१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार o७:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तीन महिना बित्दा पनि आएन कांग्रेस महासमिति बैठकको ‘ठोस’ निर्णय

पार्टी नेतृत्व केन्द्रीय समिति बैठक राख्न उदासीन देखिएपछि महासमितिको निर्णय अनुमोदनमा ढिलाइ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o७:५१:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले महासमिति बैठकको तीन महिना बित्दासम्म पनि आधिकारिक निर्णय सार्वजनिक गर्न सकेको छैन । कांग्रेसको नीति तय गर्ने गरी गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न बैठकको ठोस निर्णय अझै सार्वजनिक हुन नसकेको हो । 

तत्कालीन समयमा सरकारमा रहेको कांग्रेसमा गठबन्धनको विषय पेचिलो बनेपछि बैठकमा आएका सुझाव समेटेर केन्द्रीय समिति बैठकबाट निर्णय लिने गरी बैठक समापन गरेको थियो । महासमिति बैठकमा गठबन्धन नगर्ने निर्णय तत्काल लिनुपर्ने र रणनीतिक हुनुपर्ने दुईथरी मत आएका थिए । तत्काल विवाद साम्य बनाउन कांग्रेसले केन्द्रीय समितिबाट निर्णय लिने मध्यमार्गी बाटोबाट बैठक समापन गरेको थियो । तर, तत्कालीन समयमा सत्तामा रहेको कांग्रेसले प्रतिपक्षमा पुग्दा पनि आफ्नो नीति स्पष्ट पार्न सकेको छैन ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समिति बैठकमा छलफल हुन नसक्दा निर्णय सार्वजनिक गर्न ढिलाइ भएको बताए । अब बस्ने केन्द्रीय समिति बैठकले यो विषय टुंगो लगाउने उनको दाबी छ । ‘पछिल्लो समय विकसित घटनाक्रमका कारण केन्द्रीय समिति बैठक बस्न सकेको छैन । अब बस्ने बैठकमा घनीभूत छलफल गरेर निर्णयमा पुग्नेछौँ । छिट्टै बैठक बसेर सबै विषयमा समीक्षा हुनेछ । महासमितिको निर्णयसहित सबै विषयमा गम्भीर छलफल गरेर कांग्रेसको आगामी रणनीति तय गर्नेछौँ,’ उनले भने । 

७ देखि १० फागुनसम्म गोदावरीमा बसेको बैठकले महासमिति बैठकमा विशेष रूपमा गठबन्धनको विषयमा तत्काल निर्णय लिनुपर्ने र रणनीतिक हुनुपर्ने धारणा आएका थिए । कांग्रेसले बैठकमा पेस भएका प्रस्तावमा सहभागीबाट आएका सुझाव समेटेर केन्द्रीय समितिबाट निर्णयमा पुग्ने मध्यमार्गी बाटो लिएको थियो । बैठकमा महामन्त्री गगन थापाले आगामी निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्ने र गठबन्धन नगर्ने प्रस्ताव ल्याएका थिए । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन रणनीतिक विषय भएकाले यसबारे अहिले निर्णय गर्न आवश्यक नरहेको प्रस्ताव पेस गरेका थिए । उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा भने गठबन्धनको विषय मौन थियो । गठबन्धनको विषय महासमिति बैठकमा पेचिलो बनेको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेता गठबन्धनबारे अहिले नै निर्णय लिन आवश्यक नभएको भन्ने पक्षमा थिए । ‘प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीनवटै प्रस्ताव महासमितिको बैठक सर्वसम्मतिले पारित गर्दछ,’ बैठकको निर्णयमा भनिएको थियो । 

महासमिति बैठकले तत्कालीन माओवादी–कांग्रेस गठबन्धनलाई निरन्तरता दिने निर्णय लिएको थियो । तर, बैठकलगत्तै गत २१ फागुनमा कांग्रेस–माओवादी गठबन्धन टुटेको थियो । सत्ता समीकरणमा फेरबदलसँगै कांग्रेस सत्ताबाट प्रमुख प्रतिपक्षीको हैसियतमा आइपुगेको छ । गठबन्धन टुटेपछि १५ वैशाखमा भएको उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा विगतको तुलनामा मत गुमाउन पुग्यो भने बझाङ प्रदेश सभा (१) मा यसअघिको सिटसमेत गुमायो । कांग्रेसले सरकारबाट बाहिरिएपछिको अवस्थामा पनि यसबारे समीक्षा गरेको छैन । महासमितिपछि बसेका केन्द्रीय समिति बैठकमा यो एजेन्डा र छलफलको विषय बन्न सकेको छैन । 

