१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौँ
२०८० माघ १८ बिहीबार ११:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० माघ १८ बिहीबार ११:३६:००

नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्रता दिएको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष ०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको छ।

तीन करोड ९९ लाख ६९ हजार राजस्व संकलन

मापसेबाट गरिएको कारबाहीबाट कुल तीन करोड ९९ लाख ६९ हजार राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङलाई प्राथमिकतामा राखिएको छ ।

चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाउँछ । सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सक्रियता देखाउँदै आएको छ।

कुन प्रदेशमा कति कारबाहीमा परे ?

यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६ सय २७, कोशी प्रदेशमा दुई हजार पाँच सय २४, मधेश प्रदेशमा दुई हजार २१, बागमती प्रदेशमा एक हजार ९८, गण्डकी प्रदेशमा आठ हजार नौ सय २३, लुम्बिनी प्रदेशमा दुई हजार सात सय ७३, कर्णाली प्रदेशमा एक हजार दुई सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्यांकमा उल्लेख छ । मापसे गरी सवारी चलाउने मात्र होइन, मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । 

काठमाडौं उपत्यकाका धैरै ठाउँमा सवारीसाधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेका कारण चालक सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

प्रदेशमा राजस्व संकलन

यस अवधिमा कारबाहीमा पर्नेबाट काठमाडौं उपत्यकामा  एक करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा  २५ लाख ३९ हजार पाँच सय, मधेश प्रदेशमा  २० लाख ४२ हजार पाँच सय, बागमती प्रदेशमा ११ लाख १७ हजार, गण्डकी प्रदेशमा  ९५ लाख ६८ हजार, लुम्बिनी प्रदेशमा  २७ लाख ७३ हजार, कर्णाली प्रदेशमा  १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा  २० लाख ४२ हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।  

यसैगरी, यस अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१, कोशी प्रदेशमा २८, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् ।