१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ८ शनिबार o८:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भुटान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार o८:५८:oo

घरेलु टोली नेपालले साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’को खेल पूरा भएसँगै अन्तिम चारको समीकरण पूरा भयो । समूह ‘ए’बाट नेपाल विजेता र बंगलादेश उपविजेता भए । समूह ‘बी’मा भारत विजेता बन्दा भुटान उपविजेता भयो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको प्रतियोगितामा पाकिस्तानले नाम फिर्ता लिँदा ६ टोली सहभागी भए । एक पनि खेल नजिती श्रीलंका र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका छन् । अब, आइतबार हुने पहिलो सेमिफाइनलमा दुईपटकका च्याम्पियन नेपाल र भुटान भिड्नेछन् । सोमबार हुने दोस्रो सेमिफाइनलमा तीनपटकको च्याम्पियन भारत र साबिक उपविजेता बंगलादेश प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल दशरथ रंगशालामा नहुने
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको सेमिफाइनल पनि दशरथ रंगशालामा नहुने बताएको छ । एन्फाले सेमिफाइनलका दुवै खेल सातदोबाटोमा हुने र फाइनल दशरथ रंगशालामा गर्ने योजना बनाएको छ । 

एन्फाले बुधबार दशरथ रंगशालामा फाइनल राति ५:३० बजे सुरु गर्ने बताएको छ । यद्यपि, लगातार वर्षा भएको अवस्थामा फाइनल पनि सातदोबाटोमै हुन सक्ने प्रवक्ता सुरेश शाहले बताए । ‘हाम्रो योजना फाइनल दशरथ रंगशालामै गर्ने हो । तर, लगातार वर्षा भएको अवस्थामा सोच्नुपर्छ ।’ 

२९ साउनमा एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल दशरथ रंगशालामा भएको थियो । तर, नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसी खेलिरहँदा मैदान निकै हिलाम्मे बन्यो । त्यसपछि मैदानको विषयमा निकै आलोचना भएको थियो । जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैदान समयमै निर्माण गर्न नसकेपछि साफ यू–२० च्याम्पियनसिप सातदोबाटो सरेको हो ।