Skip This
अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार मात्रै १० जनाको ज्यान गयाे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o६:३६:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार मात्रै १० जनाको ज्यान गयाे

Read Time : > 7 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o६:३६:oo

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबार अधिक वर्षा, मानवीय क्षति धेरै गण्डकीमा, सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल उद्धारमा खटिन मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

जिल्लामा बाढीपहिरोको क्षतिकाे विवरण

स्याङ्जा : पहिरोमा तीनजनाको मृत्यु, एक बेपत्ता, सेतीवेणी बजार उच्च जोखिममा
पर्वत : पहिरोले घरगोठ बगाउँदा दुईको मृत्यु
तनहुँ : पहिरोमा दुईजनाको मृत्यु
काभ्रे : उपचार गरेर फर्किँदै गर्दा फुपू–भदैनी खोलाको भेलमा अस्ताए
काठमाडौं : नागार्जुन नपा– ३ स्थित सिंगल ट्रीनजिकै गएको पहिरोमा पुरिएर युवको मृत्यु 
कास्की : सेती नदी किनारका पाँच घरका २३ जनालाई सुरक्षित स्थानमा सारियो, पहिरोले घरको भान्छा पुरियो
बागलुङ : पहिरोले बागलुङका ग्रामीण सडक अवरुद्ध, ठेउलेखोला जलविद्युत्को बाँध पुरियो, दर्जन घर जोखिममा 
पाल्पा : रूखले च्यापेर दुई घाइते, चार सय रोपनी खेत डुबानमा, ठाउँ–ठाउँमा सडक अवरुद्ध । रानीमहल पनि जोखिममा
सल्यान : लेदोसहितको पहिरोले राप्ती राजमार्ग अवरुद्ध
कालिकोट : पहिरोले छेकियो कर्णाली राजमार्गको कालीकोट खण्ड 
मकवानपुर : हेटौँडा–काठमाडौं जोड्ने सडक कतै अवरुद्ध, कतै सञ्चालन
धनगढी : पहिरोले सुदूरपश्चिमका ठाउँ–ठाउँमा सडक अवरुद्ध
लमजुङ : ड्यामले बाढी थेग्न नसक्दा माथिल्लो मस्र्याङ्दी ‘ए’को विद्युत् उत्पादन बन्द, मध्यपहाडी लोकमार्ग र बेँसीसहर–चामे सडक अवरुद्ध
दोलखा : बाढीले तीन घर बगायो, एक महिना बेपत्ता 
सप्तरी : सप्तकोशीमा बालियो खतराको बत्ती, खोलियो ब्यारेजका ३६ ढोका

अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार मात्रै १० जनाको ज्यान गएको छ । पहिरोमा आठ र बाढीमा दुईजनाको मृत्यु भएको हो । सबैभन्दा धेरै क्षति गण्डकीमा भएको छ । गण्डकीका स्याङ्जा, पर्वत र तनहुँमा पहिरोमा पुरिएर सातजनाको मृत्यु भएको छ । त्यस्तै, बागमतीका काठमाडौंमा पहिरोमै पुरिएर एकजनाको तथा काभ्रेमा खोलाले बगाएर दुईजनाको ज्यान गएको छ । 

स्याङ्जामा बिरुवा गाउँपालिका– ६, लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोमा पुरिँदा ६५ वर्षीया गुन्जेश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ६९ वर्षीय माधव शर्माको मृत्यु भएको हो । उनीहरू एकैपरिवारका भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताए । स्याङ्जाकै भिरकोट नगरपालिका– ५, सरेककी खेमकुमारी मल्ल पहिरोमा बेपत्ता छिन् । 

