![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/shreeram-sugar2020-12-22-07-50-23.jpeg)
श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमति जुटेको छ । उद्योग सञ्चालनका लागि गठित कार्यदलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई प्रतिवेदन बुझाएसँगै उद्योग सञ्चालन गर्ने सहमति भएको हो ।
संसद्को महिला तथा सामाजिक मामिलाका सभापति किरण साहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले उद्योगीलाई आर्थिक संकट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने सुझाव दिएबमोजिम उद्योगको नाममा रहेको करिब ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवं मेसिनहरूको मर्मत–सम्भार गर्ने गरी तत्काल सञ्चालन गर्ने सर्तसहित मूल सडकसँग जोडिएको केही जग्गा बेच्न दिने सहमति गरेको छ ।
उद्योग चार वर्षदेखि सञ्चालन हुन नसकेको र लगानीकर्ताले समेत थप लगानी गर्न तथा ऋणसमेत तिर्न नसकेको देखिएको प्रतिवेदनमा उल्लेख छ । उद्योगको पहिचानसम्बन्धी कार्य गर्नेसमेत कार्यदलमा सहमति भएको छ । हाल उद्योगका मेसिन–औजार तथा जग्गा नेपाल बैंक लिमिटेडमा धितो रहेको र करिब ३१ करोड रुपैयाँ साँवा–ब्याजसहित ऋण रहेको छ ।