१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १३ मंगलबार ११:०९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थमन्त्री पुनसँग एआइआइबीले भन्यो- नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १३ मंगलबार ११:०९:००

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । 

नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो ।  त्यसक्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । 

जवाफमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका एआइआइबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरूले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए । रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे । 

उनले नेपाललाई एआइआइबीले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए । 

५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआइआइबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए । मन्त्री पुनको उक्त आग्रहका लागि धन्यवाद दिँदै रथनायकेले बहुवर्षीय आयोजनाहरूको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औँल्याए  । 

मन्त्री पुनले आगामी वैशाखमा हुने तेस्राे लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए । मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन् । 

एआइआइबीको ब्याजदर तुलनात्मक रूपमा महँगो भएकाले नेपालले अपेक्षित रूपमा ऋण लिन नसकेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल एआइआइबीको संस्थापक सदस्य भए पनि महँगो ब्याजदरका कारण सोचेजति लाभ लिन नसकेको स्पष्ट गरे । 

नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए । सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै आन्तरिक स्राेतको सीमितताका कारण बाह्य स्राेत जुटाउन आवश्यक रहेको उनले स्पष्ट गरे । 

पुनले पूर्वाधार विकाससहित जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न टोलीलाई आग्रह गरे । जलविद्युतका लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले सो क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले औँल्याए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको जानकारी दिँदै उनले बजारको समस्या नरहेको स्पष्ट गरे । यस्तै, बंगलादेशसँग पनि विद्युत् व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको बताए । 

आगामी सन् २०२६ मा नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने भन्दै उनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधिकरण गर्न उनको आग्रह थियो । यस्तै, नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले भने । 

देशभित्र र बाहिरको समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानुनमा सुधार गर्दै लैजाने प्रतिबद्धता मन्त्री पुनको थियो । 

एआइआइबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको दुई सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ४० मिलियन अमेरिकी डलरबराबरको लगानी छ । यस्तै, लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत् प्रसारणलाइनमा पनि एआइआइबीले लगानी गरेको छ ।