अविरल वर्षासँगैको बाढीले कञ्चनपुरमा एक शिशुसहित चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । कञ्चनपुरमा ११ सय ३१ र कैलालीमा ५३१ परिवार विस्थापित भएका छन् ।
कञ्चनपुरको दोधारामा आइतबार परेको पानी ७७ वर्षयताकै धेरै हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दोधारा नगरपालिकामा रहेको स्वचालित वर्षा मापन केन्द्रमा आइतबार बिहानदेखि सोमबार बिहानसम्म ६२४ (६२३.९९) मिलिमिटर वर्षा रेकर्ड भएको छ । नेपालमा यसअघि १९–२० जुलाई १९९३ मा मकवानपुरको टिस्टुङमा ५४० मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।
घरभित्र पानी पस्दा कृष्णपुर नगरपालिका– १ पहरियाका सातमहिने शिशुको सोमबार बिहानै मृत्यु भएको हो । आमा संगीता धानुकसँगै सुतेका सोनु खाटबाट खसेर पानीमा डुबेका थिए । त्यस्तै, पुनर्वास नगरपालिका– ५ (ग) गाउँका तीन किशोरीको पौडी खेल्ने क्रममा ज्यान गएको छ । वर्षाले जमेको पानीमा नुहाउने क्रममा डुबेर गौरीशंकर माविमा पढ्ने लक्ष्मी बोगटी, सिर्जना बोगटी र आरती बोगटीको मृत्यु भएको कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए । लक्ष्मी कक्षा ९ तथा आरती र सिर्जना १० कक्षामा अध्ययनरत थिए । विद्यालयमा बिदा भएपछि उनीहरू तालतिर गएका थिए । चौधर नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका बेलडाँडी गाउँपालिका– ३ वैवाहकी २३ वर्षीय डम्बर चौधरी अझै फेला परेका छैनन् ।
विस्थापितहरू विद्यालय, सामुदायिक भवन, सडक र आफन्तको घरमा बसिरहेका छन् । आइतबार रातिको वर्षाका कारण कैलालीमा भजनी नगरपालिका र कैलारी गाउँपालिकामा बाढी पसेको छ । त्यस्तै, कञ्चनपुरमा ठूलो बाढी आउँदा ४ हजार १३५ व्यक्ति विस्थापित भएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए । २४ घण्टामै ६२४ मिलिमिटर वर्षा भएको दोधारा–चाँदनीका नौ सय परिवार विस्थापित छन् । त्यसबाहेक भीमदत्त, वेदकोट, बेलडाँडी, बेलौरी, पुनर्वासका बासिन्दाका घरमा पनि बाढी पसेको छ ।
‘पानी घट्न थालेपछि केही घर फर्किनुभएको छ,’ प्रजिअ सापकोटाले भने, ‘बाँकीलाई खाद्यान्नको प्रबन्ध गरिएको छ ।’ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले डुबानमा परेका व्यक्तिको उद्धार गरेको थियो । महाकालीको बहाव हाल पनि उच्च छ । पानीको बहाव १ लाख ५५ हजार क्युसेक पुगेकाले शारदा ब्यारेजको बनबासा पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द छ ।
०२८ सालको झल्को दिने गरी दोधारामा बाढी
महाकाली र जोगबुढा दुई नदीको मिलनविन्दु दोधारा–चाँदनी नगरको कुतियाकबरमा बाढी पसेको छ । महाकालीमा जोगबुढा नदी थुनिँदा कुतियाकबर र त्यसआसपासका सुन्दरनगर, शान्तिटोल, निसानी टोल, रामपुरे बस्ती, देउराली घाट, जर्दा डुबानमा परेका हुन् ।
सुन्दरनगर जर्ता टोलका ६३ वर्षीय जितवीर कामीले ०२८ सालयताकै ठूलो बाढी रहेकोे बताए । उनको परिवार विस्थापित भएर विद्यालयमा बसेको छ । स्थानीय तुलबहादुर खड्काले सुन्दरनगरमा यति ठूलो बाढी पहिलोपटक देखेको बताए । ‘जोगबुढा र महाकाली नदीले कुतियाकबरसहितका अन्य गाउँबस्ती डुबान हुन्थे । सुुन्दरनगरमा यसरी बाढी पस्दैनथ्यो,’ उनले भने ।
