१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
२o८१ असार २ आइतबार o९:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमसिसी परियोजनामा दोस्रो निर्माण ठेक्का

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o९:४७:oo

रातमाटे सबस्टेसन बनाउन भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग पाँच करोड १६ लाख डलरमा ठेक्का

नेपाल सरकारको लगानी र मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानमा बन्ने तीन सबस्टेसनमध्ये थप अर्काे एक सबस्टेसन निर्माणका लागि पनि ठेक्का सम्झौता भएको छ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटेमा बन्ने चार सय केभी सबस्टेसन बनाउन भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता भएको हो । 

एमसिएले गत २७ वैशाखमा नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम)मा बन्ने चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी लिङ्कसन इन्डिया प्रालिसँग तीन करोड ५३ लाख डलरमा ठेक्का सम्झौता गरेको थियो । एमसिसी परियोजना निर्माणका लागि भएको यो दोस्रो ठेक्का सम्झौता हो । सबस्टेसनतर्फ अब न्यु दमौली सबस्टेसनको ठेक्का सम्झौता हुन बाँकी छ । 

एमसिएले बुटवल, रातमाटे र दमौलीमा गरेर तीनवटा चार सय केभी क्षमताका सबस्टेसन बनाउँदै छ । बाँकी न्यु दमौली सबस्टेसनको निर्माणका लागि पनि छिट्टै ठेक्का सम्झौता गरिने एमसिए नेपालका कार्यकारी निर्देश खड्ग विष्टले जानकारी दिए । शुक्रबार काठमाडौंमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । पाँँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । कम्पनीले यस परियोजना बनाउन पाँच करोड १७ लाख ९६ हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेको थियोे, त्यसमा छुटसहित गरेर पाँच करोड १६ लाख डलरमा ठेक्का सम्झौता भएको हो । 

तीन वर्ष तीन महिना अवधि

ठेक्काको अवधि तीन वर्ष तीन महिना रहेको छ । आवश्यक प्राविधिक तयारी पूरा गरेर ठेक्काको अवधि सुरु हुनेछ । उक्त चार सय केभीको सबस्टेसन ग्यास इन्सुलेटेड स्विचगियर (जिआइएस) प्रविधिमा निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनहरूमध्ये एउटा हुनेछ । यसबाट तीन हजार दुई सय मेगावाटभन्दा बढी विद्युत् प्रवाह गर्न सकिनेछ । एमसिएले तीन सबस्टेसनलाई तीन लटमा विभाजन गरेर १० चैत ०७९ देखि २ कात्तिक ०८० सम्म टेन्डर आह्वान गरेको थियो ।  

रातमाटे सबस्टेसन टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङले सबैभन्दा कम पाँच करोड १७ लाख ९६ हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेको थियोे । यसैगरी साइमेन्स लिमिटेडले ६ करोड ७६ लाख ३८ हजार डलर र केइसी इन्टरनेसनलले सात करोड २९ लाख ४५ हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेका थिए । 

यसैगरी, अब सम्झौता हुन बाँकी न्यु दमौली सबस्टेसनमा टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङले नै सबैभन्दा कम तीन करोड ९८ लाख २० हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेको छ । यसबाहेक केइसी इन्टरनेसनलले चार करोड ८४ लाख १८ हजार डलर, साइमेन्स लिमिटेडले पाँच करोड २३ लाख २२ हजार डलर र नेसनल कन्ट्राक्टिङ कम्पनी लिमिटेड ६ करोड ११ लाख १० हजार डलरबराबरको वित्तीय प्रस्ताव गरेका छन् ।  

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार सय केभी रातमाटे सबस्टेसनको निर्माण नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने बताए । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सबस्टेसन र प्रसारणलाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको बताए । 

ad
ad
ad
ad