- भारतमा थप दैनिक चार सय मेगावाट विद्युत् बिक्री गर्न सम्झौता
- सुक्खा यामको विद्युत् आयात २१.७५% ले घट्यो
भारतमा यो सिजनको बिजुली निर्यात थालिएको छ । नदीहरूमा पानीको बहाव बढेर आन्तरिक खपतको तुलनामा बिजुली उत्पादन वृद्धि भएसँगै विद्युत् प्राधिकरणले सोमबार रातिबाट विद्युत् निर्यात थालेको हो । निर्यातसँगै आयात भने रोकिएको छ ।
प्राधिकरणका अनुसार सोमबार राति १२ः०१ बजे भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिजुली बिक्री सुरु भएको हो । अहिले रातको समयमा दैनिक चार सय मेगावाटसम्म र दिउँसो दुई सय मेगावाटसम्म बिजुली विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सिजन दैनिक १२ सय मेगावाटसम्म बिजुली बेच्ने लक्ष्य राखेको बताए ।
‘भारतीय बजारको मागअनुसार अहिले फरक परिमाणमा विद्युत् निर्यात भइरहेको छ, आन्तरिक मागको तुलनामा बढी भएको बिजुली निर्यात थालिएको हो,’ उनले भने, ‘निर्यात सुरु भएसँगै विद्युत्को आयात पनि स्थगित गरिएको छ ।’
अहिले मनसुन सुरु भइनसके पनि अत्यधिक गर्मीका कारण हिमालमा हिउँ पग्लिएर नदीमा मिसिएको र बंगालको खाडीमा विकसित सामुन्द्रिक आँधीले विभिन्न क्षेत्रमा पानी परिरहेका कारण नदीको प्रवाह बढेर बिजुली उत्पादनसमेत मागभन्दा बढी भएको प्राधिकरणले जनाएको छ । मुलुकका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले हिउँदमा कम र बर्खामा धेरै बिजुली उत्पादन गर्ने प्रकृतिका छन् । हिउँदको मागअनुसार आन्तरिक उत्पादनले धान्न नसक्दा आयातसमेत हुने गरेको छ । चालू आर्थिक वर्ष ०८०–८१ मा २१ मंसिरदेखि भारतबाट बिजुली आयात गरिएको थियो ।
घिसिङका अनुसार अहिले झन्डै दुई हजार मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तर, विद्युत्को उच्च माग १९ सय मेगावाट हाराहारी मात्रै छ । ‘रातको समयमा विद्युत्को माग झन् न्यून छ । त्यसले रातको समयमा चार सय मेगावाटसम्म निर्यात गरिरहेका छौँ,’ उनले भने ।
पानीको परम्परागत मूल फुटिनसकेकाले जेठ महिनाभर विद्युत् उत्पादन अस्थिर हुने उनले बताए । जसकारण जेठ महिनामा निर्यात हुने बिजुलीको परिमाण पनि तलमाथि हुने उनको भनाइ छ । ‘अलि गर्मी भयो भने तराईमा विद्युत्को माग बढी हुन्छ, तर उत्पादन नबढ्न सक्छ । पानी पर्यो भने तराईमा विद्युत्को माग कम हुन्छ, तर उत्पादन झन् बढ्छ,’ उनले भने, ‘त्यसैले जेठ महिनाभर माग र उत्पादन अस्थिर हुन्छ । असारदेखि भने मनसुन नियमित भई मूल फुटेपछि पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसवेला दैनिक १२ सय मेगावाटसम्म बिजुली निर्यात गर्न सकिने अवस्था रहन्छ ।’
हाल विद्युत्को जडित क्षमता तीन हजार दुई सय मेगावाट पुग्न लागेको छ । यो अझै बढ्ने क्रम जारी छ । तर, आन्तरिक खपत भने दुई हजारदेखि २२ सय मेगावाटसम्म हुने अनुमान छ । मागभन्दा बढी उत्पादन भइरहेको एक हजारदेखि १२ सय मेगावाटसम्म दैनिक निर्यात गर्न सकिने प्राधिकरणको भनाइ छ । प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता दुवै सर्तभित्र रहेर सो परिमाणको विद्युत् निर्यात गर्न पहल भइरहेको घिसिङले जानकारी दिए ।
