![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/kanti-lokpath2024-03-15-08-34-12.gif)
बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथ बिहीबारदेखि ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरतर्फको काल्चे खण्डमा सडक चौडा र स्तरोन्नति गर्नुपर्ने भएपछि बिहान १० देखि साँझ ५ बजेसम्म बन्द हुने भएको हो ।
मकवानपुरको हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटो पुग्ने कान्ति लोकपथ १ चैतदेखि १५ वैशाखसम्म बन्द हुने कान्ति लोकपथ सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार ललितपुरको काल्चे खण्डको १.५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्नुपर्ने भएकाले कान्ति लोकपथ बन्द गर्नुपर्ने भएको हो । यस सडकखण्डमा सडकमाथिका कडा चट्टान कटिङ गरेर सडक चौडा गर्ने र सडक स्तरोन्नतिसमेत गरिने भएकाले ४५ दिन लाग्ने अनुमान गरिएको इन्जिनियर महर्जनले बताए ।
०१३ मा शिलान्यास गरिएको काठमाडौंलाई हेटौँडासँग जोड्ने सडकमार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी छ । यो सडकखण्ड मकवानपुरको हेटौँडास्थित बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो छ । सडक चौडा र स्तरोन्नतिको समयमा बिहान १० देखि बेलुकी ५ बजेसम्म सवारी आवतजावतमा रोक लगाइए पनि एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायात सञ्चालन गर्न सहजीकरण गरिने इन्जिनियर महर्जनले जानकारी दिए ।