१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सुवास भट्ट काठमाडाैं
२०८० चैत ५ सोमबार ०६:१०:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

०७२ को भूकम्पमा कानुनविपरीत किनिएका त्रिपालको साढे सात करोड भुक्तानी नहुने

आठ वर्षदेखिको विवाद निरुपण गर्दै सहरी विकास मन्त्रालयले भन्यो– खरिद प्रक्रिया प्रचलित कानुनबमोजिम नभएकाले भुक्तानी गर्न सकिने अवस्था रहेन

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०८० चैत ५ सोमबार ०६:१०:००

त्रिपाल किनेको सात वर्षपछि भुक्तानीको बिल ! 

१२ वैशाख ०७२ मा गएको भूकम्पमा आपत्कालीन व्यवस्थापनका लागि खरिद गरेको दाबी गरिएको करिब साढे सात करोड रुपैयाँबराबरका त्रिपालको भुक्तानी नहुने भएको छ । खरिद सम्झौता नभएको, बिलबिजकको आधिकारिकता पुष्टि हुन नसकेको तथा सामग्री खरिद प्रक्रिया नै कानुनबमोजिम नपाइएकाले सहरी विकास मन्त्रालयले भुक्तानी दिन नसकिने निर्णय गरेको छ ।

खरिद गरिएको भनिएको २७ हजार सात सय थान त्रिपालको बिलबिजक, खरिद सम्झौता र स्टोर दाखिला केही पनि नभएको देखिन्छ । यति ठूलो परिमाणमा खरिद गरिएको भनिएको त्रिपालको भुक्तानीका लागि टेक्ने कानुनी आधार नभेटेपछि अन्ततः मन्त्रालयले भुक्तानी गर्नै नसकिने निर्णय गरेको हो । आपत्कालीन अवस्था देखाएर सहरी विकास मन्त्रालयको तत्कालीन नेतृत्वले त्रिपाल खरिदको प्रक्रिया अघि बढाएको थियो । लिखित निर्णय, क्षेत्राधिकार र कानुनी प्रक्रिया ख्यालै नगरी मौखिक निर्देशनका आधारमा मन्त्रालयका कर्मचारीले त्रिपाल खरिद अघि बढाएका थिए । त्यतिवेला मन्त्रालयको सचिवमा अर्जुन कार्की थिए ।

उनले सार्वजनिक खरिद कानुनको आधारभूत व्यवस्था पनि पालना नगरी खरिदको समर्थन गरेको देखिन्छ । कतिसम्म भने १२ गते भूकम्प गएपछि मन्त्रालयले १३, १४ र १५ गते विभिन्न चार आपूर्तिकर्ताबाट त्रिपाल खरिद गरेको देखाइएको छ । जब कि मन्त्रिपरिषद्ले १७ गते मात्र त्रिपाल खरिदका लागि मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको थियो । आपत्कालीन राहत वितरण सीधै आफ्नो कार्यक्षेत्रमा नपर्ने अवस्थामा मन्त्रिपरिषद्को निर्णयअगावै मन्त्रालयले मौखिक आदेशका भरमा त्रिपाल खरिदको प्रक्रिया अघि बढाउनु नै उपयुक्त देखिँदैन । मन्त्रालय स्रोतका अनुसार उक्त परिमाणको त्रिपाल खरिद कानुनबमोजिम देखिएको छैन । ‘खरिद नै कानुनबमोजिम नभएपछि कानुनबमोजिम भुक्तानी गर्न सकिने कुरै भएन,’ स्रोतले भन्यो ।  

त्रिपाल किनेको सात वर्षपछि भुक्तानीको बिल ! 
आफूले त्रिपाल खरिद गरेर वितरण गरेको दाबी गर्दै पाँच आपूर्तिकर्ता कम्पनी लक्की एएस इन्टरप्राइजेज, माता इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्स, अजय शुभ ट्रेडर्स र इन्टरटेक तारपोलिन्सले पटक–पटक मन्त्रालयमा निवेदन दिइरहे । मन्त्रालयले भुक्तानी दिन अस्वीकार गरेपछि इन्टरटेक तारपोलिन्सबाहेक चार कम्पनी मन्त्रालयविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका थिए । अदालतले बिलबिजकको आधिकारिकतासमेत परीक्षण गरी शीघ्र भुक्तानी गर्न ९ चैत ०७८ मा आदेश जारी गरेको थियो । 

