१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Saturday, 28 September, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ असार ६ बिहीबार o६:२२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भोलिदेखि उपत्यकामा आउँदैन मेलम्चीको पानी

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार o६:२२:oo

रत्न लामिछाने, कार्यकारी निर्देशक, मेलम्ची खानेपानी विकास समिति : वर्षाका कारण मेलम्ची नदीमा पानी धमिलिँदै गएको छ । शुक्रबारदेखि पानी बन्द गर्ने योजना छ । घाम लागेर पानीको सतह सफा हुँदै गयो भने एक–दुई दिन पर सर्न पनि सक्छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी नआउने भएको छ । बर्खामा मेलम्ची नदी बढेर पुनः क्षति निम्त्याउन सक्ने जोखिम टार्न मेलम्ची खानेपानी विकास समितिले काठमाडौं ल्याउने पानी बन्द गर्ने नीति लिएको हो ।

०७८ असारमा मेलम्ची नदीमा आएको बाढीले खानेपानी आयोजनाको हेडवक्र्सलगायत संरचना बगाएपछि पुनः पानी ल्याउन ठूलो कष्ट झेल्नुपरेको थियो । त्यस्तो, क्षति दोहोरिन नदिन मेलम्ची नदीको पानी धमिलिन थालेसँगै उपत्यका ल्याउने पानी बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बुधबार बिहान परेको पानीले मेलम्ची नदीको पानी धमिलिन थालेकाले बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । 

‘बुधबार बिहान ४ बजेदेखि नै वर्षा भएका कारण मेलम्ची नदीमा पानी धमिलिँदै गएको छ । त्यसैले शुक्रबारदेखि पानी बन्द गर्ने योजना छ,’ लामिछानेले भने, ‘भोलिदेखि घाम लागेर पानीको सतह सफा हुँदै गयो भने एक–दुई दिन पर सर्न पनि सक्छ ।’ उनका अनुसार आयोजनाको हेडवक्र्स जाने बाटोसमेत बाढीले बगाइसकेकाले छिट्टै पानी बन्द गरिनेछ । यसअघि, जेठमै पानी बन्द गर्ने निर्णय भए पनि भारी वर्षा नभएको र मेलम्ची नदीमा पानीको धमिलोपना नबढेकाले हालसम्म उपत्यकाका धारामा पानी आइरहेको छ । गत वर्ष पनि बर्खा लागेसँगै असारमै मेलम्चीको पानी बन्द गरिएको थियो । हिउँदमा १ माघपछि मात्रै उपत्यकावासीको धारामा पानी आउन थालेको थियो । 

आयोजना सुरु भएको २२ वर्षपछि १५ चैत ०७७ बाट मेलम्चीको पानी उपत्यकाका धारामा वितरण थालिएको थियो । तर, १ असार र १५ साउन ०७८ मा मेलम्चीमा आएको बाढीले हेडवक्र्स र सुरुङमा क्षति पुर्‍याएको थियो । त्यस्तै, २७ र २८ साउन ०७९ मा आएको बाढीले आयोजनाको हेडवक्र्स बगाएपछि अस्थायी रूपमा समेत पानी ल्याउन सकस भएको थियो । उक्त संरचना पुनर्निर्माण गरेर २२ जेठ ०८० मा पानी पुनः काठमाडौं झारिएको थियो । 

धाप ड्यामबाट चार करोड लिटर पानी ल्याइने 
मेलम्चीको दैनिक १७ करोड लिटर पानी रोकिने भएसँगै उपत्यकामा पानीको अभाव देखिने भएको छ । लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । 

उपभोक्तालाई खानेपानी अभाव भइरहेको वेलामा अवस्था हेरेर मात्र बन्द गर्नु उपयुक्त रहेको उनले बताए । हाल उपत्यकामा करिब ४० करोड लिटर पानीको माग छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले विभिन्न माध्यमबाट करिब १२ देखि १३ करोड लिटर पानी संकलन गरेर वितरण गरिरहेको छ । मेलम्चीबाट आएको १७ करोड लिटर पानी रोकिनेबित्तिकै उपत्यकावासीले अरू विकल्प खोज्नुपर्ने हुन्छ । 

उपत्यकामा देखिएको पानीको मागलाई केही हदसम्म समाधान गर्नका लागि धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याइने भएको छ । सुन्दरीजलबाट १८ किलोमिटर पर रहेको धाप ड्याम बाह्रैमास बागमतीमा पानी बगाउन तयार पारिएको छ । कार्यकारी निर्देशक लामिछानेका अनुसार यो वर्ष मेलम्चीको पानी रोकिनेबित्तिकै धाम ड्यामको पानी उपत्यकावासीलाई वितरण गरिनेछ ।