भारतले प्रतिस्पर्धामार्फत खुला बजारमा पाँच सय ४६ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति दिइसकेको छ । यसबाहेक मध्यकालीन बजारमा नियमित रूपले ६ सय मेगावाट विद्युत् बिक्री गर्ने गरी द्विपक्षीय सम्झौता भर्खरै भएको छ । यद्यपि, कार्यान्वयनमा आइसकेको छैन । प्रतिस्पर्धा र मध्यकालीन बजारको अवसर प्रयोग गरेर दैनिक १२ सय मेगावाटसम्म निर्यात गर्न सकिने प्राधिकरणको दाबी छ ।
नियमित रूपले दैनिक चार सय मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता
विद्युत् प्राधिकरणले भारतमा दैनिक चार सय मेगावाट विद्युत् मध्यकालीन बजारमा बिक्री गर्ने गरी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन) सँग सम्झौता गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । एनभिभिएनलाई प्रतियुनिट ५.४५ भारु (८.७२ रुपैयाँ) मा विद्युत् बिक्री गर्ने गरी सम्झौता भएको हो ।
आगामी पाँच वर्षसम्म बर्खायाममा दैनिक चार सय मेगावाट विद्युत् खरिद–बिक्री गर्ने गरी सम्झौता भएको उनको भनाइ छ । यसअघि प्राधिकरणले पावर ट्रेडिङ कम्पनी (पिटिसी) इन्डियासँग दुई सय मेगावाट विद्युत् पाँच वर्षसम्म बर्खायाममा बिक्री गर्ने गरी सम्झौता गरेको थियो । पिटिसी इन्डियासँग प्रतियुनिट ५.२५ भारु अर्थात् ८.४० नेपाली रुपैयाँमा पिपिए भएको थियो । दुवै सम्झौताले पूर्णता पाएकाले दैनिक ६ सय मेगावाट बिजुली नियमित रूपमा बिक्री गर्ने बाटो खुलेको छ । हाल निर्यात भइरहेको बिजुली भने यो कोटाअन्तर्गत पर्दैन । प्राधिकरणले खुला बजारमा प्रतिस्पर्धा गरी अहिले बिजुली बिक्री गरिरहेको हो ।
मध्यकालीन बजार संरचनाअन्तर्गत बिक्री हुने ६ सय मेगावाट बिजुली कुन आयोजनाबाट कति परिमाण निर्यात गर्ने भन्ने विवरणसमेत स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पेस गरिसकेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘त्यहाँबाट स्वीकृति पाएपछि यसअन्तर्गतको बिजुली निर्यात सुरु हुनेछ,’ उनले भने । भारतले किन्ने बिजुली कुन आयोजना, कति परिमाणलगायतका विवरणहरू हेरेर मात्रै स्वीकृति दिने गरेको छ ।
यो वर्ष २१.७५ प्रतिशतले घट्यो आयात
सुक्खायाममा नेपालले भारतबाट आयात गर्ने बिजुली २१.७५ प्रतिशतले घटेको छ । गत वर्षको सुक्खायाममा १९ अर्ब ४४ करोड रुपैयाँको विद्युत् आयात भएको थियो । यो वर्ष १५ अर्ब २१ करोड रुपैयाँको आयात भएको प्राधिकरणले जनाएको छ । कुल एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको हो । स्वदेशी उत्पादन बढेकाले आयात घटेको हो ।
यो वर्ष आयातभन्दा बढी बिजुली निर्यात हुनेछ : कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
विगतमा निर्यातको तुलनामा आयात हुने बिजुली धेरै हुने गरेकोमा यसपटक भने निर्यातले उछिन्ने देखिएको छ । चालू आवमा १५ अर्ब ६२ करोड रुपैयाँको बिजुली आयात भएको छ भने जेठ १७ सम्म १३ अर्ब ४७ करोड रुपैयाँको निर्यात भएको छ । चालू आव सकिन अझै करिब डेढ महिना रहेको र यो अवधिमा उच्चदरले निर्यात हुने गर्छ । जसकारण बिजुली निर्यातको तथ्यांकले आयातलाई उछिन्छ भन्ने विश्वास छ । अघिल्ला वर्षहरूको तुलनामा बिजुली पनि धेरै निर्यात गर्ने प्रयत्न भइरहेको छ ।