१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ६ मंगलबार ०७:४३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा अस्ट्रेलियन खेलाडीको दबदबा

म्याक्सवेल, मिचेल स्टार्क, केमेरो ग्रिन, एडम जाम्पा, टिम डेभिड, प्याट कमिन्स, डेभिड वार्नर र मार्कोस स्टोनिसजस्ता चर्चित अस्ट्रेलियन खेलाडीले २२ मार्चदेखि सुरु हुने आइपिएलमा आफ्नो प्रभुत्व जमाउने अपेक्षा

Read Time : > 1 मिनेट
२०८० चैत ६ मंगलबार ०७:४३:००

विश्वकै चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग टी–२० (आइपिएल) २२ मार्चदेखि भारतमा सुरु हुँदै छ । यसै सातादेखि हुने आइपिएलको चहलपहल सुरु भइसकेको छ । सहभागी टोलीले अन्तिम तयारी गरिसकेका छन् । यसपटकको आइपिएलमा अस्ट्रेलियन खेलाडी चर्चामा छन् ।

आइपिएलमा मात्र नभएर विश्का अन्य फ्रेन्चाइज टी–२० लिगमा अस्ट्रेलियन दबदबा रहेको देखिन्छन् । यसपटक आइपिएलमा अक्सनबाट अनुबन्धित भएका अस्ट्रेलियन क्रिकेटर आइसिसी टी–२० विश्वकपमा छनोट भएका छन् । अस्ट्रेलियाका मुख्य १३ मध्ये १२ खेलाडी आइपिएलमा आबद्ध छन् । वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने टी–२० विश्वकपअगाडि आइपिएल धेरैजसो खेलाडीलाई एक्सपोजर हुन सक्छ । आइपिएलमा यिनै १२ अस्ट्रेलियन खेलाडी खेल परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । 

मिचेल स्टार्क
अस्ट्रेलियन खेलाडीमध्ये मिचेल स्टार्क सर्वाधिक सफल खेलाडीमा पर्छन् । इन्जुरीका कारण उनले केही संस्करण आइपिएलका खेल गुमाएका थिए । यस सिजनमा उनी फर्ममा मात्र होइन, कुनै पनि पिचमा घातक बलिङ गर्न सक्छन् । सन् २०१५ मा उनले अन्तिमपटक रोयल च्यालेन्जर्स बेंग्लोरबाट प्रतिस्पर्धा गरेका थिए । त्यसवेला उनले क्रिस गेल, विराट कोहली तथा एबिडी भिलियर्सलाई चुनौती दिएका थिए ।

समग्रमा उनको आइपिएलमा प्रदर्शन हेर्दा ७.१६ इकोनोमीमा ३४ विकेट लिएका छन् । यसपटक उनी कोलकोत्तामा आबद्ध भएका छन् । जहाँ कोलकोताले ४.४३ मिलियन अस्ट्रेलियन डलर खर्चेको थियो । ‘यसमा कुनै शंका छैन, योपटक आइपिएलमा केही गर्नेछु,’ स्टार्कले भने, ‘कुनै किसिमको दबाबविना आइपिएल खेल्नेछु ।’ पछिल्लो १८ महिनामा उनले टेस्ट तथा एकदिवसीय खेलमै मात्र केन्द्रित रही प्रतिस्पर्धा गरेका थिए । 

ट्राभिस हेड
यसैगरी ट्राभिस हेडले सनराइजर्स हैदरावादबाट आइपिएलमा आफ्नो खुबी देखाउनेछन् । एकदिवसीय क्रिकेटमा आफ्नो जादुमयी खेल देखाएपछि उनी टी–२० टोलीमा समेत परेका हुन् । उनले एकदिवसीय तथा टी–२० खेलमा अस्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । 

केमेरोन ग्रिन
केमेरोन ग्रिन र स्पेन्सर जोन्सन आइपिएलमा आबद्धमध्ये अस्ट्रेलिन खेलाडीमा शीर्ष स्थानमा छन् । अबका केही साता यी दुवै खेलाडीको प्रदर्शन आइपिएलमा हेर्न लायक हुनेछ । ग्रिनले न्युजिल्यान्डविरुद्धको टेस्टमा एक सय ७४ रनको नटआउट खेल्दै आफू आइपिएलका लागि तयार भएको सन्देश दिएका छन् । ‘पछिल्लो समय मेरो ब्याटबाट राम्रोसँग रन आइरहेको छ, अब यस्तै प्रदर्शन आइपिएलमा हुने विश्वास राखेको छु,’ ग्रिनले भने, ‘यसपटक आइपिएलमा विश्वकपमा छनोट भएका खेलाडी छन्, उनीहरूले यसलाई भरपूर प्रयोग गर्नेछन् ।’ 

रोयल च्यालेन्जर्स बेंग्लोरमा अनुबन्धित ग्रिनले सम्भवतः पहिलो ११ खेलाडीबाटै प्रतिस्पर्धा गर्न सक्छन् । अक्सनबाट पाँचपटकको विजेता मुम्बई इन्डियन्सबाट बेंग्लोर पुगेका ग्रिनले आक्रामक ब्याटिङ गर्नेछन् । जोन्सनले सम्भवतः नाथम इलिसलाई पछि पार्न सक्छन् ।

टी–२० विश्वकपमा अस्ट्रेलियाले चारजना विशेषज्ञ बलरका रूपमा जोन्सनलाई पनि समावेश गरेको छ । बिबिएल लिगमा उत्कृष्ट बलिङ स्पेल गरेपछि उनले विश्वकपको टोलीमा स्थान बनाएका हुन् । गुजरातले उनलाई १.७८ मिलियन डलरमा अनुबन्ध गरेको हो । नयाँ तथा पुरानो बलमा एकनासले स्विङ गर्न सक्ने क्षमता राखेका जोन्सनले आइपिएलमा यसपटक धमाकेदार प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ ।