१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ८ शनिबार o९:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्रीले पार्टीमा भनिन्– भारत भ्रमण सफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार o९:१९:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा भारत भ्रमण सफल भएको प्रस्तुतीकरण दिएकी छिन् । शुक्रबारको बैठकमा उनले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको सुनाइन् । 

परराष्ट्रमन्त्री राणा भारतको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्केकी हुन् । त्यसको भोलिपल्ट त्यसबारे पार्टी बैठकमा उनले भ्रमणबाट दुई मुलुकबिच रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको बताइन् । नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव परराष्ट्रमन्त्रीले सुनाएकी थिइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्तामा नेपालको हित र चासोका सबै विषय राखेको उनले बताइन् । ‘यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रका माध्यमबाट सहयोग र सहकार्य थप प्रवद्र्धन गर्न मार्गदर्शन गरेको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिइन् । भेटमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको उनको भनाइ थियो । 

विदेशमन्त्री जयशंकरसँग भएको भेटवार्तामा ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायत विषयमा कुराकानी भएको उनले जानकारी दिइन् । भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि परराष्ट्रमन्त्री राणाले बताइन् ।