१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १४ बुधबार १६:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई सघाउने नागरिक उन्मुक्तिको निर्णय

उन्मुक्तिको निर्णयसँगै शाह नेतृत्वको सरकार थप अप्ठ्यारोमा

Read Time : > 1 मिनेट
२०८० चैत १४ बुधबार १६:१८:००

नागरिक उन्मुक्ति पार्टीले केन्द्रदेखि प्रदेशसम्म एमाले-माओवादीसहितको सत्तागठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आज टीकापुरमा बसेको पार्टीका संस्थापक बहुमत केन्द्रीय सदस्यको बैठकले सुदूरपश्चिमसहित अन्य प्रदेशमा पनि केन्द्रीय गठबन्धनलाई नै सहयोग गर्ने निर्णय गरेको हो।

नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले प्रदेशहरूमा पनि गठबन्धनलाई सहयोग गरेर जाने निर्णय भएको जानकारी दिए। अल्पमतमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नागरिक उन्मुक्तिको यो निर्णयसँगै थप अप्ठ्यारोमा परेका छन्। 

सत्तागठबन्धनसँग भागबन्डाको विषय टुंगिएपछि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिइने नागरिक उन्मुक्तिले जनाएको छ।

‘केन्द्रदेखि प्रदेशसम्म गठबन्धनमा आबद्ध हुने निर्णय भएको छ, सरकारमा सहभागिताबारे गठबन्धनसँग वार्ता गर्छौँ,’ टीकापुर नगरपालिकाका प्रमुखसमेत रहेका डगौराले भने, ‘भागबन्डाको विषय टुंगिए सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ।’ 

पार्टीका २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये बैठकमा १२ जनाको उपस्थिति रहेको संस्थापक केन्द्रीय सदस्य रमेश विकले जानकारी दिए। 

दुईजना संस्थापक केन्द्रीय सदस्यले यसअघि नै पार्टी परित्याग गरिसकेको र बाँकी अन्य प्राविधिक कारणले बैठकमा सहभागी हुन नसकेको उनले दाबी गरे। 

सरकारमा सहभागिताको विषयमा नागरिक उन्मुक्तिभित्र विवाद छ। पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका पति रेशमलाल चौधरी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई कायम राखेर जानुपर्ने पक्षमा छन्।

केही दिनअघि रञ्जिताको अनुपस्थितिमा बसेको संस्थापक १६ जना सदस्यको बैठकले सुदूरपश्चिम सरकारको समर्थन कायम राख्ने र केन्द्रमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। रेशमको सल्लाहमा उक्त निर्णय भएको थियो । केन्द्रमा भने अध्यक्ष श्रेष्ठले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदीय दललाई ह्विप जारी गरेकी थिइन्।

मुख्यमन्त्री शाहले रेशमसँगको छलफलपछि नागरिक उन्मुक्तिबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश संसदीय दललाई निर्देशन दिए पनि दलले समर्थन कायम राख्ने निर्णय यसअघि गरेको थियो। नागरिक उन्मुक्तिका सातजना प्रदेश सांसदमध्ये पाँचजना प्रदेश सरकारका मन्त्री छन्। अहिले रेशम जापान भ्रमणमा रहेको बताइएको छ। 

मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा बहुमत जुटाउने प्रयासमा छन्। नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए प्रदेश सरकारले बहुमत जुटाउने सम्भावना समाप्त हुनेछ।