१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २ शुक्रबार
  • Saturday, 28 September, 2024
ढल व्यवस्थापनका लागि भन्दै खनेर अस्तव्यस्त पारिएको पुतलीसडकस्थित फुटपाथ । फुटपाथ अवरोध हुँदा यात्रुलाई ओहोरदोहोरमा सास्ती हुने गरेको छ । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८o चैत २ शुक्रबार o७:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका सडक र फुटपाथ अस्तव्यस्त

काठमाडौं महानगरका प्रवक्ता भन्छन्– सडक र फुटपाथ सफा र शान्त कहिल्यै नहुने भए

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २ शुक्रबार o७:१६:oo

काठमाडौं उपत्यकाका कतिपय फुटपाथ पछिल्लो समय धुलाम्य र धरापपूर्ण अवस्थामा छन् । फुटपाथमा अलपत्र अवस्थामा छाडिएका बढेमानका खाल्डामा परिने जोखिम मात्रै होइन, असरल्ल छरिएका निर्माण सामग्रीले दिनहुँजसो दुर्घटना निम्त्याइरहेको छ । 

डिल्लीबजारबाट पुतलीसडकतर्फ जाने फुटपाथ भत्काएको करिब एक महिना भइसकेको छ । ढल व्यवस्थापन गर्न फुटपाथ भत्काइएको भए पनि अझै काम सकिएको छैन । जसका कारण फुटपाथयात्रीले दिनहुँ सास्ती खेपिरहेका छन् । फुटपाथमा बडेमानका खाल्डा पारिएका छन् भने मुख्य सडकको किनारमा समेत निर्माण सामग्री राखेर अवरोध गरिएको छ । 

उपत्यकाका सडक सबैभन्दा धेरै भत्काउनेमा नेपाल विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजना पर्दै आएका छन् । काठमाडौं महानगर, सडक डिभिजन, ढल महाशाखालगायत निकायले पनि वेलाबखत सडक भत्काउने गरेका छन् । सडक र फुटपाथ भत्काएर काममा गतिमा नदिने, निर्माण सामग्री सडकमै राख्ने, जोखिमपूर्ण खाल्डाखुल्डी नपुर्नेमा पनि यिनै निकाय अग्रस्थानमा छन् । 

हाल नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने क्रममा मुख्य सडकहरू भत्काएर अस्तव्यस्त पारेको छ । सिनामंगल, पुरानो बानेश्वर, थापागाउँ, भक्तपुर कमलविनायक, मित्रपार्क, बागमती करिडोरलगायतका सडक अस्तव्यस्त पारेको छ । प्राधिकरणले ललितपुरतर्फका सडकमा पनि तार भूमिगत गरिरहेको छ । कतिपय ठाउँमा तार भूमिगत गरेर सकिए पनि सडक पिच नै नगरी छाडेको छ । 

काठमाडौं महानगरपालिकाले पनि विभिन्न स्थानमा फुटपाथ सुधारको काम गरिरहेको छ । महानगरका अनुसार ३२ वटै वडाका फुटपाथ निर्माण भइरहेको र पुराना ब्लक उप्काइएको छ । सोही कारण फुटपाथमा हिँड्नेलाई सास्ती हुने गरेको छ । महानगरले पुतलीसडक, पुरानो बानेश्वर, सिनामंगल, मैतीदेवी, बालुवाटार, नारायणगोपाल चोक, लाजिम्पाटलगायत स्थानमा फुटपाथ सुधार गर्दै छ । 

ढल महाशाखा र मेलम्ची खानेपानीले पनि काठमाडौंका सडक र फुटपाथमै प्रहार गरिरहेका छन् । मेलम्चीले पानीट्यांकी तथा गेडबल जडानका लागि सडक खनेको छ भने ढल महाशाखाले ढल व्यवस्थापनका लागि भत्काएको छ । कालीमाटी, कुलेश्वरलगायत रिङरोडबाहिरका अधिकांश स्थानमा मेलम्चीले फुटपाथ तथा सडक खनेको छ । तर, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले मेलम्चीका कारण मुख्य सडकमा अवरोध नपुगेको दाबी गरे । 

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार एउटा निकायले काम सक्छ, अर्को निकाय आएर भत्काउँछ । उनले भने, ‘काठमाडौंका सडक र फुटपाथ सफा र शान्त कहिल्यै नहुने भए । कहिले प्राधिकरण आउँछ, कहिले खानेपानी आउँछ, कहिले ढल महाशाखा आएर भत्काउँछ ।’