
फलाम कारखानामा आफ्ना पिता र कामदारको काम नियालिरहेका एक बालकले अचानक पितासित प्रश्न गरे– बाबा, यस संसारमा मानिसको मूल्य कति हुन्छ ? बालक छोराको गम्भीर प्रश्नले पिता छक्क परे । उनले भने– बाबु, मानिसको मूल्य बताउन कठिन छ । मानिस अनमोल छ । बालकले पुनः प्रश्न गरे– के सबै मानिस उत्तिकै अनमोल र महत्वपूर्ण छन् त ? पिताले भने– हो बाबु !
पिताको जवाफबाट बालक सायद सन्तुष्ट हुन सकेनन् र पुनः प्रश्न गरे– त्यसो हो भने यस संसारमा कोही गरिब त कोही धनी किन छन् ? कसैको सम्मान बढी त कसैको कम किन हुन्छ ? बालकको प्रश्न सुनेर पिता केहीबेर शान्त रहे र स्टोरबाट एउटा फलामको रड निकालेर ल्याए । रड देखाउँदै पिताले बालकलाई प्रश्न गरे– यसको मूल्य कति होला ? के तिमी बताउन सक्छौ ?
बालकले जवाफ दिए– सायद दुई सयजति पर्ला कि ? पिताले पुनः प्रश्न गरे– यदि मैले यस रडबाट ससाना किला बनाएर बेचेँ भने यसको मूल्य कति होला ? बालकले केहीबेर सोचेर जवाफ दिए– त्यतिखेर यसको मूल्य लगभग एक हजार पर्ला । पिताले पुनः प्रश्न गरे– यदि मैले यसबाट घडीमा प्रयोग हुने प्रशस्त स्प्रिङ बनाएर बेचेँ भने कति मूल्य पर्ला ? बालकले केहीबेर गणना गरेर उत्साहित हुँदै भने– त्यतिखेर यसको मूल्य झन् धेरै हुनेछ । पिताले सन्तुष्ट हुँदै भने– ठीक यसैगरी मानिसको मूल्य ऊ कस्तो छ भन्ने आधारमा नभई उसले आफूलाई के बनाउन सक्छ, त्यसमा निर्भर हुन्छ । पिताको जवाफबाट बालकले मानिसको मूल्य थाहा पाइसकेका थिए ।