त्यस्तै, पर्वतको फलेवास नगरपालिका– १, कार्किनेटा पन्थेमा पहिरोले घरगोठ बगाउँदा दुईजनाको मृत्यु भएको छ । अपराह्न ३ बजेतिर कुलप्रसाद पाध्याको घरगोठ बगाउँदा उनका छोरा ४० वर्षीय झलकप्रसाद पौडेल र पाहुना आएका आँधिखोला गाउँपालिका– ३ का ३३ वर्षीय तुलसीप्रसाद पौडेलको ज्यान गएको हो । तुलसीप्रसादको घटनास्थलदेखि सय मिटर तल खोल्सामा शव भेटिएको र झलकको भने स्याङ्जा आँधिखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । 

तनहुँमा पनि पहिरोमै परेर दुईजनाले ज्यान गुमाएका छन् । अन्य दुई बेपत्ता छन् भने ६ घाइते छन् । शुक्लागण्डकी नगरपालिका– ७ का ४० वर्षीय हिरा नेपाली र ऋषिङ गाउँपालिका– १, मालिङगाका ५० वर्षीय कृष्णबहादुर पुलामीको मृत्यु भएको हो । आफ्नो र छिमेकी सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्र सरसामान निकाल्न जाने क्रममा हिरा पहिरोमा पुरिएका थिए । हिरासँगै पहिरोमा परेका ३७ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता नै छन् । त्यस्तै, कृष्णबहादुरको भने ऋषिङ झुपाटारस्थित निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङ मार्गबाहिर काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । उक्त पहिरोमा स्थानीय ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रूपकुमार नेपाली र १५ वर्षीय विमल नेपाली तथा लमजुङ सुन्दरबजार नगरपालिका– २ का ५१ वर्षीय समलाल श्रेष्ठ घाइते भएका छन् । 

काठमाडौंको नागार्जुन नगरपालिका– ३ स्थित सिंगल ट्रीनजिकै गएको पहिरोमा परेर ट्रपिकल रेस्टुरेन्टमा काम गर्ने गोरखा लगन थापा गाउँपालिका– ६ का २२ वर्षीय मनोज विकको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो ११ बजेतिर उनी पहिरोमा परेका थिए । 

त्यस्तै, काभ्रेको रोशी गाउँपालिका– ११ स्थित भ्याकुरे खोलाले बगाउँदा सोही वडामा पर्ने भीमखोरीका ६५ वर्षीया जलमाया रुचाल मगर र उनकी भदैनी पाँच वर्षीया सेतीमाया रुचाचाल मगरको मृत्यु भएको छ । उनीहरू मंगलटारस्थित मेडिकलमा सेतीमायाको उपचार गरेर घर फर्किँदै थिए । डम्फुपार्कनजिक उनीहरूको शव भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीले जानकारी दिए । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिनभरमा देशभर सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । 

उर्लिए उपत्यकाका नदी–खोला, किनारका बस्तीमा बाढी 
अविरल वर्षाका कारण उपत्यकाका अधिकांश भाग जलमग्न भएका छन् । नदी–किनारका बस्तीमा बाढी पसेको छ । विशेषगरी बागमती, विष्णुमती, हनुमन्ते नदी किनारका बस्तीमा बाढी पसेको छ । 

बाढीका कारण नदी–किनारका करिडोर शनिबार दिनभर अस्तव्यस्त बने । विशेषगरी बागमती किनारका इमाडोल, टेकु र युनएनपार्क प्रभावित बने । थापाथली र बल्खुस्थित सुकुमबासी बस्तीमा बढी पस्यो । बल्खुस्थित तरकारीबजार पनि जलमग्न बन्यो । धोबीखोला र विष्णुमती करिडोर पनि शनिबार दिनभरजसो प्रभावित भए । 

भक्तपुरस्थित हनुमन्ते खोलामा आएको बाढीका कारण स्थानीय प्रभावित भए । मध्यपुरथिमी नगरपालिका– २, दिव्यश्वरी प्लानिङ एरियास्थित १८ टहरामा बाढी पस्यो । आश्रित ५६ मजदुर विस्थापित बने । मध्यपुरथिमि– ३, कौशलटारस्थित आश्विन आचार्यको टहरमा पनि बाढी पस्यो । चाँगुनारायण नगरपालिका– ४ खनालचोकस्थित प्रगती टोल डुबानमा पर्‍यो । रिद्दिसिद्दि बसपार्क र खहरेबाट बस्तीमा भेल पसेको थियो । 

