मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २७ आइतबार
  • Thursday, 19 December, 2024
नेपाल–चीन रसुवागढी नाका
कृष्ण रिजाल काठमाडाैं
२o८१ श्रावण २७ आइतबार o९:१४:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनसँगको ३४ प्रतिशत व्यापार मात्रै चिनियाँ नाकाबाट

नाकामा पूर्वाधार र भरपर्दो सडक नहुँदा दुई देशबीचको ६६ प्रतिशत व्यापार भारत र हवाईमार्गबाट

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २७ आइतबार o९:१४:oo

रसुवा भन्सार प्रमुख रामप्रसाद पाठक भन्छन्–सडक पूर्वाधार भरपर्दो नहुँदा दुई देशबीचको नाकाबाट हुने व्यापार तुलनात्मक रूपमा कम देखिएको हो । खासगरी ठूलो परिमाणमा हुने आयातका लागि व्यवसायीहरूले सामुद्रिक मार्ग हुँदै वीरगन्जबाट ल्याउने गरेका छन् । सडक गतिलो नभएका कारण व्यवसायीहरूले महँगा र संवेदनशील सामान रसुवा वा तातोपानी नाकाको साटो सामुद्रिक मार्ग (भारत हुँदै) रोज्ने गरेका छन् । नाकासम्म पुग्ने सडकको अवस्था राम्रो नभएकै कारण व्यवसायीले रिस्क लिन नचाहेका हुन् ।

उत्तरी छिमेकी चीन र नेपालबीच १४ नाका सञ्चालनमा छन्, जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय नाका नै हुन् । तर, जोडिएका नाका र नाकासम्म पुग्ने भरपर्दो सडकलगायत पूर्वाधार नहुँदा दुई देशबीचको व्यापार भने सामुद्रिक र हवाईमार्गबाट बढी हुने गरेको देखिएको छ । दुई देशबीचको कुल व्यापारमा एकतिहाइ मात्र आयात–निर्यात दुई देशबीचको नाकाबाट हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । 

आर्थिक वर्ष ०८०/८१ मा नेपाल र चीनबीच कुल तीन खर्ब एक अर्ब ३६ करोड ३२ लाखबराबरको व्यापार भएको छ । तर, चीनतर्फका नाकाबाट एक खर्ब दुई अर्ब ९९ करोड ९० लाखको व्यापार भएको भन्सार विभागको तथ्यांक छ । जुन चीनतर्फ भएको कुल व्यापारको ३४.१७ प्रतिशतबराबर हो । बाँकी ६५.८३ प्रतिशत व्यापार भने भारत र हवाईमार्गबाट हुने गरेको छ । 

यसबीचमा नेपालले चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड ४६ लाखको आयात गर्दा दुई अर्ब ५८ करोड ८६ लाखको निर्यात गरेको छ । जसमध्ये दुई देशबीचका नाकाबाट भने नेपालले कुल एक खर्ब एक अर्ब २५ करोड ३५ लाखको आयात र  एक अर्ब ७४ करोड ५५ लाखको निर्यात गरेको छ । 

नेपाल र चीनबीच सञ्चालनमा रहेका नाकाहरू मौसमबाट प्रभावित हुने कारण तुलनात्मक रूपमा सामुद्रिक र हवाईमार्गबाट बढी व्यापार भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष एवं संरक्षक बच्चु पौडेलले बताए । ‘वर्षाको समयमा चीन र नेपाल दुवैतर्फ बाढीपहिरोको जोखिम धेरै छ, सडकहरू अवरुद्ध भइरहन्छन्, हिउँदको समयमा भने चीनतर्फ धेरै हिउँ परेर ढुवानीमा समस्या हुने गरेको छ,’ उनले भने, ‘सञ्चालनमा रहेका दुई ठूला नाका रसुवा र तातोपानी बाह्रै महिना चल्न नसक्ने भएका कारण दुई देशबीचको व्यापार नाकाबाट भन्दा सामुद्रिक मार्गबाट बढी हुने गरेको हो ।’ 

खासगरी भूकम्प र कोभिडका कारण नाकाहरू प्रभावित हुँदा नाकाबाट हुने व्यापार अनुपात कम देखिएको भए पनि क्रमशः बढ्दो अवस्थामा रहेको पौडेलले बताए । ‘खासगरी भारत हुँदै सामुद्रिक मार्गबाट ल्याउँदा दुई महिना लाग्छ भने सडकमार्गबाट ल्याउँदा १५–१७ दिनमा सामान आइपुग्छ, तर लागतचाहिँ सामुद्रिक मार्गकै केही सस्तो छ,’ उनले भने, ‘यद्यपि, दुई देशबीचको व्यापारका लागि बन्दरगाह, सडकलगायत पूर्वाधार निर्माणसमेत भइरहेको सन्दर्भमा नाकाबाट हुने व्यापारसमेत बढिरहेको देखिन्छ ।’

