मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २३ बुधबार
  • Wednesday, 18 December, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o फाल्गुण २३ बुधबार o७:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

त्रिकोणात्मक टी–२० क्रिकेट : नेदरल्यान्ड्सलाई सिरिज

फाइनलमा नेपाल दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाउँदै १९.३ ओभरमा पूरा गर्‍यो

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २३ बुधबार o७:५६:oo

नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले मंगलबार घरेलु टोली नेपाललाई फाइनलमा ४ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रनको बलियो योगफल खडा पारेको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर जित निकाल्यो । नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा सात रन आवश्यक थियो । नेपालका लागि अनुभवी बलर करण केसीले बलिङ गरेका थिए । क्रिजमा नेदरल्यान्ड्सका भान डेर मर्वे र टिम भान डेर थिए ।

मेर्वेले एक रन लिँदै टिम भानलाई स्ट्राइक दिए । टिम भानले १९.२ ओभरमा चौका र १९.३ ओभरमा छक्का प्रहार गर्दै नेदरल्यान्ड्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिए । उनले पाँच बलमा समान दुई चौका र छक्का प्रहार गरी २१ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले आक्रामक रूपमा अर्धशतकीय इनिङ्स खेले । यसैगरी, साइब्रान्ड एंगलब्रेक्टले २९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ४८ रनको आक्रामक इनिङ्स खेल्दै नेदरल्यान्ड्सलाई सहज स्थितिमा पुर्‍याए । लक्ष्य पछ्याएको इनिङ्समा नेदरल्यान्ड्सका लागि माइकल लेभिट र म्याक्स ओडाउडले पहिलो विकेटका लागि ८.३ ओभरमा ८३ रनको साझेदारी गरेका थिए । 

लेभिटले २९ बल सामना गरी ६ चौका र तीन छक्का प्रहार गरी ५४ रन जोडे । क्रिजमा सेट भएका लेभिटलाई कुशल मल्लले रोहित पौडेलबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । लक्ष्य पछ्याएको इनिङ्सको कुनै पनि समयमा नेदरल्यान्ड्स कमजोर देखिएन् । विक्रमजित सिंह र साइब्रान्डले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै टोलीलाई १५.२ ओभरमा १३४/३ को स्थितिमा राखे । विक्रमजितले ११औँ ओभरमा लगातार तीन छक्का प्रहार गरी खेल नेदरल्यान्ड्सतर्फ ल्याए । नेदरल्यान्ड्सलाई अन्तिम ५ ओभरमा ५२ रन आवश्यक थियो । तर, डेथ ओभरमा नेपालका बलरले गतिलो प्रदर्शन गर्न सकेनन् । अभिनाश कर्णले फयाकेको १८औँ ओभरमा नेदरल्यान्ड्सले २१ रन बटुलेको थियो । 

आसिफ चुके अर्धशतक बनाउन
यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पहिलो विकेटका लागि गतिलो सुरुवात गरेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ३.३ ओभरमा २३ रनको साझेदारी गरे । लगातार छक्का प्रहार गरेका भुर्तेल अनावश्यक स्कुप सट लगाउने क्रममा भान डेर गुर्टनबाट बोल्ड भए ।

त्यसपछि कप्तान रोहित र आसिफबीच दोस्रो विकेटका लागि ५९ रनको साझेदारी हुँदा नेपाल २३–१ बाट ८२–२ को बलियो स्थितिमा पुग्यो । रोहितले १९ बलमा तीन चौका र एक छक्का प्रहार गरी २५ रन बनाए । गुल्सन झाले २५ बलमा तीन चौकाको सहयोगमा ३४ रन बनाए । उनले सेखसँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे । अर्धशतकतर्फ अग्रसर भएका सेख ४७ रनमा एलबिडब्लू भए । लेभिटको ओभरमा आउट हुनुअघि उनले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गरे । कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन जोडे । 

१० रनको अन्तरमा चार विकेट
ब्याटिङ क्रममा दीपेन्द्रसिंह ऐरी एक रनमा आउट हुँदासम्म नेपाल सुदृढ अवस्थामा थियो । तर, इनिङ्सको १७औँ र १८औँ ओभरमा नेपालल आठ बलको अन्तरमा महत्वपूर्ण चार विकेट गुमायो । यही चार विकेट लगातार गुम्दा नेपालले बलियो नेदरल्यान्ड्सविरुद्ध दुई सय रन कटाउन नसकेको हो । इनिङ्सको १७.१ ओभरमा कुशल मल्ल र इनिङ्सको १७.६ ओभरमा करण केसी आउट भए । दुवै ब्याट्सम्यानलाई इन्गेव्रेचले आउट पारेका हुन् । त्यसपछि १८.१ ओभरमा गुल्सन र १८.२ ओभरमा आरिफ सेखको विकेट पतन भयो । उनीहरूलाई फ्रेड क्लासेनले पेभेलियन पठाए । नेपाल १५८–४ बाट १६८–८ को कमजोर अवस्थामा पुगेको थियो ।