नेपालकै दोस्रो ठूलो चार सय केभी क्षमताकोे सबस्टेसन तयार भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण गरिएको चार सय केभी क्षमताको इनरुवा सबस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् । ०७५ सालदेखि निर्माण सुरु गरिएको यो सबस्टेसन झन्डै चार अर्ब रुपैयाँ लागतमा तयार भएको हो । यो ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित सबस्टेसन हो ।
इनरुवामा चार सय र दुई सय २० केभीका दुईवटा सबस्टेसन निर्माण गरिएको छ । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत यो सबस्टेसन निर्माण गरिएको हो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो । चार सय र दुई सय केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ छ । यसबाट झन्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।
उद्घाटनसँगै प्रधानमन्त्री दाहालले यस क्षेत्रको विद्युत् प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भई सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए । उनले भने, ‘प्रसारणलाइन निर्माणमा वन क्षेत्रको प्रयोग, रूख कटान तथा जग्गा अधिग्रहणमा रहेको समस्या समाधानका लागि छिट्टै महŒवपूर्ण निर्णय गर्दै छौँ, केही दिनभित्र सुकमवासीलाई जग्गा वितरण गर्न र वन विकासविरोधी भएको मान्यतालाई अन्त्य गर्न केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्दै छौँ । मेरो कार्यकालको एक वर्ष पूरा भएको छ, अब विकासका र सुशासनका लागि धक्का दिएर काम गरिनेछ ।’ आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन आउने उनको भनाइ थियो ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाई सय मेगावाट मात्र विद्युत् उत्पादन भएकोमा हाल एक वर्षमा पाँच सय मेगावाट विद्युत् थपिनुले देश बर्बादीतर्फ नभएर प्रगतितर्फ बढेको तथ्य र तथ्यांकले पुष्टि गरेको बताए । आगामी दश वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारणलाइन निर्माणमा देखिएको मार्गाधिकारको समस्या र स्थानीयका मागलाई सम्बोधन गर्न कानुनी रूपमा थप व्यवस्था गर्न लागिएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा पर्ने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रूपमा रहेको बताए ।
‘सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिनेछ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया चार सय केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी चार सय केभी प्रसारणलाइन प्रस्ताव गरिएको छ,’ उनले भने, ‘पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतमा थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।’
यस्ता छन् सबस्टेसनका ट्रान्सफर्मर
हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता नौ सय ४५ एमभिए छ । त्यस्तै, २२०/१३२ केभी एक सय ६० एमभिए क्षमताका दुई थान र २२/३३ केभी, ६३ एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्मर छन् । इनरुवा–ढल्केबर प्रसारणलाइनको अहिले तार तान्ने काम भइरहेको छ । साथै, १३२ र ३३ केभी प्रसारण तथा वितरण लाइनमार्फत सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । सबस्टेसनलाई भविष्यमा आवश्यकताअनुसार थप विस्तार गर्न मिल्ने गरी निर्माण गरिएको छ ।