
बुढानीलकण्ठ नगरपालिका– ४ पासिकोटस्थित कान्तिपुर नमुनाबस्तीमा पहिरो नियन्त्रणका लागि पाइलिङ सुरु गरिएको छ।
१३ साउनको पहिरोले चार घरमा क्षति पुर्याउनुका साथै तीन घर उच्च जोखिममा परेपछि भू–संरक्षण तथा जलाधार कार्यालय, बुढानीलकण्ठ नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले पहिरो नियन्त्रणका लागि पाइलिङ थालेका हुन् । मंगलबारदेखि नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले पहिरो गएको क्षेत्रमा फलामका पाइप गाडेर सिमेन्ट र गिटी हाल्न थालेका हुन् ।
बुढानीलकण्ठ– ४ का वडाध्यक्ष श्रीराम केसीका अनुसार पहिरोले अर्जुनबहादुर बुढाथोकीको कम्पाउन्ड र झ्यालसँगै आधा घर पुरिएको थियो भने मदन गुरुङ र उत्तम खनालको घरमा लेदो पसेको थियो । यस्तै, अच्युत केसी, सुरेन्द्र केसी र धनञ्जय केसीको घर पहिरोको उच्च जोखिममा परेपछि पाइलिङ थालिएको हो । सार्वजनिक जग्गाबाट तीन सय मिटर ठूलो पहिरो खसेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्रदेव बस्नेत र भू–संरक्षण तथा जलाधार कार्यालयका प्रमुख विष्णुबहादुर भण्डारी मंगलबार पहिरो गएको स्थल पुगेका थिए।
स्वास्थ्यमन्त्री पौडेलले पहिरो नियन्त्रणका लागि तत्काल काम गर्न सम्बन्धित निकायलाई भनेपछि मंगलबारबाट काम सुरु भएको हो । एक साताभित्र पाइलिङ सकिने र त्यसपछि बागमती प्रदेशको सिँचाइ विभागले जाली र ढुंगा हालेर पहिरो नियन्त्रणको काम थप प्रभावकारी बनाउने वडाध्यक्ष केसीले बताए ।