Skip This
कांग्रेस सभापति देउवा​​​​​​​ दलहरूसँग छलफलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २२ शनिबार o६:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस सभापति देउवा​​​​​​​ दलहरूसँग छलफलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o६:४o:oo

पहिला एमालेलाई सरकारको नेतृत्व दिने सत्तासहकार्यमा हात बढाएका कांग्रेस सभापति शेरबहादुर देउवाले दलहरूसँग संवाद बढाएका छन् । देउवाले साना दललाई सहमतिबारे जानकारी दिँदै नयाँ गठबन्धनमा सहकार्यका लागि आग्रह गरेका छन् । 

देउवाले आवश्यकताअनुसार दलका नेताहरूसँग संवाद गरिरहेका छन् । पार्टीका आन्तरिक बैठकमा पनि देउवाले पछिल्लो सहमतिबारे जानकारी दिँदै त्यसको अनुमोदन गराएका छन् । यद्यपि, कांग्रेस र एमालेबीच भएको भनिएको सातबुँदे सहमतिको मूल कपी सार्वजनिक गरिएको छैन । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत सभापति देउवा सबै दलहरूसँग संवादमा रहेको बताउँछन् । ‘सभापतिज्यू सबै दलहरूसँग संवादमा सक्रिय हुनुहुन्छ । प्रतिपक्षमा रहँदा सहकार्य गरेका दलहरूसँग छलफल गरिसक्नुभएको छ । सहकार्य गर्न तयार दलहरूसँग पनि उहाँले छलफल गर्नुभएको छ,’ उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके राउतजीले पनि सहकार्यका लागि तयार रहेको भन्दै भेट गर्नुभएको छ । माधव नेपालसँग उहाँहरूको महाधिवेशन भएकाले टेलिफोन सम्पर्क मात्रै भएको छ ।’

कांग्रेस र एमालेबीच पहिला एमाले अध्यक्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने सहमति छ । सोमबार मध्यरातको सहमतिबारे सभापति देउवाले मंगलबार नै विगतमा प्रतिपक्षमा रहेका दलका नेतृत्वलाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर ब्रिफिङ गरेका थिए । मंगलबार देउवाले राप्रपा, लोसपा र जसपा नेपालको नेतृत्वसँग छलफल गरेका थिए । सहकार्यका लागि तयार रहेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग समेत भेटेर छलफल गरेका छन् । देउवाले मंगलबार नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि टेलिफोन संवाद गरेका थिए । 

देउवासँगको छलफलपछि लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई सघाउने निर्णयसमेत लिएको छ । बुधबार (१९ असार)मा लोसपा पदाधिकारी बैठकमा यसबारे छलफल भएको हो । बैठकमा अध्यक्ष ठाकुरले मंगलबार कांग्रेस सभापति देउवासँगको छलफलको विषयमा ब्रिफिङ गरेका थिए । ठाकुरले आवश्यकता हेरेर संविधान संशोधनको विषयमा गठबन्धन तयार रहेकाले समर्थनका विषयमा पार्टीमा छलफल गरेको बताए । ‘देउवाजीसँगको छलफलबारे पार्टी बैठकमा जानकारी गराइएको छ । उहाँहरू (कांग्रेस–एमाले) आवश्यकताअनुसार संविधान संशोधन गरेर जाने पक्षमा हुनुहुन्छ । हामी त्यसका लागि सकारात्मक छौँ । सरकार बनिसकेको अवस्था छैन । आवश्यकताअनुसार पार्टीमा छलफल र निर्णय गरेर जानेछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पनि देउवाले सहमतिबारे जानकारी गराएको र मंगलबार नै छलफलका लागि बोलाएको, तर आफू बागलुङमा रहेकाले सहभागी हुन नसकेको बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देउवासँग सकारात्मक छलफल र थप छलफल गरेर सहकार्य गरेर जाने बताए ।