Skip This
प्रचण्ड-बाबुरामले एउटै मञ्चबाट भने- ‘जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठुलो परिघटना हो’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २७ बिहीबार २o:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड-बाबुरामले एउटै मञ्चबाट भने- ‘जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठुलो परिघटना हो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार २o:o९:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट नेपालमा चलेको दशवर्षे जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठुलो ऐतिहासिक परिघटना भएको बताएका छन्।

लाखौँ जनता सहभागी भएर लडिएको भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने दुई नेताको भनाइ छ।

शुक्रबारबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिचलचित्र ‘राधाकृष्ण’को बिहीबार प्रिमियर सो हेरेपछि उनीहरूले यस्ता धारणा राखेका हुन्। 

अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठुलो राजनीतिक क्रान्ति कहिल्यै नभएको भन्दै यो ऐतिहासिक परिघटना भएको बताए।

‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौँलाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध नै हो,’ उनले भने, ‘लाखौँ जनताले यसमा भाग मात्र लिएनन्, वर्षौदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ, यति ठुलो आन्दोलन ल्याटिन अमेरिकी मुलुक वा युरोपतिर भएको हुन्थ्यो भने विश्वव्यापी परिवर्तनको घटनाको रूपमा दर्ज भइसक्ने थियो।’

कतिपय शक्तिहरूले लाखौँ जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताए।

‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौँ भनेको पनि सुन्छु,’ उनले प्रश्न गरे, ‘हामी मूलधारमा आयौँ कि हामीले मूलधार सिर्जना गर्यौं? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौँ। अन्य दलहरू हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन।’

इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उनले टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र विद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौँ जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्‍याउने विश्वास व्यक्त गरे।

नेसपाका अध्यक्ष डा. भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठुलो परिघटना भएको बताए।

 ‘सुगौली सन्धिअघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौँ जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो। यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तहतप्काका जनताले भाग लिए,’ उनले भने।

जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा. भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताए। ‘बच्चा जन्मँदा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ, तर बच्चासँगै जन्मेको फोहोर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुसियाली हो,’ उनले भने, ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आमउत्पीडित जनतालाई दिएको मुक्ति र खुसी नै जनयुद्धको मूल पक्ष हो।’ 

कार्यक्रममा टेलिशृंखला ‘राधाकृष्ण’ले जनयुद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रबार साँझ प्रसारण हुने जानकारी दिइएको थियो। कार्यक्रममा हास्य कलाकार जितु नेपाललगायतले शुभकामना दिए।