआमाले नै त्यसरी मेरो खेलमा ध्यान दिनुभएको थियो । अरूका छोराछोरी पत्रिका, टेलिभिजनमा देख्दा त्यस्तै हुनुपर्छ भन्नुहुन्थ्यो । बाबाले प्रतियोगिता हेर्न आमालाई पठाउनुहुन्थ्यो । स्वर्ण पदक जितेपछि आमाको अँगालोमा बेरिएँ । खुसीका आँसु झार्नुभयो । धेरै खुसी हुनुभयो । प्रतियोगितामा स्वर्ण जितेपछि होटेल गयौँ । पहिलो दिन नै पदक जितेपछि बधाईको ओइरो लाग्यो । मैले देशका लागि छैटौँ स्वर्ण जितेको हो । सरकार, मेरो क्लब नेपाली सेना, गाउँमा पनि मेरो सम्मान भयो । नगरपालिकामा सम्मान हुँदा हजुरआमा, बुबालाई लैजान पाएँ । मेरा लागि त्यो जतिको खुसीको कुरा के हुन सक्छ र ? 

देश छाड्न सकिनँ, प्रशिक्षक पेसामा लागेँ 
साग खेलेका अधिकाश खेलाडी बिदेसिएका छन् । म भने नेपालमै केही गरौँ भन्ने सोचमा छु । अलिकति स्वास्थ्यको समस्या पनि छ । एक वर्ष निकै समस्या झेल्नुपर्‍यो । सास नै फेर्न गाह्रो हुने भएको थियो । खेलाडीले खेलेपछि दुई–तीन महिना वाहीवाही पाउँछन् । त्यसपछि केही सुविधा पाइँदैन । त्यही भएर धेरैजसो खेलाडी बाहिर जान थाले । यहाँ अवसर पनि हुँदैन । राजनीतिको पनि सिकार हुनुपर्छ । त्यसैले भविष्य बनाउन भए पनि खेलाडी सबै विदेश जाने गरेका छन् । म भने प्रशिक्षण कोर्स गरेर बसेकी छु । जे गर्न सक्छु, देशमै गर्छु भन्ने छ ।