Skip This
अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १९ शनिबार १७:२७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १७:२७:oo

अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएका छन्। 

नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरका रुपमा उनीहरूलाई शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो।

कार्यक्रममा हमालले आफूले २५ वर्षपहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको  सुटिङ गरेको अनुभव सुनाए। साथै, अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए।  

नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए। जसको उदाहरण बलुन नेपालमार्फत हट एयर  बलुनमा उड्न पाउनुसमेत रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्नेसमेत महानायक हमालले विश्वास व्यक्त गरे।

लोकप्रिय नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र  बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन्। ‘म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु,’ उनले भनिन्। 

 बलुन नेपाल प्रालिको आयोजना र  रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो।

क्रिष्टमस र अंग्रेजी नयाँ वर्षका अवसरमा आगामी ९ देखि १६ पुससम्म महोत्सव आयोजना गर्न लागिएको कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङसमेत खुला गरिएको छ।

साथै, गैर आवासीय नेपाली समाज (एनआरएनए) बाट पनि यस कार्यक्रमको प्रवर्धन हुँदैछ। जसका लागि कम्पनीका निर्देशकसमेत रहेका बेलायतका दीपककुमार श्रेष्ठ र रोबर्ट विश्वकर्माले समन्वय गरिरहेको  कम्पनीका प्रबन्ध निर्देशक सबिन महर्जनले जानकारी दिए। 

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ।  जसमा बेलुन नेपालको तर्फबाट पाँचवटा हट एयर बलुन सञ्चालन गरिनेछ। 

स्पेन, फ्रान्स, अमेरिका, युके, लाटभिया, जर्मनी, लाओस, अस्ट्रिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भइरहेको कम्पनीका निर्देशक बिबी ढकालले जानकारी दिए।

महोत्सव पोखराको लौरुकदेखि चंखपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ। बलुन नेपाल प्रालिका अध्यक्ष बिक्रम बाँडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए। 

महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए। 

कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिवल प्रभावकारी हुने उनको भनाइ छ। 

महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ, जसलाई मुख्य आकर्षणको रूपमा समावेश गरिएको कम्पनीले जनाएको छ। रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लोलगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ।

बेलुन नेपालले सन २०१८ देखि पोखरामा हट अयर बेलुन उडान सेवा प्रदान गर्दै आएको छ।