१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
सन् १९९६ मा मलेसियामा भएको एसिसी ट्रफीमा सहभागी नेपालको पहिलो एकदिवसीय राष्ट्रिय पुरुष टोली ।
रमेश सुवेदी काठमाडाैं
२o८१ असोज १२ शनिबार १o:३२:oo
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा...

Read Time : > 5 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १o:३२:oo

नेपालले दुईपटक अन्तर्राष्ट्रिय टी–२० विश्वकपसँगै एकपटक एसिया कपको अनुभव लिइसकेको छ । विश्व क्रिकेटका महारथी भारत, पाकिस्तान र दक्षिण अफ्रिकाविरुद्ध पनि आफ्नो क्षमता प्रस्तुत गरिसकेको छ । यस्तो सफलता प्राप्त गर्न नेपाललाई करिब तीन दशक लाग्यो । सन् १९९६ मा मलेसियामा भएको एसिसी ट्रफीबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको हो । सेप्टेम्बर ६ देखि १६ सम्म भएको उक्त प्रतियोगितामा नेपाल ब्रुनाई र जापानलाई हराउन सफल भयो । कुल १२ राष्ट्र सहभागीमध्ये समूह ‘ए’मा नेपालसँगै बंगलादेश, फिजी, हङकङ, ब्रुनाई र जापान थिए । पहिलो अन्तर्राष्ट्रिय खेलमा मुख्य प्रशिक्षक रहेका सुनोज भट्टराईले त्यतिवेला टिमको तयारीदेखि प्रदर्शनसम्मका विषयमा नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी वर्णन गरे:

म र अरुण अर्याल दाइ नेपाली क्रिकेटकै पहिलो पुस्ताका प्रशिक्षक हौँ । अरुण दाइले ०३९ मा पन्जाब पटलैयामा एनआइएस कोचिङ कार्स गर्नुभएको थियो । मैले ०४२ मा त्यही कोर्स गरेको थिएँ । पटलैयामा हामी दुवैले कोर्स गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को जागिरे भयौँ । सन् १९९६ मा नेपाल क्रिकेट संघ (क्यान)मा अध्यक्ष जयकुमारनाथ शाह र सचिव विनयराज पाण्डे हुनुहुन्थ्यो । अरुण दाइ राखेपअन्तर्गत क्रिकेटको मुख्य प्रशिक्षक र म सहायक प्रशिक्षकमा कार्यरत थियौँ । हामी दुवैले नेपाली क्रिकेट टोलीलाई सँगै प्रशिक्षण गराएका थियौँ । त्यसवेला नेपालले मलेसियामा हुने एसिसी ट्रफीमा भाग लिने निर्णय भएको थियो । 

मैले एसिसी ट्रफीमा सहभागी हुने खेलाडीलाई प्रशिक्षण गराउने अवसर पाएँ । यद्यपि, अरुण दाइ सिनियर भए पनि उहाँले मलाई मलेसियामा ‘तिमी’ले टोली लिएर जानु भन्नुभयो । एक किसिमले उहाँको त्यो परित्याग र महानता थियो । फेरि उहाँले नेपालको उमेर समूहको यू–१९ टोली लिएर सिंगापुर जाने निश्चित भइरहेको थियो । यसकारण पनि मैले नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मुख्य प्रशिक्षकका रूपमा काम गर्न मौका पाएको हुँ । नेपाली क्रिकेट टोलीको म पहिलो प्रशिक्षक भए पनि वास्तवमा अरुण दाइ नै नेपाली क्रिकेटको पहिलो प्रशिक्षक हुनुहुन्छ । 

नेपालको पहिलो राष्ट्रिय टोलीको खेलाडी छनोट जय ट्रफीबाट भएको थियो । ०५३ मा जय ट्रफी नामको राष्ट्रियस्तरको क्रिकेट हुन्थ्यो । त्यही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरिएको थियो । क्यानसँग पैसा नभएपछि सचिव विनयराजले कर्पाेरेट प्रतियोगिता गरी एक–दुई लाख रुपैयाँ जम्मा गर्नुभयो । उहाँले त्यही उठेको रकमबाट जय ट्रफी आयोजना गर्नुभयो । जय ट्रफीमा अञ्चलबाट प्रतिनिधित्व टिम सहभागी हुन्थे । वीरगन्जमा भएको जय ट्रफीबाट २५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखियो । 

