मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १२ शुक्रबार
  • Tuesday, 11 March, 2025
नवराज पनेरू डडेल्धुरा
२o८o माघ १२ शुक्रबार १५:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुरामा १५ प्रतिशत नागरिकले गरे स्वास्थ्य बिमा

Read Time : > 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८o माघ १२ शुक्रबार १५:५७:oo

डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झन्डै १५ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएको छ। 

०७६ साल फागुनदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा चार वर्षसम्म पनि न्यून जनसंख्या मात्रै कार्यक्रममा आबद्ध भएको हो। ०७८ सालको जनगणनाअनुसार जिल्लाको जनसंख्या एक लाख ३९ हजार ६ सय दुई छ। 

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय डडेल्धुराका अनुसार अहिलेसम्म जिल्लामा आठ हजार सात सय ६५ परिवारका २० हजार ६ सय १६ नागरिकले मात्रै स्वास्थ्य बिमा गरेका छन्। जुन कुल जनसंख्याको १४.७७ प्रतिशत हुन्छ। कार्यालयका दर्ता अधिकारी ईश्वरदत्त जोशीका अनुसार जिल्लामा शुल्क तिरेर बिमा गर्नेको संख्या १२ हजार सात सय तीन छ।

‘जिल्लामा रहेका दुई हजार ३२ महिला स्वास्थ्य स्वयंसेविका परिवारका सदस्य तथा पाँच हजार दुई सय ६५ ज्येष्ठ नागरिकको पनि निःशुल्क रूपमा स्वास्थ्य बिमा गरिएको छ,’ दर्ता अधिकारी जोशीले थपे, ‘एचआइभी संक्रमितका एक सय ४८ जना परिवारका सदस्य, ल्याप्रोसी परिवारका १५ जना सदस्य, रातो कार्ड भएका अपांगता भएका व्यक्तिका तीन सय ८५ परिवारका सदस्य र १९ जना एमडियार टिभी संक्रमितका ५८ जना परिवारका सदस्यको पनि निःशुल्क रूपमा सरकारले नै बिमा गरिदिएको छ।’

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, क वर्गको अपांगता भएका व्यक्ति, एमडिआर टिभी र कुष्ठरोगीको बिमा बोर्डले निःशुल्क गर्दै आएको जोशीले बताए। यस्तै, ५० प्रतिशत अनुदान संघीय र ५० प्रतिशत अनुदान प्रदेश सरकारले दिएपछि महिला स्वास्थ्य स्वयंसेविकाको पनि निःशुल्क बिमा हुँदै आएको छ। 
स्वास्थ्य बिमा कार्यक्रमका लागि डडेल्धुरामा रहेका ५२ वडामा एक–एकजना दर्ता सहयोगी छनोट गरी वडा–वडामा खटाइएको छ।

स्वास्थ्य बिमाका लागि पाँचजना सदस्य रहेको परिवारले तीन हजार पाँच सयमा स्वास्थ्य बिमा गर्न पाउने व्यवस्था छ। बिमाबापत एक लाखबराबरको वार्षिक उपचार खर्च बिमाले भर्ने गर्दछ। यस्तै, पाँचजना भन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँ थपेर बिमा गर्न पाइन्छ भने उपचार खर्च पनि एक लाखभन्दा प्रतिसदस्य २० हजारका दरले बढ्ने गरेको छ।