१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ८ शनिबार o८:३२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसका धेरै नेता महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावको विपक्षमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार o८:३२:oo

कांग्रेस नेताहरू पार्टी महामन्त्री विश्वप्रकाश शर्माको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकालको समयसीमा तोक्नुपर्ने प्रस्तावकोे विपक्षमा देखिएका छन् । राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने शर्माको प्रस्ताव उपयुक्त नभएको नेताहरूको प्रतिक्रिया छ । 

जारी केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राख्ने क्रममा महामन्त्री शर्माले राखेको प्रस्तावमा बोल्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आमनिर्वाचन लड्न पाउनुपर्ने मत राखे । ‘कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्छ । यो पदमा यतिपटकभन्दा बढी हुनुहुँदैन भनेर नेतृत्वको बहिर्गमनको व्यवस्था गरिनु लोकतान्त्रिक व्यवस्थामा सान्दर्भिक र व्यावहारिक हुँदैन,’ बैठकमा सिंहको भनाइ थियो । 

केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले महामन्त्री शर्माको प्रस्ताव असान्दर्भिक भएको धारणा राखे । शर्माको प्रस्ताव संविधानसँग बाझिएको उनको भनाइ छ । महामन्त्री शर्माको प्रस्तावअनुसार पार्टीले नीति बनाए अलोकतान्त्रिक हुने कार्कीले बताए । ‘महामन्त्रीले ल्याएको प्रस्तावअनुसार प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने गरी कांग्रेसको नीति बनाउने हो भने त्यो अलोकतान्त्रिक हुन्छ । जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ,’ कार्कीले भने । 

यसअघि बैठकमा धारणा राख्ने क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समेत दुईपटक प्रधानमन्त्रीको प्रस्तावमा असन्तुष्टि राखेकी थिइन् । साथै, नेता विमलेन्द्र निधिले समेत शुक्रबार धारणा राख्ने क्रममा असान्दर्भिक भएको टिप्पणी गरेका थिए ।

बैठकमा सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पनि शर्माको प्रस्तावको विरोध गरे । ‘कांग्रेसको विधानले सभापतिको दुई कार्यकाल स्पष्ट गरेको छ । कांग्रेसको विधानमा गर्न सकिने व्यवस्था यही हो,’ उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद् कतिपटक भनेर त संविधानमा समावेश गर्ने विषय हुन् । भावनामा बहकिने विषय होइन ।’ अर्का सहमहामन्त्री जीवन परियारले समानुपातिक–समावेशी विषय कांग्रेसले बिर्सन नहुने धारणा राखे ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बहिर्गमन प्रस्ताव सान्दर्भिक नभएको भन्दै बताए । ‘एक्जिट पोलिसीको विषय सुन्दा रमाइलो लाग्ला, तर पार्टीको नीति बन्ने विषय होइन,’ उनले भने, ‘खासमा यो समसामयिक रनानीतिक प्रतिवेदनमा आउनुपर्ने प्रस्ताव नै होइन । यो विषय हलुका मानेर नीति बनाएर गयौँ भने पार्टी र देशकै हितविपरीत हुन्छ ।’ 

त्यसैबीच, बैठकमा केन्द्रीय सदस्य भण्डारीले कांग्रेसले संविधान संशोधनका क्रममा हिन्दु राष्ट्र कायम राख्ने विषयमा आवश्यक निर्णय लिनुपर्ने माग गरेका छन् । कांग्रेसले संविधानमा रहेको धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दु) राष्ट्र घोषणा गर्ने विषयमा केन्द्रीय समितिले तत्काल निर्णय लिनुपर्नेमा उनको जोड थियो । शुक्रबार बैठकमा केन्द्रीय सदस्यहरू र सहमहामन्त्रीको धारणा राख्ने क्रम सकिएको छ । अबको बैठक १२ भदौमा बस्नेछ । 

परराष्ट्रमन्त्रीले पार्टीमा भनिन्– भारत भ्रमण सफल 
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा भारत भ्रमण सफल भएको प्रस्तुतीकरण दिएकी छिन् । शुक्रबारको बैठकमा उनले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको सुनाइन् । 

परराष्ट्रमन्त्री राणा भारतको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्केकी हुन् । त्यसको भोलिपल्ट त्यसबारे पार्टी बैठकमा उनले भ्रमणबाट दुई मुलुकबिच रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको बताइन् । नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव परराष्ट्रमन्त्रीले सुनाएकी थिइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्तामा नेपालको हित र चासोका सबै विषय राखेको उनले बताइन् । ‘यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रका माध्यमबाट सहयोग र सहकार्य थप प्रवद्र्धन गर्न मार्गदर्शन गरेको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिइन् । भेटमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको उनको भनाइ थियो । 

विदेशमन्त्री जयशंकरसँग भएको भेटवार्तामा ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायत विषयमा कुराकानी भएको उनले जानकारी दिइन् । भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि परराष्ट्रमन्त्री राणाले बताइन् ।