१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
रोपाइँ गर्दै भक्तपुरका किसान । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
अजित अधिकारी काठमाडाैं
२o८१ असार १५ शनिबार o८:o३:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

खान पुग्ने धान कहिले होला उत्पादन ?

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o८:o३:oo

मुलुकमा उत्पादित धानले माग धान्न नसक्दा बर्सेनि आयातमा निर्भर हुनुपर्ने बाध्यता हट्न सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष ०८०/८१ मा देशभर बर्खे र चैते धान ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन उत्पादन भएको छ । हार्भेस्टिङका कारण उत्पादित धानको ६० प्रतिशत मात्रै चामल बन्ने गरेको छ । स्वदेशी चामलले माग धान्न नसकेका कारण चालू आवको वैशाख मसान्तसम्म १९ अर्ब ३८ करोड रुपैयाँको चामल भारतबाट आयात भइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

मुलुकको प्रमुख कृषि बालीमा निरन्तर परनिर्भर भइरहनु सुखद नभएको पूर्वकृषिसचिव डा. योगेन्द्रकुमार कार्की बताउँछन् । ‘हामीलाई पुग्ने धान फलाउन सकिन्छ, तर उचित ध्यान दिन नसक्दा आयातमै भर परिरहेका छौँ,’ उनले भने । सरकारले धान उत्पादन वृद्धिका लागि ठोस पहल गर्न नसकेको पछिल्लो पाँच वर्षमा उत्पादनमा भएको घटबढको स्थितिले देखाउँछ । 

पाँच वर्षयता निरन्तर उत्पादनमा सुधार हुनुको सट्टा मनसुन र बेमौसमी बर्सातले पारेको प्रभाव, रायासनिक मल र उन्नत जातको बिउको उपलब्धतालगायत कारण उत्पादन एकनास हुन सकेको छैन । आव ०७६/७७ मा ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो । त्यसपछि आव ०७७/७८ मा ५६ लाख २१ हजार टन उत्पादन भई केही सुधार भए पनि आव ०७८/७९ मा ठूलो अन्तरले ह्रास आएको थियो । सो वर्ष कात्तिकमा बेमौसमी बर्सात भई किसानको खेतमा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेकाले उत्पादनमा असर पुगेको मन्त्रालयले जनाएको छ ।

आव ०७८/७९ मा ५१ लाख ३० हजार टन मात्रै उत्पादन भएको थियो । त्यसपछि आव ०७९/८० मा ठूलो अन्तरले उत्पादनमा सुधार हुने अपेक्षाविपरीत ५४ लाख ४७ हजार टन मात्रै उत्पादन भएको थियो । चालू आव ०८०/८१ मा भने ५७ लाख २४ हजार टन धान उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । यो वर्षको उत्पादनमा सुधार भए पनि राष्ट्रिय आवश्यकताको तुलनामा न्यून उत्पादन हो ।

कृषि मन्त्रालयका अनुसार हाल वार्षिक ७८ लाख मेट्रिकटन धान उत्पादन हुन सक्दा मात्रै आत्मनिर्भर हुन सक्ने स्थिति छ । तर, राष्ट्रिय मागको तुलनामा करिब २० लाख टन कम उत्पादन भएको र माग धान्न चामल आयात बाध्यकारी बनेको पूर्वकृषिसचिव डा. कार्की बताउँछन् । ‘हामीले चैते धानमा अलि बढी फोकस गर्न सक्यौँ भने उत्पादनमा सुधार गर्न सकिन्छ,’ उनले भने ।

भारत र चीनमा प्रतिहेक्टर ६ मेट्रिकटनको औसतमा धान उत्पादन भइरहँदा नेपालमा भने ३.९८ टन प्रतिहेक्टर उत्पादकत्व छ । ‘हामीले ४.५ टन प्रतिहेक्टरका दरले उत्पादनमा सुधार गर्नुपर्छ । त्यसपछि खान पुग्ने फल्न थाल्छ,’ उनले भने । मल, बिउ, सिँचाइ र उचित मूल्यमा धान बिक्रीको वातावरण सिर्जना गर्न सके उत्पादकत्व वृद्धि हुने उनको भनाइ छ ।

कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले उत्पादन वृद्धिका लागि निरन्तर प्रयास भइरहेको दाबी गरे । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, जोन र सुपर जोन बनाएर उत्पादन वृद्धिको पहल भइरहेको छ,’ उनले भने । त्यस्तै सिँचाइको पूर्वाधार वृद्धि भइरहेको, मल र बिउको उपलब्धता बढाइएको उनको भनाइ छ । उनले परियोजनामार्पmत यान्त्रीकरणको प्रयोगसमेत बढाइएको दाबी गरे ।

