राष्ट्र बैंक, विद्युत् प्राधिकरण र महासंघसँग एआइआइबी प्रतिनिधिको छुट्टाछुट्टै भेटवार्ता

पूर्वाधारमा लगानी बढाउन नेपालको आग्रह

बुधबार, १४ चैत, २०८०
डिजिटल संस्करण

सरकार तथा निजी क्षेत्रले नेपालको पूर्वाधारमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबीका प्रतिनिधिसँग भएको छुट्टाछुट्टै भेटमा नेपाल पक्षले यहाँको ऊर्जा, यातायात तथा पर्यटनलगायतको पूर्वाधारमा लगानी बढाउन आग्रह गरेका हुन् ।

अहिले एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायकेको नेतृत्व प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ । प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्र्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघलगायतका सरकारी एवं गैरसरकारी संघ–संस्थासँग छलफल गरेको छ । यसअघि प्रतिनिधिमण्डलले प्र्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई समेत भेटवार्ता गरिसकेको छ ।

छुट्टाछुट्टै भेटवार्तामा उनीहरूले नेपालमा लगानी बढाउन आग्रह गरेका थिए । एआइआइबीका प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटवार्तामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक स्रोत अपुग भएको भन्दै नेपालको पूर्वाधारमा लगानी बढाउन आग्रह गरे । उनले जलविद्युत्, प्रसारणलाइनलगायत पूर्वाधार क्षेत्रमा लगानी बढाउन जोड दिए । 

नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एआइआइबी)लाई आग्रह गर्यो । एआइआइबीको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरे ।

नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकतासम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए ।

‘ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाका लागि झन्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाईसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक छ,’ घिसिङले भने ।

प्रतिनिधिमण्डलले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डलबाट हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाहरूको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषय, ऊर्जा क्षेत्रको पुर्नर्संरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चितालगायतका विषयमा जिज्ञासा राखिएको थियो । 

एआइआइबी प्रतिनिधिमण्डल र महासंघबीच मंगलबार नै भेटवार्ता भयो । उक्त अवसरमा महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी बढाउन आग्रह गरे । उनले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी बढाउन आग्रह गरे । सो अवसरमा एआइआइबीले यातायात, ऊर्जा र सहरी विकासलगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । 

See More On

सुझावित समाचार