Skip This
को हुन् इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियन ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o८:४५:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

को हुन् इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियन ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o८:४५:oo

इरानका सुधारवादी उम्मेदवार मसुद पेजेस्कियन देशको राष्ट्रपतिमा विजयी भएका छन् । पेजेस्कियनले दोस्रो चरणको राष्ट्रपतीय चुनावमा जित हासिल गरेका हुन् । यसअघि पहिलो चरणको निर्वाचनमा कुनै पनि दलले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मतदान भएको थियो । पेजेस्कियनले एक करोड ६० लाखभन्दा बढी मत ल्याए भने उनका प्रतिद्वन्द्वी अल्ट्रा कन्जर्भेटिभका सइद जलिलीले एक करोड तीन लाख मत प्राप्त गरे । निर्वाचनमा ४९.८ प्रतिशत मतदान भएको थियो भने रद्द भएको मतपत्रको संख्या ६ लाखभन्दा बढी थियो । 

जितपछि पेजेस्कियनले आफ्ना समर्थक तथा मतदातालाई धन्यवाद दिँदै सबैलाई मित्रताको हात बढाउने बताए । हेलिकोप्टर दुर्घटनामा तत्कालीन राष्ट्रपति इब्राहिम रायसीको मृत्युपछि भएको चुनावलाई विश्व समुदायले नै चासोका साथ हेरिरहेका थिए । इरानको चुनाव प्राधिकरणको तथ्यांकअनुसार पहिलो चरणमा पेजेस्कियनले सबैभन्दा धेरै (४२ प्रतिशत) मत प्राप्त गरी विजय भएका थिए भने जलिली लगभग ३९ प्रतिशतको साथ दोस्रो स्थानमा रहेका थिए ।  

इरानको ६ करोड १० लाख योग्य मतदातामध्ये ४० प्रतिशतले मात्र पहिलो चरणमा भाग लिएका थिए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको कुनै पनि राष्ट्रपतीय निर्वाचनमा यो सबैभन्दा कम मतदान हो । हालसम्म खासै चर्चामा नरहेका पेजेस्कियनको उम्मेदवारले रुढिवादी र अति रुढिवादी क्याम्पको वर्षौंको प्रभुत्वपछि इरानका सुधारवादीहरूको आशा बढाएको छ । इरानको मुख्य सुधारवादी गठबन्धनले पेजेस्कियनलाई समर्थन गरेको थियो भने पूर्वराष्ट्रपति मोहम्मद खातमी र हसन रुहानीले समर्थन गरेका थिए ।

मुटुका शल्यचिकित्सक पेजेस्कियनले इरानलाई अलगावबाट बाहिर निकाल्न, आणविक सम्झौतालाई पुनः जीवित गर्न र पश्चिमी देशसँग रचनात्मक सम्बन्धका लागि आह्वान गरेका छन् । जलिली इरानका पूर्वआणविक वार्ताकार समेत हुन् । शुक्रबारको प्रतिस्पर्धाअघि पेजेस्कियन र जलिलीले दुई टेलिभिजन बहसमा भाग लिँदा कम मतदान, साथै इरानको आर्थिक समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध र इन्टरनेट प्रतिबन्धहरूबारे छलफल गरेका थिए । 

पेजेस्कियनले इन्टरनेट प्रतिबन्ध कम गर्ने र महिलाका लागि अनिवार्य हेडस्कार्फ लागू गर्ने प्रहरी गस्तीलाई ‘पूर्ण रूपमा’ विरोध गर्ने वाचा गरेका छन् । सन् ०२२ मा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछिको उच्च–प्रोफाइल मुद्दा बनेको थियो । इरानी कुर्दलाई ड्रेस कोड उल्लंघनको आरोपमा हिरासतमा लिइएको थियो भने उनको मृत्युले महिनौँको देशव्यापी अशान्ति निम्त्याएको थियो ।