![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Bises-Adalat2022-07-28-09-43-23.jpeg)
रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तालाई विशेष अदालतले सफाइ दिएको छ। बुधबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उनीसहित श्रीमती उषा गुप्ताले पनि सफाइ पाएका छन्।
गुप्तामाथि डेढ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान गरी गत वर्ष गुप्ता दम्पतीमाथि मुद्दा दर्ता भएको थियो ।
विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। नन्दकिशोरले आर्जन गरेको सम्पत्ति श्रीमती उषाका नाममा राखेको दाबीसहित दुवैलाई प्रतिवादी बनाइएको थियो।
२९ वैशाख ०५१ मा सार्वजनिक सेवामा प्रवेश गरेका गुप्ताले २५ जेठ ०७९ सम्मको अवधिमा एक करोड ४९ लाख ९७ हजार रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको दाबी अख्तियारको थियो।
स्रोत नखुलेको रकमलाई बिगो कायम गर्दै २६ चैत ०७९ मा गुप्ता दम्पतीमाथि मुद्दा दर्ता भएको थियो।