यसपछि पाँचमध्ये ठूला तीन आपूर्तिकर्ता कम्पनीले २२ माघ ०७९ मा आएर बिलबिजक जारी गरे । अर्थात् झन्डै सात वर्षपछि ०७२ मा खरिद गरिएका त्रिपालको खरिद बिल बने । बाँकी दुईमध्ये अजय शुभ ट्रेडर्सले १७ वैशाख ०७२ र इन्टरटेक तारपोलिनले १४ वैशाख ०७२ को बिजक जारी गरेका थिए । अजयले भ्याटसहित तीन लाख ३८ हजार र इन्टरटेकले २९ लाख २७ हजार रुपैयाँको बिजक जारी गरेका छन् । 

अदालतले बिलबिजकको आधिकारिकता हेरेर भुक्तानी गर्न भनेपछि मन्त्रालयले बिलबिजकको आधिकारिकतासमेत परीक्षण गरेको थियो । बिलबिजक परीक्षण गर्ने क्रममा आन्तरिक राजस्व विभागले ०७२ मा भएको कारोबारको बिलबिजक ०७९ मा जारी गर्नु गलत हुने भन्दै प्रश्न उठाएको छ । तीनवटाको बिल आधिकारिक नभएको, एउटाको बिलबिजक ठीक भए पनि खरिद प्रक्रिया नमिलेको देखिएको छ भने एउटा अदालती प्रक्रियाबाहिरै छ । ०७१/७२ मा तीनवटैले सहरी विकास मन्त्रालयलाई कुनै पनि बिक्री गरेको नदेखिएको तथा चार करोड रुपैयाँसम्म कारोबार गर्नेको वर्षभरिको कारोबार अत्यन्त न्यून देखिएको भन्दै आन्तरिक राजस्व विभागले प्रश्न उठाएको थियो । 

यसबीचमा उच्च अदालत पाटनले आफ्नो आदेश कार्यान्वयन नगरेको भन्दै मन्त्रालयका तत्कालीन सचिव (हाल अवकाश) रवीन्द्रनाथ श्रेष्ठ, लेखा प्रमुख हिरा न्यौपाने र स्टोरकिपर युवराज गिरीलाई जनही पाँच सय जरिवाना तिराउने आदेश दिएकाे थियाे । यसविरुद्ध उनीहरू रिट लिएर गएपछि सर्वाेच्चले जरिवाना तिराउने आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे छ । गत ११ साउनमा सर्वाेच्चले जरिवाना तिराउने उच्चकाे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे थियाे । मानहानी खेपेर पनि मन्त्रालयका अधिकारीहरू भविष्यमा भ्रष्टाचार मुद्दा लाग्ने त्रासले भुक्तानी दिन तयार भएनन् । निर्णय गर्नुपर्ने दवाव र मानहानीकाे त्रासले पछिल्लाे समय मन्त्रालयमा सरुवा हुन पनि कर्मचारीहरू हिच्किचाउने अवस्था बनेकाे थियाे ।

अदालतले बिलबिजकको आधिकारिकता हेरेर भुक्तानी गर्न आदेश गरेपछि मन्त्रालयले २२ माघ ०७९ मा मन्त्रीस्तरीय निर्णयबमोजिम सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधिसहितको समिति गठन गरेको थियो । विभिन्न अवरोधबीच समितिले एक वर्षपछि गत २३ माघमा प्रतिवेदन पेस गरेको थियो । समितिले प्रचलित कानुनबमोजिम भुक्तानी गर्न सकिने अवस्था नरहेको निष्कर्षसहितको प्रतिवेदन दिएको छ । 

अदालतको समयसीमा र समितिको प्रतिवेदनपछि अन्ततः मन्त्रालयले टुंग्यायो 
आठ वर्षअघि भएको खरिदको भुक्तानीको विषय लामो समयदेखि अल्झिरहेको सन्दर्भमा पाटन उच्च अदालतले यस सम्बन्धमा परेको मुद्दाको अन्तिम निचोड दिँदै गत २७ भदौमा फैसला गरिदियो । फैसलामा अदालतले बिलबिजकको आधिकारिकता यकिन गर्नुपर्ने, निवेदकले आपूर्ति गरेको त्रिपालको वास्तविक परिमाण यकिन गर्नुपर्ने, त्रिपालको गुणस्तरसमेत जाँचबुझ गरी आपूर्तिकर्तालाई भुक्तानी दिनुपर्ने रकम यकिन गरी भुक्तानी विषय टुंग्याउन भनेको थियो । अदालतले त्रिपालको भुक्तानी सम्बन्धमा आदेश प्राप्त गरेको दुई महिनाभित्र निर्णय गरी भुक्तानी दिन/दिलाउन भनेको थियो । अदालतले एकातिर आधिकारिकता हेर्न भनेको छ भने भुक्तानी पनि गर्न भनेको छ ।

