१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बारामा बुधबार बिहान बोलेरो र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु
जिल्ला ब्युरो नयाँ पत्रिका
२०८० फाल्गुण १० बिहीबार ०७:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकैदिन सात दुर्घटना : ११ को मृत्यु, २७ घाइते

Read Time : > 1 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०८० फाल्गुण १० बिहीबार ०७:५५:००

देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा बुधबार ११ जनाको मृत्यु भएको छ । २७ घाइते भएका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोक, बारा, सर्लाही र दाङमा भएका दुर्घटनामा दुई/दुईजनाको ज्यान गएको छ । त्यस्तै, मकवानपुर, सल्यान र अछाममा एक/एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो, अन्य चारजना घाइते भएका छन् । कोल्दोङका ४५ वर्षीया दिलकुमारी प्रधान र ६० वर्षीया लालमाया प्रधानको मृत्यु भएको इलाका प्रहरी कार्यालय  बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए । 

त्यस्तै, सिमराबाट हेटौँडा जाँदै गरेको ना.६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप  जितपुरसिमरा उपमहानगर क्षेत्रमा आपसमा ठोक्किँदा बोलेरोमा सवार दुईजनाको मृत्यु भएको छ । बोलेरोचालक नुवाकोट विदुर नगरपालिका–९ कोल्नीका सुजन मगराती र भारत बिहारका चन्दन चौहानको मृत्यु भएको हो । बोलेरोमै सवार पाँचजना घाइते छन् । सर्लाहीको बरहथवामा नम्बर नखुलेको ट्याक्टर दुर्घटना हुँदा रौतहटको गढीमाईका जयलाल सहनी र ट्याक्टरमा सवार रामनाथ सहनीको मृत्यु‍ भएको हो । ट्याक्टरमा सवार सातजना घाइते छन् ।  

दाङमा बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिँदा  रा ५ प ५४५३ नम्बरको मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । रोल्पाको  त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू दुवैजना बुधबार बिहान मोटरसाइकलमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै थिए । सोही क्रममा घोराही १६ सर्रानजिक साइकललाई जोगाउन खोज्दा मोटरसाइकल पल्टियो । सोही क्रममा बोलेरोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनकबहादुर मल्लले बताए । 

हेटौँडामा ना २ ह ५२६८ नम्बरको अटो पल्टिँदा चालकको ज्यान गएको छ । धादिङ बजारबाट ज्वालादेवी आउँदै गरेको अटो पल्टिँदा गम्भीर घाइते भएका चालक मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीका ३५ वर्षीय देवीबहादुर घिमिरे (सुमन) को उपचारका क्रममा ज्यान गएको हो । टाउको र  निधारमा चोट लागेका घिमिरेको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बुधबार बिहान रुकुमबाट दाङ जाँदै गरेको ना ७ ख ९७८२ नम्बरको टिपरले सल्यानको बागचौर नगरपालिका– ५ बांगेलाखुरीमा रा ४ प १४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार बागचौर नगरपालिका–१२ बाफुखोलाका ४६ वर्षीय वीरबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाैँस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।

तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । अछाममा जिप दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । बुधबार भएको दुर्घटनामा डोटीको पूर्वीचौकी गाउँपालिका–४ का २३ वर्षीया अनिशा खड्का गम्भीर घाइते भएकी छिन् । उनका १८ महिने छोरा ईशान खड्काकोे ज्यान गएको छ । टाउकोमा गम्भीर चोट लागेकी अनिशालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

अछामको चौरपाटी गाउँपालिका–५ लुंग्राबाट साँफेबगरतर्फ आउँदै गरेको से १ ज ४२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार जिपमा १३ जना सवार रहेकामा ११ जना घाइते भएका छन् ।