मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Wednesday, 22 January, 2025
२o८१ माघ ८ मंगलबार २२:१८:oo
Read Time : > 1 मिनेट
समाचार

अरबी खाँ हत्याराको १० महिना : दोषी पत्ता अझै लागेन

हत्यामा संलग्नलाई प्रहरीले नै संरक्षण गरेकाे पीडित परिवारकाे आराेप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार २२:१८:oo

नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्ताका २२ वर्षीय अरबी खाँको हत्या भएको १० महिना बितेको छ । १८ चैत ०८० मा गाउँभन्दा एक किलोमिटर पूर्व इँटाभट्टानजिक बीभत्स तरिकाले उनको हत्या भएको थियो । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने भन्दै उनका परिवारले दुई सातासम्म शव बुझेका थिएनन् । प्रहरीले एक हप्ताभित्र दोषी पक्राउ गरी कानुनी दायरामा ल्याउने आश्वासन दिएपछि परिवारले शव बुझेको थियो । तर,१० महिना बित्दासमेत दोषी पक्राउ नगरेपछि उनका आफन्तले मंगलबार नेपालगन्जको धम्बोझी चोकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नेपालगन्ज–कोहलपुर सडक तीन घण्टा अवरुद्ध भएको थियो । 

प्रदर्शनका क्रममा परिवारका सदस्यले दलका नेताको दबाबमा परेर प्रहरीले दोषी पक्राउ नगरेको आरोप लगाएका छन् । ‘प्रहरीले हत्यामा संलग्न पहिचान गरिसकेको छ, तर राजनीतिक दलका नेताको दबाबमा पक्राउ गर्नुको साटो संरक्षण गरिरहेको छ,’ अरबी खाँकी आमा राबिया खाँले भनिन् । 

किटानी जाहेरी दिँदासमेत विभिन्न बहाना बनाएर प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ नगरीसंरक्षण गरिरहेको अरबीका काका अब्दुल रहमान खाँले बताए । ‘हत्यारालाई उन्मुक्ति दिन प्रहरीले विभिन्न बहाना बनाएर अनुसन्धानमा लापरबाही गरिरहेको छ,’ उनले भने । 

हत्या भएको १० महिना बित्दासमेत प्रहरीले संलग्नलाई पक्राउ गर्नुको साटो संरक्षण गरेको आरोप उनीहरूको छ । ‘प्रहरीले न्याय दिनुको साटो परिवारका सदस्यलाई अनाहकमा दुःख दिँदै आएको छ । न्याय नपाएपछि सडक आन्दोलनमा आउन बाध्य भएका हौँ,’ उनले भने ।

मृतक अरबी खाँका परिवार र स्थानीयले प्रहरी, प्रशासनले हत्यारालाई कारबाही नगरे नेपालगन्ज ठप्प पार्ने चेतावनीसमेत दिएका छन् । आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी स्वयं प्रहरी र बाँके प्रशासनले व्यहोर्नुपर्ने अरबी खाँका काका अब्दुल रहमान खाँले बताए । 

सिआइबीको टोलीसमेत उक्त घटनाको अनुसन्धान गरी फर्किएको छ भने बाँके प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरी अनुसन्धानमा खटाएको थियो, तर अहिलेसम्म प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।