 टेक्ने कानुनी आधार र बिलबिजक आधिकारिकतासमेत नभेटिएको अवस्थामा आधिकारिकता परीक्षण गरी समयसीमा तोकेर अदालतले ‘भुक्तानी दिनू’ भन्ने अमूर्त फैसला गरेपछि उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै अहिले मन्त्रालय सर्वोच्च अदालत पुगेको छ । उच्च अदालतको उक्त फैसलामा विरुद्ध मन्त्रालय निवेदन लिएर सर्वोच्च गएको हो । गत १६ फागुनमा मन्त्रालयले उक्त निवेदन सर्वोच्चमा दर्ता गरेको छ । यो निवेदन अहिले अदालतमा विचाराधीन छ । 

यसैबीचमा गत २७ भदौमा भएको उच्च अदालतको फैसलाको पूर्णपाठ गत ४ माघमा प्राप्त गरेपछि फैसलाले तोकेको सीमाबमोजिम मन्त्रालयले समितिसमेतको सिफारिसका आधारमा दुई महिनाभित्रै भुक्तानीको विषय टुंग्याएको छ । शुक्रबार मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ‘प्रचलित कानुन (कर कानुन, सार्वजनिक खरिद कानुन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन) बमोजिम खरिद गरेको नपाइएकाले प्रचलितबमोजिम भुक्तानी गर्ने अवस्था नरहेको’ भन्ने व्यहोराको निर्णय गरेको छ । यससँगै आठ वर्षदेखिको विवादित विषय मन्त्रालयले टुंग्याएको छ । सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा भने फैसलापछि सोहीबमोजिम गर्ने मन्त्रालय स्रोत बताउँछ । ‘तर, भुक्तानी गर्नुपर्ने कुनै पनि कानुनी आधार छैनन्,’ मन्त्रालय स्रोत भन्छ, ‘सम्मानित अदालतले यसलाई मनन गर्ने नै छ ।’ 

खरिदमै गडबड
त्रिपाल खरिदमा अनियमितता भएको आवाज उतिखेरै उठेको थियो । खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा अख्तियारले २० भदौ ०७२ मा विशेष अदालतमा मुद्दा नै दायर गरेको थियो । मिलेमतोमा कम परिमाणमा त्रिपाल आपूर्ति गरेको, न्यून गुणस्तर तथा सानो आकारको त्रिपाल खरिद गरिएको र गैरकानुनी रूपमा त्यसको भुक्तानी गर्न लागेको आरोपमा अख्तियारले विभिन्न चार आपूर्तिकर्ता कम्पनीसहित कर्मचारीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । खरिद कारबाहीमा अनियमितता भएको दाबीसहित अख्तियारले कर्मचारी र आपूर्तिकर्ताविरुद्ध मुद्दा दायर गरेको थियो । तर, तत्कालीन अवस्थामा भुक्तानी भइनसकेकाले अनियमितता भएको नदेखिएको आधारमा अदालतले आरोपित सबैलाई सफाइ दियो । 

उक्त त्रिपाल उच्चपदस्थ र सांसदहरूबीच नै खोसाखोसको भएको घटना पनि त्यतिवेला चर्चाको विषय बनेको थियो । वास्तविकतामा त्रिपाल खरिद भए पनि विशेष अवस्थामा खरिद गर्दा व्यवसायीबाट कोटेसन लिएको, वस्तुको स्पेसिफिकेसन, द्विपक्षीय सम्झौता, सामान प्राप्त गरेको, स्टोर दाखिला, सामान वितरण भएको भर्पाई, बिलबिजकलगायत केही पनि भेटिएको छैन ।

यसक्रममा कर कानुन, खरिद कानुन र आर्थिक उत्तरदायित्व तथा वित्तीय उत्तरदायित्व ऐनका व्यवस्थाहरू पनि नअपनाई जथाभावी रूपमा त्रिपाल खरिद गरिएका थिए । जब कि मन्त्रिपरिषद्को निर्णयपछि १९ गतेपछि खरिद गरिएका त्रिपालको झन्डै ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । कानुनबमोजिम खरिद भएकाले त्यसमा हालसम्म प्रश्न उठेको छैन ।