१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
२o८१ असार २ आइतबार १o:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

इजरायली युद्धबारे विभाजित अमेरिकी समाज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १o:२९:oo

प्यु रिसर्च सेन्टरले गरेको सर्वेक्षणले ६५ वर्ष वा सोभन्दा माथिका अमेरिकीमध्ये ४७ प्रतिशतले इजरायलीप्रति सहानुभूति राख्ने देखाएको छ 

इजरायलले गाजामा आफ्नो नरसंहारको युद्ध जारी राख्दा अमेरिकी समाजमा विभाजन झन्–झन् स्पष्ट हुँदै गइरहेको छ । विश्वविद्यालयका विद्यार्थीले देशभरका विश्वविद्यालयमा राजनीतिक संस्थापनलाई चुनौती दिइरहेका छन् । एक पक्षले इजरायलप्रति अमेरिकी समर्थन र हतियार उद्योगमा लगानीबाट हुने मुनाफाको विरोध गरेको छ । अर्कोले इजरायली आक्रमणलाई समर्थन गर्दै विद्यार्थी आन्दोलनका क्याम्प तोड्न प्रहरी कारबाहीका लागि अनुरोध गरेको छ । 

यो दरारले अमेरिकी समाजमा बढ्दो अन्तरपुस्ताको तनावलाई मात्र होइन, गाजामा इजरायली : नरसंहारलाई सञ्चार माध्यमले कसरी समेटेका छन् भन्ने पनि देखाउँछ । अमेरिकामा इजरायल समर्थक अभियन्ताले कथित व्यापक यहुदीविरोधी गतिविधि र विश्वविद्यालयको विरोधमा भएका विघटनकारी हिंसामा सञ्चार माध्यमको ध्यान केन्द्रित गर्ने प्रयास गरेका छन् । यस रणनीतिका मूलतः दुई उद्देश्य छन्–प्यालेस्टाइनीमाथि भइरहेको इजरायली नरसंहार (अमेरिकी समर्थन पाएको) बारे छलफल गर्नबाट अन्यत्र ध्यान मोड्नु र प्यालेस्टिनी समर्थक आवाजलाई मौन पार्नु । विद्यार्थी आन्दोलनकारीमाथि लागेको आरोपको प्रमाण फितलो छ ।

यद्यपि, मूलधारका सञ्चार माध्यमले त्यसलाई धेरै प्रसारण समय र पहिलो पृष्ठमा स्थान दिएका छन् । परिणामस्वरूप गाजामा इजरायली युद्धको विरोध वा समर्थन गर्नेहरूले अब प्रायः विश्वविद्यालयको भूमिका, यहुदीविरोधी गतिविधिको फैलावट र राज्य र समाज दुवैलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने विषयमा बहस गरिरहेका छन् । तर, मूलधारका सञ्चार माध्यमले विश्वविद्यालयको विरोधलाई कसरी समेटेका छन् भन्ने विषय केवल समाचारको एउटा पक्ष मात्र हो । समाजजस्तै मिडिया पनि खण्डित र ध्रुवीकृत छ । वास्तवमा हामीले तीनथरिका सञ्चार माध्यमबारे चर्चा गर्नैपर्छ । पहिलो हो मूलधारको मिडिया, जसले निरन्तर रूपमा विज्ञापन र दर्शक गुमाउँछ र व्यापक रूपमा अमेरिकी र इजरायली सरकारका विचार प्रतिबिम्बित गर्छ । दोस्रो मूलधारका विचारलाई चुनौती दिने तर आर्थिक रूपमा सक्षम उग्र प्रगतिशील स्वतन्त्र मिडिया र तेस्रोमा सामाजिक सञ्जालको रंगीन संसार, जो ३० वर्षमुनिका युवा दर्शकमाथि हाबी छ ।

यी तीन फरक मिडिया खण्डको खपत कसरी उमेर समूह र वैचारिक भावनासँग जोडिएको छ भन्ने विषयलाई गाजामा जारी इजरायली युद्धले स्पष्ट पारेको छ । अर्को शब्दमा भन्नुपर्दा फरक–फरक मिडिया सेवामा अन्तरपुस्ताको फरक–फरक पक्ष छन् । वृद्धको तुलनामा युवा युद्धप्रति बढी आलोचनात्मक र प्यालेस्टिनीको समर्थनका साथ सर्वेक्षणले लगातार उमेर र फरक राजनीतिक विचारबीचको सम्बन्ध खुलासा गरेको छ । प्यु रिसर्चले गरेको सर्वेक्षणले ६५ वर्ष वा सोभन्दा माथिका अमेरिकीमध्ये ४७ प्रतिशतले इजरायलीप्रति सहानुभूति राख्ने सम्भावना बढी रहेको देखाएको छ भने प्यालेस्टिनीहरूसँग मात्र नौ प्रतिशतले सहानुभूति राख्ने सम्भावना छ । ३० वर्षमुनिका युवा अमेरिकीमध्ये एकतिहाइले प्यालेस्टिनीलाई समर्थन गर्छन् भने १४ प्रतिशतले इजरायललाई समर्थन गर्छन् । त्यस्तै, ३० वर्षमुनिका ६० प्रतिशत वयस्कले प्यालेस्टिनीहरूलाई सकारात्मक रूपमा हेर्छन् भने ४६ प्रतिशतले इजरायलीलाई सकारात्मक ढंगले हेर्छन् । वृद्ध अमेरिकीमा प्यालेस्टिनीभन्दा इजरायलीहरूलाई बढी सकारात्मक रूपमा हेर्ने प्रवृत्ति छ ।

उमेरले पनि मिडिया खपतको ढाँचा निर्धारण गरेको देखिन्छ । जे एल पाटर्नसद्वारा आयोजित एक सर्वेक्षणअनुसार ५९ प्रतिशत युवाले आफ्ना समाचार सोसल मिडियाबाट प्राप्त गर्छन् । जबकि ६५ वर्ष र सोभन्दा माथिका उही प्रतिशत मानिस मूलधारको टिभी र केवल च्यानलमा निर्भर छन् । मुख्यतया मूलधारका टिभी र केबल च्यानलबाट आफ्ना समाचार प्राप्त गर्ने मानिस ‘इजरायली युद्धको बढी समर्थक छन् । उनीहरूले इजरायलले युद्ध अपराध गरिरहेको छ भन्ने धारणा कम राख्छन् र सामान्यतया युद्धमा उनीहरूको कम चासो छ,’ पत्रकार रायन ग्रिमले प्रगतिशील आउटलेट द इन्टरसेप्टमा लेखेका छन् । तर, सामाजिक सञ्जाल, पोडकास्ट र युट्युबमा भर परेका अमेरिकीहरू ‘सामान्यतया प्यालेस्टिनीहरूको पक्षमा छन्, इजरायलले युद्ध अपराध र नरसंहार गरिरहेको छ भन्ने विश्वास गर्छन् । 

– अलजजिराका लागि 
रामी जी खोउरीको रिपोर्ट

ad
ad
ad
ad