कास्की : सेती नदी किनारका पाँच घरका २३ जनालाई सुरक्षित स्थानमा सारियो, पहिरोले घरको भान्छा पुरियो
लगातारको वर्षपछि बाढीको जोखिमबाट जोगाउन पोखरा महानगरपालिका– १४, गोष्टी टोलस्थित सेती नदी किनारका पाँच घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय विष्णुमाया सुनुवारको परिवारका पाँच, डोल्मा शेर्पाको परिवारका सात, सुकदेव गुरुङको परिवारका चार, डावा शेर्पाको परिवारका चार र काजी शेर्पाको परिवारका तीन सदस्यलाई टोल विकास संस्थाको भवनमा सारिएको जिल्ला प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए । त्यस्तै, पहिरोले पोखरा– ३२, डाँडागाउँका राजन विकको कच्चीघरको भान्छाकोठा पुरिएको छ । 

बागलुङ : पहिरोले बागलुङका ग्रामीण सडक अवरुद्ध, ठेउलेखोला जलविद्युत्को बाँध पुरियो, दर्जन घर जोखिममा
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेरादेखि सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नगर उपप्रमुख हरिहर शर्माका अनुसार कुश्मिसेरादेखि सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् । यो यसै वर्ष कालोपत्रे र ढलान भएको सडक हो । त्यस्तै, विनामारेमा माथिबाट आएको लेदोका कारण कालीगण्डकी करिडोर सडकको उक्त खण्ड अवरुद्ध भएको छ । गलकोटदेखि हिल हुँदै ताराखोला जाने सडक पनि अवरुद्ध भएको छ । 

बागलुङ नगरपालिका– ४, बान्द्रेमा पहिरो खस्दा बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने सडक खण्ड दिनभर बन्द भएकोमा साँझ एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत गलकोट हटियादेखि खरबाङ हुँदै पश्चिम बागलुङ जाने अवरुद्ध लोकमार्ग पनि पुनः सञ्चालनमा आएको छ । गलकोट– ११, रिघा काउचेमा पहिरो जाँदा लोकमार्ग अवरुद्ध भएको थियो ।

पहिरोले जैमिनी नगरपालिका– १ र ४ भएर बग्ने ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ । बाँध पुरिएसँगै विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको बाराही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए । यहाँबाट १.५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

त्यस्तै, काठेखोला गाउँपालिका– ६, सुल्डाँडादेखि वडा नम्बर ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल र जमिन भासिँदा तीन परिवार विस्थापित भएका छन् भने नौ घर पहिरोको जोखिममा परेका छन् । स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवारलाई भीमसेन क्याम्पसमा सारिएको हो । सोही ठाउँका ११ घर पनि जोखिममा छन् । पहिरो खसिरहेको छ । पालिका अध्यक्ष राजु थापाले बस्ती जोखाउन जोडरबाट पहिरो हटाइरहेको बताए । 

पञ्चकोच प्रहरीचौकीमा पनि पहिरो, प्रहरीलाई मन्दिरको सभाहलमा सारियो
पहिरोले बागलुङ– ६, पञ्चकोटस्थित प्रहरीचौकीमा पनि क्षति पुगेको छ । पञ्चकोट मन्दिर जाने सिँढीमा लगाइएको पर्खाल भत्किँदा प्रहरीचौकीको चारकोठे भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले बताए । त्यहाँका प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभाहलमा व्यवस्थापन गरिएको छ । 