कुतियाकबरका टेकबहादुर सुनारले कुतियाकबर हरेक वर्ष कटान र बाढीको चपेटामा रहेको बताए । दोधारा चाँदनीका मेयर किशोरकुमार लिम्बूले नगरका अधिकांश बस्ती डुबानमा रहेको बताए । नौ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । ‘नगरपालिकाले रेडक्रस र अन्य संघसंस्थासँग सहकार्य गरेर विस्थापितलाई खाना खुवाएको छ,’
लिम्बूले भने, ‘क्षतिको यकिन तथ्यांक आएपछि सोहीअनुसार राहत वितरण गर्छाैँ ।’
त्यसैगरी, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरका बस्ती पनि डुबानमा परेका छन् । भीमदत्त नगरपालिका–४ भगतपुर बनदेवी टोलका अधिकांश घरमा पानी पसेको छ । महाकाली नदीको तटसँगै रहेको भुजेला खोला गाउँ पसेको हो । भीनपा– ११ का वडाध्यक्ष प्रकाश थापाले महाकाली नदीमा उच्च बहाव भएपछि बस्ती डुबानमा परेको बताए ।
त्यस्तै, झर्नाखोलाको बाढीले बेलडाँडी र बेलौरीका दर्जनौँ घर डुबानमा परेका छन् । झर्नासागरकी कलावती जोशीले खोलामा बाढी आएपछि केही विस्थापित सरस्वती माविमा बसेको बताइन् । ‘यो खोला यस वर्ष पनि उर्लिएर आएको छ,’ उनले भनिन्, ‘खोलाबाट विस्थापित भएका ८–१० परिवार सुरक्षित स्थानमा सरिसकेका छन् ।’
१६ वर्षमा फेरि गाउँ पस्यो चौधर नदी
उत्तर चुरे भएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाँडी गाउँपालिका– ५ इमलिया भएर बग्ने चौधर नदी गाउँ पसेको छ । ०६५ को बाढीमा चौधर नदी इमलिया क्षेत्रबाट गाउँ पसेको थियो । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भुर्षाको गणेश माविको पूर्वबाट चौधर नदीमा ठूलो बाढी आएर बस्ती डुबानमा परेको बताए । उनका अनुसार इमलिया, ढकनिया, वैवाह, खैरिघाटका एक हजार घर डुबानमा परेका छन् । बाढीले इमलियाका नन्दकिशोर एसकेको घर बगाएको छ ।
बाढीले पूर्व–पश्चिम राजमार्गको कल्भर्ट भत्कायो
हजारा खोलाको बाढीले बेदकोट नगरपालिका–७, सुडास्थित पूर्व–पश्चिम राजमार्गको कल्भर्ट भत्काइदिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार पुल भत्किएपछि यात्रु वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । कल्भर्ट भत्किएको क्षेत्रबाट उत्तरतिरको सहायक सडक भएर गाडी गुडिरहेका छन् । साना गाडी र यात्रुवाहक बस मात्र यो सडक भएर गुडिरहेको उनले बताए । स्थानीय गणेश नेपालीका अनुसार हजारा खोलाको बाढी स्थानीयको घरमा पनि पसेको छ ।
आइतबार कञ्चनपुरको दोधारामा रेकर्ड भएको वर्षा अहिलेसम्मकै धेरै हो
डा. अर्चना श्रेष्ठ उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग
पश्चिममा धेरै वर्षा हुन्छ भनेर प्रक्षेपण नै गरेका थियौँ । आइतबार कञ्चनपुर क्षेत्रमा निकै ठूलो पानी परेको छ । दोधारामा रेकर्ड भएको ६२४ मिलिमिटर वर्षा अहिलेसम्मकै धेरै हो । तर, त्यहाँ स्वचालित मापन केन्द्र रहेकाले थप भेरिफाई गर्छौँ । सन् १९९३ मा मकवानपुरको वर्षाको अध्ययन गर्दा हामीसँग त्यहाँ मापन केन्द्र थिएन । तर, यसपटक सुविधा छ । सेटलाइटका तथ्यांक विश्लेषण गर्नेछौँ । तापक्रम र वर्षाको तथ्यांक हामीसँग सीमित छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्टेसन निकै कम छन्, अन्यत्र पनि सीमित छन् । स्टेसन थप्ने योजनामा छौँ ।