१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ असार ३ सोमबार o८:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियाडका पदक विजेताले पाए पुरस्कार

गत असोजमा चीनमा भएको १९औँ एसियाडका पदक विजेता खेलाडीलाई सरकारले नौ महिनापछि नगद पुरस्कार दिएको छ

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o८:o३:oo

चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा पदक विजेता खेलाडीले नौ महिनापछि सरकारबाट घोषित पुरस्कार पाएका छन् । गत वर्ष असोजमा भएको १९औँ एसियाडमा कराँतेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आइतबार पदबहाली भएको सय दिनका अवसरमा एसियाडका पदक विजेता खेलाडीलाई सरकारका तर्फबाट पुरस्कार प्रदान गरेका हुन् । पारा तेक्वान्दो र क्रिकेट खेलाडीको पुरानो बक्यौता पुरस्कार पनि प्रदान गरिएको छ । 

खेलाडीको रकम आइतबार बिहान बैंक खातामा पुगेको छ । मन्त्री श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले संयुक्त रूपमा खेलाडीलाई नगदसहित पुरस्कृत गरेका थिए । आइसिसी टी–२० विश्वकप क्रिकेट खेलिरहेका खेलाडी कार्यक्रममा उपस्थित भएनन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले खेलाडीका तर्फबाट पुरस्कार थापेका थिए । 

एसियाडमा पहिलोपटक कराँतेमा रजत दिलाएकी एरिकाले १९ लाख ५० हजार रुपैयाँ पाएकी छिन् । उनका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार र सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई जनही ७८ हजार रुपैयाँ दिइएको छ । कराँतेका टोली व्यवस्थापक निवासगोपाल वैद्यलाई १ लाख ९५ हजार रुपैयाँ पुरस्कार दिइएको छ । समग्रमा कराँतेले २५ लाख ३५ हजार रुपैयाँ पाएको छ । एरिका एसियाडमा नेपाललाई रजत दिलाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

कबड्डीका खेलाडीलाई जनही ३ लाख ९० हजार
१९औँ एसियाडमा ऐतिहासिक कांस्य पदक विजेता महिला कबड्डीका १२ खेलाडीले जनही ३ लाख ९० हजार पाएका छन् । खेलाडीमा मेनुकाकुमारी राजवंशी, मानमती विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जनाकुमारी थारू, कलावती पन्त छन् । यसैगरी प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गरे । कबड्डीले समग्रमा १६ लाख ९० हजार पाएको छ । 

क्रिकेटले पायो दुई करोड चार लाख पुरस्कार
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एकैपटक दुई करोड चार लाख ७५ हजार पुरस्कार पाएको छ । गत फागुनमा संयुक्त अरब इमिरेट्स (युएई)लाई कीर्तिपुर मैदानमा आठ विकेटले हराउँदै नेपालले दश वर्षपछि आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको थियो । क्रिकेटका १५ खेलाडीले जनही १३ लाख पुरस्कार हात पारेका हुन् । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अभिनाश बोहरा, कुशल मल्ल, विवेककुमार यादव, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, करण केसी, सन्दीप लामिछाने, सन्दीप जोरा, प्रतिश जिसी, ललितनारायण राजवंशी र विनोद भण्डारी छन् । प्रशिक्षक मोन्टी देसाईले तीन लाख ९० हजार तथा सहायक प्रशिक्षक वसन्त शाही, फिजियो विक्रम न्यौपाने र टिम व्यवस्थापक सुमनराज कार्कीले समान एक लाख ९५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

पलेसालाई १३ लाख
चौथो पारा तेक्वान्दोमा पदक जितेकी पलेसा गोवद्र्धनले १३ लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । उनका प्रशिक्षक कविराज नेगीले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार प्राप्त गरे । पाराले समग्रमा १६ लाख ९० हजार पाएको छ । 

पुरस्कार घोषणा गर्ने, तर नदिने परिपाटी छ
विराजभक्त श्रेष्ठ, मन्त्री, युवा तथा खेलकुद

खेलकुदमा पुरस्कार घोषणा गर्ने मात्रै परिपाटी बसेको छ । कसले कहिले पुरस्कार घोषणा गरेको थाहा नहुने स्थिति थियो । यो मिलाउनै तीन महिना लाग्यो । हामीले नीतिगत सुधार गरेका छौँ । अब, खेलाडीलाई पुरस्कार दिन धेरै झन्झट नहोला । 
 पुरस्कार दिन ढिला भयो
टंकलाल घिसिङ, सदस्यसचिव, राखेप

खेलाडीलाई पुरस्कार दिन ढिला भएकै हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले पदक जितेपछि राखेपको कार्यकारी समितिको बैठकबाट पारित गरेर मन्त्रालयमा सिफारिस गरिएको थियो । यसमा केही ढिलो भयो । मन्त्रीज्यूसँग कुरा भएपछि प्रक्रिया अगाडि बढ्यो । 
पहिलोपटक यतिधेरै पुरस्कार पायौँ
पारस खड्का, सचिव, क्यान

पुरस्कारको विषयमा धेरै प्रश्न उठेका थिए । ढिलै भए पनि पुरस्कार आएको छ । इतिहासमा पहिलोपटक यति धेरै पुरस्कार रकम क्रिकेटले पाएको छ । यसले अझै मिहिनेत गर्नुपर्छ भन्ने सन्देश दिएको छ । अहिलेको पुस्तालाई मात्रै होइन, नयाँ पुस्तालाई पनि क्रिकेट खेलेर केही हुन्छ भन्ने सन्देश गएको छ । 

ad
ad
ad
ad