पाल्पा : रूखले च्यापेर दुई घाइते, चार सय रोपनी खेत डुवानमा, ठाउँ–ठाउँमा सडक अवरुद्ध 
रम्भा गाउँपालिका– २, फोक्सिङकोटमा रूख ढल्दा रम्भा–३, का १९ वर्षीय शिव गाहा र इन्द्र राना घाइते भएका छन् । त्यस्तै, रामपुर नगरपालिका–९, मधुकोटका कमलबहादुर साठीघरेको गोठमा पहिरो खस्दा एउटा भैँसी र तीन बाख्रा मरेका छन् । प्रहरीका अनुसार रिब्दीकोट मालमुलकी मीना विकको एकतले कच्ची घर र गोठमा पहिराले क्षति पुगेको छ । 

अविरण वर्षाका कारण जिल्लामा चार सय रोपनी खेत डुबानमा परेको छ । जिल्लाकै अन्न भण्डार मानिएको माडीफाँट डुबानमा परेको छ । रामपुर क्षेत्र र तानसेनस्थित प्रवास तथा बाँसटानरी क्षेत्रमा पनि खेत डुबेको छ । यो क्षेत्रमा किसानले केही दिनअघि मात्रै रोपाइँ गरेका थिए । 

ठाउँ–ठाउँमा पहिरो खस्दा सडक बन्द भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत चर्चरेमा लेदोसहितको पहिरो गएको छ । त्यस्तै, बर्तुङ र कालीमाटी क्षेत्रमा समेत पहिरो जाँदा रुपन्देहीसँग पाल्पाको आवात–जावत बन्द छ । स्याङ्जाबाट पाल्पा प्रवेश गर्ने राम्दीनजिकै राजमार्ग माथिबाट आएको लेदोसहितको पहिरोले बाटो बन्द छ । त्यस्तै, राजमार्गकै अगाँहाखोला र पिपलडाँडाको बीचमा पर्ने सीता पहाडमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । राम्दी क्षेत्र पनि पहिरोका कारण अवरुद्ध छ । तानसेन–तम्घास सडक पनि ठाउँ–ठाउँमा बन्द छ । रिब्दीकोट गाउँपालिकाको खस्यौली मालमुलमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा घरमा क्षति पुगेको छ । त्यस्तै, पार्किङ गरी राखेको दुई मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । तानसेन–रिडी सडक खण्डको मालमुल, अर्गली, लघुवा, जोर्तेलगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, तानसेनबाट अर्घाखाँची जाने सडकसमेत अवरुद्ध छ । सो बाटोमा पनि पहिरो खसेको छ । आर्यभन्ज्याङ–रामपुर सडकको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत सहदीखोलालगायत स्थानमासमेत पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । पाल्पाबाट गुल्मी, स्याङ्जा, पर्वत जाने सवारी बीचबाटोमै छन् । वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । 

रानीमहल पनि जोखिममा
कालीगण्डकी नदीमा आएको बाढीका कारण रानीमहलसमेत जोखिममा छ । रानीमहल क्षेत्रका १५ टहरा डुबेका छन् । रानीमहल क्षेत्रका टहरामा नबस्न प्रहरीले अनुरोध गरेको छ ।

सल्यान : लेदोसहितको पहिरोले राप्ती राजमार्ग अवरुद्ध
दाङ–सल्यान खण्डको कपुरकोट गाउँपालिका– ३, चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पानी नरोकिँदा लेदो पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्स्पेक्टर भवानीप्रसाद धमलाले बताए । 

कालीकोट : पहिरोले छेकियो कर्णाली राजमार्गको कालीकोट खण्ड 
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्गको कालीकोट खण्ड अवरुद्ध भएको छ । दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खसेको हो । सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवातजावत गर्ने सवारीसाधान रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गगनेखोलामा ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । 