धाँधलीको आरोप लाग्यो
हामीले वीरगन्जको खेलाडी छनोट इमानदारपूर्वक गरेका थियौँ । तर, टिममा नपरेपछि धेरैजसोले खेलाडी छनोटमा व्यापक धाँधली भएको आरोप प्रशिक्षकमाथि लगाएका थिए । आरोप लगाउनेले हामीलाई भने, ‘तिमीहरूले आफ्नै मात्र खेलाडी टिममा राखेको रहेछ, के–के आधारमा खेलाडी छनोट गरेको हो ।’ हामी प्रशिक्षकमाथि यस्तो आरोप थियो । तर, हामीले विभिन्न चरणमा खेलाडीलाई अभ्यास गराउँदै उत्कृष्टलाई मात्र राष्ट्रिय टोलीको क्लोज क्याम्पमा राखेका थियौँ । 

त्यसवेला हाम्रो बलबुताले जति सक्यो, त्यति नै सम्भव भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जाने टोलीलाई आवश्यक पर्ने बलर, फास्ट बलर, स्पिनर, ब्याट्सम्यान र विकेटकिपर आदि सबैको ब्याकअपसहित तयार गरिएको थियो । क्लोज क्याम्पपछि धनुषाका उत्तम कर्माचार्यलाई कप्तान र बाँकेका लेखबहादुर क्षेत्रीलाई उपकप्तान बनाइएको थियो । नेपाली टोलीमा मनीषराज पाण्डे (मोरङ), पवन अग्रवाल (बारा), पुकार पन्त (ललितपुर), सञ्जय गुरुङ (रुपन्देही), जगत टमाटा (रुपन्देही), राजु खड्का (रुपन्देही), मुसरफ इजहार (पर्सा), गणेश शाही (बाँके), किरण राणा (काठमाडौं), वसन्त शाही (रुपन्देही), विशाल गुप्ता (बारा) र रितेश बराल (धनुषा) गरी अन्तिम १४ जना खेलाडी समावेश गरी नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल्ने टोली बन्यो । नेपाली टोलीमा अनुभवी खेलाडी देखाउन एक किसिमको दाह्री पालेको देखिन्थ्यो । 

सबैको पहिलो अन्तर्राष्ट्रिय उडान
मलेसिया भ्रमणको एउटा रमाइलो पक्ष छ । त्यसवेला जति पनि नेपाली टोलीमा रहेका सदस्यहरू थिए । सबैको पहिलो अन्तर्राष्ट्रिय हवाई उडान थियो । कसैले पनि अन्तर्राष्ट्रिय विमान चढेका रहेनछन् । विमान चढ्दा सबैलाई कस्तो–कस्तो लागेको थियो । आकाशमा हवाईजहाज उडिरहँदा सबैले फरक अनुभव गरेका थिए । नेपाली टोली थाइल्यान्डको ट्रान्जिट हुँदै मलेसिया पुगेको थियो । अन्तर्राष्ट्रिय हवाईजहाज चढेको र पाँचतारे होटेलको अनुभव पनि धेरैको पहिलो थियो । नेपालमा साँचोले ताला खोल्ने बानी थियो । तर, पाँचतारे होटेलमा कार्डले ढोका खोल्दा अचम्म नै भयो । 

साँचोले ढोका खोल्ने हामीले आआफ्नो रुमको कोठा कार्डले खोल्न नै जानेनौँ । कार्डबाट रुमको ढोका खोल्न नजान्दा धेरैले ठट्टा गरेका थिए । बल्ल–बल्ल कार्ड छिराएर ढोका खोल्न सफल भयौँ । फेरि कार्ड होल्डरमा राखेपछि बत्ती बल्ने रहेछ । कस्तो अचम्मको विकास रहेछ । जीवनमा यो पनि अनभुव भयो । म मुख्य प्रशिक्षक भएकाले खेलाडीका अगाडि नजानेको जस्तो व्यवहार देखाइनँ । खेलाडीले कार्डको प्रयोग कसरी गर्ने भनी मसँग सोध्न आएका थिए । उनीहरूलाई भन्थेँ, ‘कार्ड छिराएर यति पनि ढोका खोल्न आउँदैन र बत्ती पनि कसरी बाल्ने भन्ने थाहा छैन ।’ वास्तवमा मेरो पनि त्यो पहिलो अनुभव नै थियो । 

