१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १९:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाँदर बन्ध्याकरण सीप सिक्न पशु चिकित्सक र वन रक्षक टाेली भारत जाँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:o५:oo

बाँदरआतंक नियन्त्रणका लागि नेपाली पशु चिकित्सक र वन रक्षकको टोली आइतबार भारतको हिमाञ्चल प्रदेश जाने भएको छ। भारत सरकारको सहयोगमा जान लागेको १५ सदस्यीय टोलीलाई शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बिदाइ गरेको छ।

टोलीमा ११ जना भेटेरेनरी डाक्टर र चारजना फरेस्ट रेन्जर छन्। समितिमा बाँदरआतंकबाट पीडित किसानबाट नियन्त्रणको पहल गरिदिन उजुरी आएपछि सभापति डा. आरजु राणा देउवाले समन्वय गरेकी थिइन्। समितिका तर्फबाट भारतीय राजदूतावासलाई पत्र लेखेर सभापति राणाले हिमाञ्चलको सिम्लामा सञ्चालित बाँदर बन्ध्याकरण कार्यक्रममा नेपाली पशु चिकित्सक र वन रक्षकलाई सहभागी गराउन अनुरोध गरेकी थिइन्।

समितिको अनुरोधअनुसार भारत सरकारले नेपाली टोलीलाई बाँदर बन्ध्याकरणसम्बन्धी सीप प्रदान गर्न लागेको हो। 

‘हाम्रो कानुनले बाँदर मार्न दिँदैन। बाँदरआतंक विकराल समस्या छ, थुप्रै उजुरी आएका छन्। सरसल्लाह गर्दा परिवार नियोजनमा जाने सुझाव आयो। हामीसँग जनशक्ति र औजार भए पनि नवीन सीप छैन। त्यसैले यो तालिम बाँदरआतंक नियन्त्रणमा महत्त्वपूर्ण हुनेछ,’ सभापति राणाले भनिन्।

बन्ध्याकरणबाट बाँदरको संख्या दुई–तीन वर्षमा घट्दै जाने भारतको अभ्यासले देखाएको भन्दै सभापति राणाले सिकेको सीपलाई व्यवस्थित रूपमा प्रयोगका लागि बजेट व्यवस्थापन गर्न सरकारसँग माग गरिन्। ‘भारतमा सिकेको सीपलाई हामीले प्रदेशहरुमा विस्तार गर्नुपर्छ। तालिम प्रणाली व्यवस्थित गर्न सरकारले बजेट विकास गर्नुपर्छ। म संसदमा पनि यो कुरा उठाउँछु,’ उनले भनिन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकाससचिव रेवतीरमण पौडेलले बाँदरको आतंक नियन्त्रण गर्न सजिलो नभएको उल्लेख गर्दै किसानको बालीनाली नष्ट गरिरहेको र नियन्त्रण चुनौती बनेका वेला सीप आदान–प्रदान अति आवश्यक रहेको बताए।

समितिका उपसचिव शिवदत्त बरालका बब्लु ठाकुरको नेतृत्वमा नेपाली टोली आइतबार दिल्ली हुँदै चण्डीगढ जानेछ। नेपाली प्रतिनिधिमण्डलले पाँच दिन सिम्लामा तालिम लिनेछ। टोली दिल्ली हुँदै ११ चैतमा स्वदेश फर्किनेछ। प्रतिनिधिमण्डलको सबै खर्च भारतले व्यहोर्नेछ भने कर्मचारीलाई भत्ता पनि प्रदान गर्नेछ।

टोलीमा पशु चिकित्सकहरू मनोज महतो, रञ्जित अधिकारी, बब्लु ठाकुर, अनन्त कोइराला, हरिनारायणप्रसाद थारू, भीमप्रसाद तिमिल्सिना, विनोद कठायत, सुलेश्वर मण्डल, विशाल चन्द, विकास गिरी र चन्द्रकला राना छन्। यसैगरी, रेन्जरतर्फ अक्षय चौधरी, पुरनदेव मिश्र, दीपककुमार चन्द र खिमराज ओली छन्।

ad
ad