१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ भदौ ८ शनिबार o९:२९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक व्यापारको दृश्य : आयात–निर्यात घट्यो, व्यापार घाटा बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार o९:२९:oo

वर्षौँदेखि बढिरहेको व्यापार घाटा एक वर्षदेखि सुधारोन्मुख थियो, तर चालू आव ०८१/८२ को पहिलो महिनामै व्यापार घाटा बढेर पुरानै लय समात्ने जोखिम बढेको छ ।

आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा व्यापार घाटा बढेको छ । आर्थिक वर्ष ०८०/८१ को साउनमा एक खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा भएकोमा ०८१/८२ को साउनमा एक खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । गत वर्षको साउनको तुलनामा यसपटक ४४ करोड ६ लाख रुपैयाँ (०.३८ प्रतिशत)ले व्यापार घाटा बढेको हो ।

व्यापार घाटा बढे पनि आयात र निर्यात दुवै घटेको छ । गत साउनमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात भएको छ । एक वर्षअघि साउन ०८० मा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाखको वस्तु आयात भएको थियो । यसपटक ०.६७ प्रतिशतले आयात घटेको हो । आयातसँगै निर्यात पनि घटेको छ । ०८० साउनमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो भने गत साउनमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । ९.६३ प्रतिशतले वस्तु निर्यात खस्किएको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

आयात र निर्यात घट्दा कुल वैदेशिक व्यापार १.५२ प्रतिशतले घटेको छ । ०८० साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको वैदेशिक व्यापार गत साउनमा एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यसको अर्थ, एक सय रुपैयाँको वैदेशिक व्यापारमा ८.७० रुपैयाँबराबरको निर्यात भएको छ भने ९१.३० रुपैयाँबराबरको आयात भएको भन्ने हो । 

साउनमा सबैभन्दा बढी आयात हुनेमा डिजेल, पेट्रोल, खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनको हिस्सा सबैभन्दा धेरै छ । त्यसपछि युरिया, फलामजन्य उत्पादन, स्मार्टफोन, हट रोल्ड आइरन, सूर्यमुखीको कच्चा तेल, रासायनिक मल, भटमासको कच्चा तेल, तोरीको दाना, भटमासको पिना, कोइला, सुन र धान–चामल रहेका छन् । 

भन्सार विभागका अनुसार ६ अर्ब ९८ करोड ७१ लाख ९५ हजार रुपैयाँको डिजेल आयात भएकोे छ । पाँच अर्ब ६९ करोड ३५ लाख चार हजार रुपैयाँको पेट्रोल र चार अर्ब ८२ करोड ६६ लाख ६७ हजारको खाना पकाउने ग्यास आयात भएको छ । युरिया चार अर्ब २७ करोडको आएको छ भने फलामजन्य उत्पादन तीन अर्ब ७२ करोडको आएको छ । तीन अर्ब ४६ करोड ६३ लाखको स्मार्टफोन र हट रोल्ड आइरन तीन अर्बको आयात भएको छ । 

विभागका अनुसार दुई अर्ब ६३ करोडको कच्चा सूर्यमुखी तेल, दुई अर्ब ३७ करोडको औषधिजन्य सामग्री, एक अर्ब ७९ करोडको रासायनिक मल, एक अर्ब ३० करोडको कच्चा भटमासको तेल आयात भएको छ । 

त्यस्तै, एक अर्ब २५ करोडको तोरीको दाना, एक अर्ब २० करोडको हवाई इन्धन, एक अर्ब १८ करोडको भटमासको पिना, एक अर्ब ११ करोडको कोइला, एक अर्ब चार करोडको सुन र एक अर्ब तीन करोडको धान आयात भएको विभागले जनाएको छ । 

निर्याततर्फ भने गलैँचाले अग्रस्थान ओगटेको छ । कुल १२ अर्ब २२ करोडको वस्तु निर्यात हुँदा एक अर्ब ११ करोड रुपैयाँको गलैँचा मात्रै निर्यात भएको छ । सबैभन्दा बढी अमेरिकामा गलैँचा निर्यात भएको तथ्यांक छ । ऊनी र जनावरको रौँबाट निर्मित गलैँचाको माग बढ्दै गएको छ । नेपाली गलैँचा अमेरिकामा ७८ करोड ८४ लाख रुपैयाँको निर्यात भएको छ । अमेरिकामा ६७.४९ प्रतिशत गलैँचा निर्यात भएको छ ।  

विभागका अनुसार ५८ करोड २० लाखको फेल्ट निर्यात भएको छ । ५१ करोड ३२ लाखको चिया, ४७ करोड ९७ लाखको फलाम तथा स्टिल रोल, ४३ करेड ३१ लाखको तोरीको पिना, ४२ करोड ३३ लाखको काठको प्लाई, ३५ करोड २६ लाखको (८५ प्रतिशतसम्म पोलिस्टर भएको) धागो, ३५ करोड २६ लाखको जुस, ३४ करोड १७ लाखको (८५ प्रतिशतभन्दा बढी पोलिस्टर भएको) धागो निर्यात भएको छ । त्यस्तै, ३१ करोड ६४ लाखको जुटको बोरा निर्यात भएको छ ।