१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ७ बुधबार
  • Saturday, 07 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ७ बुधबार १७:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुरानो दलसँग मिसिन आवश्यक छैन, हामी पछाडि फर्कन्नौँ : डा.भट्टराई  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ७ बुधबार १७:३o:oo

नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले देशको निकासका लागि नयाँ अभियानमा होमिएकाले पुराना दलसँग मिसिन नसकिने बताएका छन्। 

पार्टी कार्यालय तीनकुनेमा बुधबार पत्रकार सम्मेलन गरेर भट्टराईले वैकल्पिक शक्ति कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने तर्क गरे। व्यवस्थामाथि सत्तामा बसेकाहरूबाटै खतरा भएकाले नयाँ शक्तिको आवश्यकता परेको उनको दाबी छ। 

‘हामी नयाँ अभियानमा छौँ। देशलाई विकास र समृद्धिमा लानुपर्छ। पुराना दललाई सही बाटोमा लान सकिएन। वैकल्पिक शक्ति कमजोर हुनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुनु हो,’ उनले भने, ‘देशको समस्या समाधान गर्न नयाँ शक्तिको आवश्यक परेको हो। पुराना दलसँग मिसिन आवश्यक छैन, हामी पछाडि फर्कन्नौँ।’

उनले पार्टी निर्माण र विस्तार अभियान चलाउने जानकारी पनि दिए। भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री तथा समानुपातिक प्रतिनिधिसभा र प्रदेश सभाका लागि जनदबाब सिर्जना गर्नुपर्ने बतए। व्यापक जनदबाब सिर्जना गरेर संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्रीकै उपस्थितिमा केही मान्छेले गरेको पार्टी प्रवेशलाई पार्टी एकता भनेर प्रचार गरिएको भन्दै भट्टराईले आश्चर्यचकित भएको बताए। अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले माओवादीसँग पार्टी एकताको सहमति गरेको थियो।

‘पार्टीभित्र आन्दोलनको क्रममा केहीलाई थकाइ लाग्छ। गलिन्छ। त्यसकारण यात्रामा हिँड्नुभन्दा चौतारीमा वास बसौँ। छिमेकीको एउटा घरमा गएर मीठो खाना खाऔँ भन्ने अनुभूति यात्रीलाई हुन्छ। त्यस्तै, साथीहरूलाई पनि अलिअलि भएर उहाँहरूले गर्न खोज्नुभयो। त्यसलाई हामीले अन्यथा मान्ने कुरा हुँदैन थियो। तर, विडम्बनापूर्ण के भइदियो भने देशको प्रधानमन्त्री, एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ। उहाँकै उपस्थितिमा केही मान्छे उहाँको पार्टीका प्रवेश गरेको कुरालाई पार्टी नै मर्ज भएको भन्ने जुन वक्तव्य आयो। त्यसबाट हामी अलि आश्चर्यचकित भयौँ,’ भट्टराईले भने, ‘म पार्टीको अध्यक्ष छु। निर्वाचन आयोगका सबै अभिलेखले त्यो देखाउँछ। सबैसँग वार्ता गर्ने गरी बनाएको वार्ता समितिको संयोजक मै हुँ। अस्ति मात्रै हाम्रो बैठक बस्यो, त्यसमा ७० प्रतिशत केन्द्रीय समिति र दुईतिहाइ कार्यकारिणी समिति सदस्य उपस्थित भएर हामीले निर्णय पनि गरेका छौँ। यस्तो अवस्थामा जालसाजीपूर्ण, भ्रमपूर्ण प्रचारबाजी गरियो।’ 

यादव पक्षले गरेको एकताको सहमति भट्टराई पक्षको बैठकले खारेज गरेको थियो। नयाँ राजनीतिक संस्कार बसाल्नका लागि माओवादीमा जानेहरूलाई कारबाही नगर्ने पनि भट्टराईले बताए। 

देशको आर्थिक दुरावस्थालाई संरचनागत सुधार गर्नुपर्नेमा उनले जोड दिए। शान्ति प्रक्रियाको काममा सघाउन र समाजवादी ध्रुवीकरणका लागि मात्रै बीचमा पुराना दलसँग सहकार्य गरेको उनले दाबी गरे। बीचमा केही अलमलजस्तो देखिए पनि अब स्पष्ट भिजनका साथ अगाडि बढ्ने भट्टराईले जिकिर गरे।