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले सडक पूर्वाधार भरपर्दो नहुँदा दुई देशबीचको नाकाबाट हुने व्यापार तुलनात्मक रूपमा कम देखिएको बताए । खासगरी ठूलो परिमाणमा हुने आयातका लागि व्यवसायीहरूले सामुद्रिक मार्ग हुँदै वीरगन्जबाट ल्याउने गरेको उनले बताए । ‘सडक गतिलो नभएका कारण व्यवसायीहरूले महँगा र संवेदनशील सामान रसुवा वा तातोपानी नाकाको साटो सामुद्रिक मार्ग (भारत हुँदै) रोज्ने गरेका छन्,’ उनले भने, ‘नाकासम्म पुग्ने सडकको अवस्था राम्रो नभएकै कारण व्यवसायीले रिस्क लिन नचाहेका हुन् ।’ सामुद्रिक मार्गबाट ल्याउँदा एक महिनाभन्दा बढी समय लाग्ने भए पनि लागत केही कम हुने गरेको पाइएको उनले बताए । यद्यपि, रसुवा वा तातोपानी नाकाबाट ढिलोमा १७ दिनमा सामग्री ल्याउन सकिने भएकाले ‘अपरच्युनिटिज बेनिफिट’ (पुनः लगानी गरेर लाभ आर्जन गर्ने सम्भावना) लिन सक्ने उनले बताए । पछिल्ला समय पूर्वाधार निर्माण तथा स्तरोन्नति भइरहेकाले नाकाबाट हुने व्यापार अझ बढ्ने सम्भावना रहेको उनको भनाइ छ । 

कुन नाकाबाट कति आयात–निर्यात ?
आर्थिक वर्ष ०८०/८१ मा रसुवाबाट ६० अर्ब ९१ करोड दुई लाखको आयात हुँदा एक अर्ब ७३ करोड ६२ लाखको निर्यात भएको छ । त्यस्तै, तातोपानीबाट ४० अर्ब ३४ करोड ३३ लाखको आयात हुँदा ९३ लाखको निर्यात भएको छ । नेपालको कुल आयातमा रसुवा नाकाको हिस्सा ३.८२ प्रतिशत रहेको छ । कुल निर्यातमा रसुवाको हिस्सा १.१४ प्रतिशत रहेको छ । त्यस्तै, नेपालको कुल आयातमा तातोपानी नाकाको हिस्सा २.५३ प्रतिशत रहेको छ । कुल निर्यातमा तातोपानी नाकाको हिस्सा ०.०१ प्रतिशत रहेको छ । अन्य परम्परागत नाकाबाट स्थानीयस्तरमा व्यापार हुने गरेको छ । तर, त्यसको तथ्यांक विभागको रेकर्डमा छैन । नेपाल–चीन पारवहन सन्धिको प्रोटकलले दुई देशबीचका ६ वटा नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलले रसुवा (केरुङ), कोदारी (तातोपानी), किमाथांका (संखुवासभा), नेचुंग (कोरला), यारी (हिल्सा) र ओलाङचुङगोला (ताप्लेजुङ) नाकामार्फत पारवहन ढुवानी गर्न सकिने व्यवस्था गरिएको छ । त्यसमध्ये रसुवा, तातोपानी र हिल्सा मात्रै सञ्चालनमा छन् । बाँकी अन्य नाका परम्परागत रूपमै सञ्चालनमा रहेका छन् । करिब दुई महिनाअघि किमाथांका, तिप्ताला, भञ्ज्याङ, लाप्ची, फालक, थाप्ला पास, मार्युम्ला पास, कोरलालगायत नेपाल चीनबीचका १४ वटै परम्परागत नाका सञ्चालनमा आएको घोषणा गरिएको थियो । 

दोस्रो ठूलो व्यापार साझेदारसँग बढ्दो घाटा
चीन नेपालको भारतपछि दोस्रो ठूलो व्यापार साझेदार हो । नेपालको कुल व्यापारमा चीनतर्फको हिस्सा १७.३६ प्रतिशत रहेको छ । तर, दोस्रो ठूलो व्यापार साझेदारसँगको व्यापार घाटा भने चुलिँदो अवस्थामा रहेको छ । 

आर्थिक वर्ष ०८०/८१ मा नेपालले दुई खर्ब ९८ अर्ब ७७ करोडको आयात गर्दा दुई अर्ब ५८ करोडको मात्रै निर्यात गर्न सकेको छ । उक्त आवमा नेपालले दुई खर्ब ९६ अर्ब १८ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ । जुन व्यापार घाटा अघिल्लो आव ०७९/८० को तुलनामा ७५ अर्ब २३ करोडले बढी हो । त्यसअघिको आर्थिक वर्ष ०७९/८० मा नेपालले दुई खर्ब २२ अर्ब ७१ करोडको आयात गर्दा एक अर्ब ७६ करोडको निर्यात गरेको  थियो जसमा नेपाललाई दुई खर्ब २० अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा भएको थियो ।