मलेसियामा पैसाको अभाव
नेपालले एसिसी ट्रफीमा भाग लिने भनियो । तर, हाम्रो विपक्षी टिमका खेलाडी र उनीहरू कसरी खेल्छन् भन्ने कसैलाई पनि थाहा थिएन । प्रतियोगिता सुरु हुन दुई–तीन दिनअघि मात्रै नेपाली टोली मलेसिया पुगेको थियो । आयोजकले त्यसवेला एउटा नियम बनाएको थियो । प्रतियोगिताको एक दिनअगाडि मात्र सहभागी टोलीलाई पाँचतारे होटेलमा राख्थ्यो । यस विषयमा हामीलाई जानकारी नै थिएन । फेरि नेपाल खेलको तीन दिनअगाडि नै मलेसियामा पुगेको थियो । आयोजकले व्यवस्था गरेको होटेलमा जानुअघि नेपाली टोली आफ्नै खर्चमा सामान्य होटेलमा बसेको थियो । 

फेरि त्यसमाथि पनि पैसा उठाएर हाम्रो टिम मलेसिया पुगेको थियो । तीन दिनजति नेपाली होटेल खोजेर खाना खान गयौँ । खेलअगाडि प्रतिद्वन्द्वीको खेल स्तर कसरी हेर्ने र उनीहरूको खेल हेर्न पाउने कि नपाउने भन्ने विषयसँग अनभिज्ञ थिएँ । यसै सोचमा त्यतिकै दिन बित्यो । हामीले विपक्षीको एक दिन पनि अभ्यास गरेको हेर्न पाएनौँ । पहिलोपटक विदेशी खेलाडी देख्दा उनीहरूलाई गोरा भनियो । विदेशी खेलाडी भने पनि डराउने कुरै भएन । उनीहरू हामीभन्दा अनुभवी थिए । त्यसवेला अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन । यसकारण पनि पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्न अलि कठिन भयो ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वी बंगलादेश
एसिसी ट्रफीको ड्रअनुसार नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलको प्रतिद्वन्द्वी बंगलादेश थियो । त्यसवेला बंगलादेश र नेपालबिचको अन्तर खासै थिएन । अहिले बंगलादेश टेस्ट राष्ट्र बनिसकेको छ । नेपाल भने अस्थायी एकदिवसीय राष्ट्र हो । यद्यपि, बंगलादेश र नेपालबिच केही फरकपन थियो । हामी कुनै एक पक्षमा बलिया हुँदा केहीमा कमजोर थियौँ । दुवै टोलीको संख्या ५०–५० जति थियो । त्यसवेला अफगानिस्तान भन्ने देशको क्रिकेट त सुनिएकै थिएन । 

त्यो समयमा भारत, पाकिस्तान र श्रीलंकापछि क्रिकेट खेल्नेमा नेपाललाई नै बलियो टोलीका रूपमा हेरिएको थियो । सबै सहभागी टोलीहरूको पहिलोजस्तै अन्तर्राष्ट्रिय खेल थियो । यद्यपि, आयोजकले हामी नेपाललाई नै राम्रो टोलीका रूपमा राखेको थियो । नेपालले ६ सेप्टेम्बरमा बंगलादेशसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्यो । वर्षाले खेल पूरा हुन पाएन । पहिला ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १३ रन बनायो । नेपालले ३९.२ ओभरमा पाँच विकेट गुमाएर ९० रन बनाउँदा वर्षा भयो । 

