१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४o:oo

इटहरीस्थित बुढीजमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतीय शवदाह निर्माण हुने भएको हो । यही आर्थिक वर्षमा सकिने गरी काम अगाडि बढाइने भएको छ । 

बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितिमा इटहरी– ४ मा रहेको बुढीजमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो । 

विपन्न तथा गरिबहरूलाई दाउरा महँगाे पर्ने र समय पनि धेरै लाग्ने भएपछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई–तीन घण्टा लाग्ने र यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा शव जलिसक्नेछ ।

घरदेखि घाटसम्म स्थानीय सरकार

इटहरीमा सुविधासम्पन्न विद्युतीय शवदाह निर्माण गर्न मेयर पौडेलले पटकपटक प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आएका थिए । इटहरी उपमहानगरले घरदेखि घाटसम्म स्थानीय सरकार भन्ने नारालाई  सफल बनाउन विद्युतीय शवदाह कोसेढुंगा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने  मेयर पौडेलको दाबी छ । 

सो विद्युतीय शवदाह निर्माण गरी सञ्चालन तथा  व्यवस्थापन इटहरी उपमहानगरले नै गर्नेसमेत मेयर पौडेलले बताए । अहिले इटहरीको बुढीजमुना मुक्तिघाटमा सरदर पाँचवटा शवको दाहसंस्कार हुने गरेको छ ।

लागत तीन करोड ५० लाख

विद्युतीय शवदाह करिब तीन करोड ५० लाखको लागतमा बन्नेछ ।  कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतीय शवदाह निर्माण सुरु गर्ने गरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समितिसमेत गठन गरिएको छ ।

ad
ad