मकवानपुर : हेटौँडा–काठमाडौं जोड्ने सडक : कतै अवरुद्ध, कतै सञ्चालन
पहिरोले हेटौँडा–काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएका छन् । इन्द्रसरोबर गाउँपालिका– ५ महालक्ष्मी खोलानजिक पहिरो जाँदा हेटौँडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध भएको छ । त्यस्तै, भीमफेदी गाउँपालिका– ४, चिउरी बगैँचामा पहिरो जाँदा सडक बन्द भएको छ । त्यसअघि सही वडाको रातोमाटेमा गएको पहिरो पन्छाएर बाटो खुला गरिएको थियो । प्रहरीका अनुसार भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिका क्षेत्रमा गएको पहिरोका कारण कान्ति लोकपथ पनि अवरुद्ध भएको छ । कान्ती लोकपथको प्रतापडाँडामा पहिरो खसेको छ । 

इन्द्रसरोवर– २, छेपारेमा खसेको पहिरोले अवरुद्ध सिस्नेनी–दक्षिणकाली सडक भने खोलिएको छ । त्यस्तै, दामन–पालुङ–काठमाडौं जाने र चित्लाङ–चन्द्रागिरी–काठमाडौं सडक भने कतै पनि अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ । 

हेटौँडा उपमहानगरपालिका– १, चौकीटोल र वडा नम्बर ५, शान्तिनगर क्षेत्र डुबानमा परेका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले शान्तिनगरका २५–३० घर डुबानमा परेको बताए । त्यस्तै, चौकीटोलको तरकारी मन्डी डुबानमा परेको छ । प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको र डुबानको जोखिममा रहेकालाई सचेत रहन आग्रह गरिएको उनले बताए । 

धनगढी : पहिरोले सुदूरपश्चिमका ठाउँ–ठाउँमा सडक अवरुद्ध
बझाङको जयपृथ्वी नगरपालिका– ७, मालाभीरमा गएको पहिरोले बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । केहीबेर पहिरो पन्छाएर सडक सञ्चालन गरिएपछि पुनः सोही ठाउँमा पहिरो खसेको छ । राजमार्गअन्तर्गत सुनर्या– ९, आलुगैरा भन्ने ठाउँमा पनि साँझपख पहिरो गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी दिल्लीराज विष्टले जानकारी दिए । त्यस्तै, बाजुराको बुढीगंगा नगरपालिका– १, बलदेवमा गएको पहिरोले अछामको साँफेदेखि बाजुराको मार्तडी जोड्ने सडक अवरुद्ध छ । बढीमालिका नगरपालिका– ७, जिल्लीमा पहिरो खस्दा मार्तडी–कोल्टी सडक त एक सातादेखि नै बन्द छ । 

उता, डोटीको दिपायलदेखि मौवा जोड्ने ग्रामीण सडक पहिरोका कारण रोकिएको छ । आदर्श गाउँपालिका–१ र २ वडा जोड्ने सीमानामा पहिरो गएको विष्टले जानकारी दिए । सुदूरपश्चिममा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ ।

दोलखामा बाढीले तीन घर बगायो, एक महिला बेपत्ता 
लामाबगरस्थित रोल्वालिङ खोलामा आएको बाढीले गौरीशंकर गाउँपालिका– ९, दोङगाङ वस्तीका तीन घर बगाएको छ । सोही ठाउँमा होटेल व्यवसाय सञ्चालन गर्दै आएकी ६० वर्षीया जाङ्मु शेर्पालाई बाढीले बेपत्ता पारेको छ । वेपत्ताको खोजीमा स्थानीयसहित प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय सिंगटीका इन्स्पेक्टर विक्रम लामाले बताए ।

पाल्पामा नारायण न्यौपाने, काभ्रेमा इन्द्रबहादुर थापा, तनहुँमा उपेन्द्र खनाल, कास्कीमा रोहितराज पराजुली, बागलुङमा नारायण रिजाल, दाङमा दीपक शर्मा, नवलपरासीमा रामकुमार श्रेष्ठ, कालीकोटमा रमेश सुनार, मकवानपुरमा पोष्टराज अधिकारी, धनगढीमा तेजराज भट्ट, दोलखामा श्याम खतिवडा र काठमाडौंमा टेकराज थामी