जापानविरुद्ध पहिलो जित
७ सेप्टेम्बरमा नेपालले पेनाङको मैदानमा जापानसँग दोस्रो खेल खेल्ने तालिका थियो । जापानले ३३ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनायो । पहाडमा जन्मिएका हामीले समुद्र देखेका थिएनौँ । समुद्रबाट पानी उर्लेर आएपछि स्थानीयले कति समयभित्र वर्षा हुन्छ भन्न सक्थे । हामीलाई स्थानीय व्यक्तिले आधा घण्टाभित्र पानी पर्छ भनेको थियो । त्यसपछि मैले हिटर राजु खड्कालाई प्याड लगाउन निर्देशन दिएँ । राजुलाई क्रिजमा पठाउने तयारी भयो । केही क्यानका अफिसियलले यस्तो गर्नुहुँदैन भन्ने कुरा राखे । क्रिकेटको मर्यादाअनुसार खेल्नुपर्छ भन्ने थियो । मलेसियामा जसरी पनि खेल जित्नुपर्छ भन्ने भयो । त्यसकारण मैले मुख्य प्रशिक्षकका रूपमा निर्णय गर्न पाउने अधिकार छ भनेँ । र, मेरो जिद्दीमा राजुलाई खेल्न पठाएँ । उसले खेल जितायो पनि । खेलाडी मैदानबाट बाहिर ननिस्कँदै वर्षा भयो । भाग्यवश हाम्रो त्यही निर्णयले खेल जित्न पुग्यौँ । नेपालले ७३ रनको लक्ष्य १५ ओभरमै दुई विकेटको क्षतिमा पूरा गरेको थियो । यो नेपालको पहिलो अन्तर्राष्ट्रिय जित थियो । 

तेस्रो खेलमा नेपाल फिजीसँग १२३ रनले पराजित हुँदा चौथो खेलमा ब्रुनाईलाई ६४ रनले पराजित गर्‍यौँ । ब्रुनाईविरुद्ध पवन अग्रवालले राम्रो ब्याटिङ गरेका थिए । बलिङ र फिल्डिङ पनि उनले राम्रो गरे । अहिले फिजी र ब्रुनाईको क्रिकेटमा खासै चर्चा छैन । तर, त्यस समयमा उनीहरू बलिया टिम थिए । अन्तिम खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो । दुई खेल मात्रै जितेको नेपाल समूह चरणबाट माथि बढ्नै सकेन । 

बोर्डिङ पास नहुँदा तनाव
हाम्रो मलेसियाबाट पहिलो अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिएर फर्किने तयारी भयो । मलेसियामा हामीले जति खेल्न गाह्रो हुन्छ भनेका थियौँ, त्यति भएन । जसरी हामी काठमाडौंबाट मलेसिया पुगेका थियौँ । त्यही रुटमा नेपाल फर्कनुपर्ने थियो । फर्कँदा थाइल्यान्डमा एक किसिमले लफडा भयो । मेरो अलि कडा स्वभावको नेचर थियो । हरेक खेलाडीको टिकट र पासपोर्ट लिएर बोर्डिङ पास गर्नुपर्छ भन्ने जानकारी नै थिएन । थाइल्यान्डको विमानस्थलमा हामीसँग केही पनि थिएन । त्यहाँका अधिकारीलाई हामी यसरी मलेसिया आएका र त्यहाँ क्रिकेट खेलेको जानकारी गरायौँ । तर, उहाँहरू मान्नु नै भएन । पछि थाई एयरलाइन्सका अधिकारी आएर हाम्रो सबै समस्या समाधान गर्नुभयो । 

हाम्रो समयमा व्यक्तिगत रूपमा कसैसँग क्रिकेटका खेल सामग्री थिएनन् । जो जहाँ–जहाँ जान्थे, त्यहीँ नै किट्स छाड्दै हिँड्थे । त्यसरी नेपाली क्रिकेटको संरचना बढेको हो । पूर्वाधार निकै कम थियो । अहिलेजस्तो हरेक खेलाडीसँग व्यक्तिगत क्रिकेट किट्स हुँदैनथ्यो । अहिले एउटै खेलाडीसँग ब्याट चार–पाँचवटा नै हुन्छन् । टोलीसँग केवल चार–पाँचवटा ब्याटिङ, बल र हेलमेट हुन्थ्यो । यतिसम्म कि एप्डोगार्ड (जसले संवेदनशील स्थान बचाउँछ) किट्स सबै खेलाडीले एउटै प्रयोग गर्नुपर्ने बाध्यता थियो । यस किसिमको संरचनामा हामीले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थियौँ ।