केन्द्रीय सदस्यहरूले कांग्रेसको नीतिबारे निर्णय लिने महत्वपूर्ण विषयमा छलफलका लागि केन्द्रीय समिति केन्द्रित हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । असन्तुष्ट केन्द्रीय सदस्यहरूले पार्टीले नीति स्पष्ट गरेर जानुपर्ने भन्दै दबाब बढाएका छन् । केन्द्रीय सदस्य सञ्जय गौतमले निर्णयमा ढिलाइले कांग्रेसको नीति स्पष्ट हुन नसकेको र  अलमलमा देखिएको बताए । नेतृत्वलाई निरन्तर दबाब दिए पनि केन्द्रीय समिति बोलाएर निर्णयमा पुग्न नेतृत्व गम्भीर नदेखिएको उनको आरोप छ ।

‘निर्णयमा ढिलाइले कांग्रेस अलमलमा देखिएको छ, हामीले पटकपटक सभापति, उपसभापतिहरू र महामन्त्रीहरूलाई भनेका हौँ । केन्द्रीय समिति बैठक नै बस्न नसक्दा यसबारे गम्भीर रूपमा छलफल गरेर निष्कर्षमा पुग्न सकिएको छैन । असारको पहिलो साता बैठक राख्ने अनौपचारिक जानकारी पाएका छौँ । अबको बैठकमा यसबारे गम्भीर छलफल हुन्छ,’ उनले भने ।

केन्द्रीय सदस्य नागिना यादवले प्रतिपक्षमा पुगेपछि संसद्मा व्यस्तता र बजेट अधिवेशनलगायतका कारण केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको बताइन् । बजेट अधिवेशनलगत्तै बस्ने केन्द्रीय समिति बैठकले यो विषय टुंगोमा पु¥याउने उनको दाबी छ । ‘महासमिति बैठकको निर्णय अनुमोदन गर्न केही ढिलाइ भएको छ । महासमितिलगत्तै हाम्रो भूमिका प्रतिपक्षको भयो । पछिल्लो समय सहकारी प्रकरणले गर्दा हामी सदन र सडकमा केन्द्रित भयौँ । अधिकांश केन्द्रीय सदस्य सदनमा पनि भएकाले बैठक राख्न सम्भव नभएको हो । बजेट अधिवेशनलगत्तै केन्द्रीय समिति बैठक बस्ने तयारी छ । बैठकमा गम्भीर रूपमा छलफल हुनेछ र महासमितिको निर्णयलाई अनुमोदन गर्नेछौँ,’ उनले भनिन् । 

अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही पनि तत्काल केन्द्रीय समिति बैठक बोलाएर महासमिति बैठकको ठोस निर्णय सार्वजनिक गर्नुपर्ने बताउँछन् । केन्द्रीय सदस्य नैनसिंह महरले लिखित रूपमै तत्काल केन्द्रीय समिति बोलाएर महासमिति बैठकको निर्णय स्पष्ट गर्न माग गरेका छन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राजनीतिक उतारचढावले केन्द्रीय समिति बैठक बसेर निर्णय सार्वजनिक गर्न ढिलाइ भएको बताए । ‘पछिल्लो समय संसद्को अलमल र राष्ट्रिय राजनीतिले पनि केन्द्रीय समितिमा छलफलको वातावरण बन्न सकेन,’ उनले भने, ‘सबै रूपमा ढिलाइ भएकै हो । अब कांग्रेसलाई अलमलिएर बस्ने छुट छैन । अब बस्ने बैठकमा गम्भीर छलफल हुन्छ ।’

डा. प्रकाशशरण महत
प्रवक्ता, कांग्रेस

पछिल्लो समय विकसित घटनाक्रमका कारण केन्द्रीय समिति बैठक बस्न सकेको छैन । अब बस्ने बैठकमा घनीभूत छलफल गरेर निर्णयमा पुग्नेछौँ । छिट्टै बैठक बसेर सबै विषयमा समीक्षा हुनेछ । महासमितिको निर्णयसहित सबै विषयमा गम्भीर छलफल गरेर कांग्रेसको आगामी रणनीति तय गर्नेछौँ ।

सञ्जय गौतम
केन्द्रीय सदस्य, कांग्रेस

निर्णयमा ढिलाइले कांग्रेस अलमलमा देखिएको छ, हामीले पटकपटक सभापति, उपसभापतिहरू र महामन्त्रीहरूलाई भनेका हौँ । केन्द्रीय समिति बैठक नै बस्न नसक्दा यसबारे गम्भीर रूपमा छलफल गरेर निष्कर्षमा पुग्न सकिएको छैन । असारको पहिलो साता बैठक राख्ने अनौपचारिक जानकारी पाएका छौँ । अबको बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।

ad
ad
ad
ad