धानसहित समग्र कृषि उत्पादन सुधारका लागि आठ वर्षअघिबाट सञ्चालनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत ठोस योगदान गर्न सकेको छैन । परियोजनाका निमित्त प्रमुख हिक्मतकुमार श्रेष्ठले कुल धान उत्पादनमा ५ प्रतिशत र क्षेत्रफल वृद्धिमा ४ प्रतिशत योगदान परियोजनाबाट भएको बताए । त्यस्तै, परियोजनाअन्तर्गत सञ्चालित पकेट, जोन र सुपर जोनमा धानको उत्पादकत्व ४.५ टनसम्म भएको उनको दाबी छ । 

मसिनो धानको उत्पादन वृद्धि परियोजना आउँदै
कृषि विभागका उपमहानिर्देशक डा. अरुण काफ्लेले मसिनो र वासनादार चामलको मागअनुसार धान उत्पादन गर्न आगामी आर्थिक वर्ष ०८१/८२ देखि स्थानीय तहमार्फत दुईवटा परियोजना सञ्चालन गर्न लागेको बताए । ‘हामीकहाँ मसिनो र बासनादार चामलको माग छ, तर उत्पादनचाहिँ मोटा धानको भइरहेको छ । यसले गर्दा आयात बढेको हो,’ उनले भने, ‘त्यसैले आवदेखि मसिनो र बासनादार धान उत्पादन वृद्धिका लागि दुईवटा नयाँ कार्यक्रमसमेत स्थानीय तहमार्फत सञ्चालन हुन लागेको छ । यसबाट आयात प्रतिस्थापन गर्न केही सहज हुने अपेक्षा छ ।’

चाहिनेभन्दा बढी भात खाने बानीले चामल आयात भइरहेको छ : डा. अरुण काफ्ले, उपमहानिर्देशक, कृषि विभाग
चालू आवमा ५७ लाख २४ हजार टन धान उत्पादन भएको छ । यसको ६० प्रतिशत मात्रै चामल बन्छ । ४० प्रतिशत हार्भेस्टिङका क्रममा भुस, कनिकालगायतमा जान्छ । एक व्यक्तिलाई एक वर्षमा एक सय २१ किलो चामल आवश्यक पर्छ । तर, हामीले एक सय ३७ किलो चामल उपभोग गरिरहेका छौँ । यसले गर्दा अपुग भएको हो, तर अन्तर्राष्ट्रिय अभ्यासअनुसार उपभोग गर्ने हो भने खान पुग्छ ।

अर्को समस्या भनेको माग मसिनो र बासनादार धानको छ, तर उत्पादनचाहिँ मोटा धानको भइरहेको छ । यसले गर्दा आयात बढेको हो । आगामी आर्थिक वर्ष ०८१/८२ देखि मसिनो र बासनादार धान उत्पादन वृद्धिका लागि दुईवटा नयाँ कार्यक्रमसमेत स्थानीय तहमार्फत सञ्चालन हुन लागेको छ । यसबाट आयात प्रतिस्थापन गर्न केही सहज हुने अपेक्षा छ ।

मल, बिउ, सिँचाइको पर्याप्तता हुन सकेको छैन : डा. योगेन्द्रकुमार कार्की, पूर्वकृषिसचिव
सबै नेपालीलाई खान पुग्ने धान स्वदेशमै फलाउन सकिन्छ । यसका लागि जमिनको उपलब्धता र मिहिनेती कृषक पनि छन् । तर, धेरै उत्पादकत्व भएको उन्नत जातको बिउ किसानसमक्ष पुर्‍याउन सकिएको छैन । वर्षैभर सिँचाइ हुने पूर्वाधार बनाउन सकिएको छैन । रासायनिक मलको उपलब्धता र कृषि बिमाको प्रभावकारी कार्यान्वयन भएको छैन ।

किसानको समयानुकूल लागतमा थोरै नाफा जोडेर धान बिक्री हुने वातावरणसमेत बनेको छैन । यी सबै कुरामा सुधार हुने हो भने उत्पादनमा ठूलो सुधार आउँछ । सरकारका सबै संयन्त्र मिलेर चैते धान उत्पादन वृद्धिको पनि पहल गर्नुपर्छ ।

धान दिवस मनाउन प्रधानमन्त्री र कृषिमन्त्री पुगे चितवन
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह शुक्रबार चितवन पुगेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनले रत्ननगर नगरपालिका–६, बछौलीमा रहेको बछुली बहुउद्देश्यीय कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोप्ने कार्यक्रम राखिएको छ । त्यहाँ प्रधानमन्त्री प्रचण्ड र कृषिमन्त्री साहले शनिबार बिहान धान रोप्ने कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोप्ने कार्यक्रम राखिएको परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । सो कार्यक्रममा एक हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोप्ने लक्ष्य राखिएको छ ।

ad
ad
ad
ad