Skip This
सुदूरपश्चिममा एक वर्षमा थपिए २५२ एचआइभी संक्रमित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १७ आइतबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुदूरपश्चिममा एक वर्षमा थपिए २५२ एचआइभी संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार o६:o७:oo

कैलालीमा १०५, कञ्चनपुरमा ५३, अछाममा २८, डोटीमा २४, बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ

सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा साढे दुई सयजना एचआइभी एड्सका नयाँ संक्रमित पत्ता लागेका छन् । गत आर्थिक वर्षमा प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणमा एक सय तीनजना महिलासहित दुई सय ५२ जनामा एचआइभी पजिटिभ देखिएको सरकारी तथ्यांक छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच, कञ्चनपुरमा ५३, अछाममा २८ र डोटीमा २४ जनामा संक्रमण देखिएको छ । बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ देखिएको निर्देशनालयको तथ्यांक छ । प्रदेशभरि हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् । 

कैलालीमा हाल एक हजार ७०९ जना एआरटी उपचारमा रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका एचआइभी फोकलपर्सन देवराज जोशीले जानकारी दिए । गत आर्थिक वर्षभरि प्रदेशमा एचआइभी संक्रमित २४ महिला, ४३ पुरुष र एकजना यौनिक अल्पसंख्यकको मृत्यु भएको उनले बताए । अछाममा पाँच सय ९२, डोटीमा चार सय ८५, कञ्चनपुरमा चार सय १५, बैतडीमा एक सय २१ र डडेल्धुरामा एक सय आठजना संक्रमित एआरटी उपचारमा रहेका निर्देशनालयको तथ्यांक रहेको जोशीले बताए । अन्य जिल्लामा उपचारमा रहेका संक्रमितको संख्या सयभन्दा कम छ ।

प्रदेशका सबै जिल्लामा गरी १७ वटा एआरटी सेन्टर छन् । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले पहिलेको तुलनामा हाल संक्रमित नियन्त्रणको अवस्थामा रहे पनि अझै न्यूनीकरणका लागि धेरै काम गर्नुपर्ने बताए । नियमित औषधि सेवन गरेर खानपानको आनीबानी सुधार गरे संक्रमित पूर्ण जीवन बाँच्न सक्ने उनले बताए ।

सुदूरपश्चिम एचआइभी संक्रमण उच्च रहेको क्षेत्र हो । यहाँबाट भारतीय रोजगारीमा जानेको संख्या धेरै रहेकाले पनि संक्रमण फैलिएको देखिन्छ । भारतमा काम गर्दा असुरक्षित शारीरिक सम्पर्कले संक्रमित हुने र उनीहरू घर फर्केपछि संक्रमण भएको थाहा नपाएर श्रीमतीलाई सारेको उदाहरणहरू प्रशस्त भेटिन्छन् । संक्रमित आमाबुबाबाट जन्मेका कतिपय बालबालिका पनि एचआइभी संक्रमित छन् ।

एक हजार सात सय नाजना संक्रमितले औषधि सेवन गर्ने सेती प्रादेशिक अस्पतालको एआरटी सेन्टर देशकै ठूलो सेन्टरमध्ये पर्छ । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले जटिल अवस्थाका संक्रमितले आर्थिक अभावका कारण उपचारमा समस्या भोग्ने गरेको बताए । ‘संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ, तर संक्रमित जटिल अवस्थामा पुग्दा बिमाको एक लाखले उपचार खर्च धान्दैन,’ डा. कमरले भने, ‘त्यस्तो अवस्थामा बिरामीले उपचारमा आर्थिक अभावका कारण समस्या भोग्ने गरेका छन् ।’

प्रदेशमा एचआइभी संक्रमणदर उच्च रहे पनि परीक्षणको अभावले नयाँ संक्रमित पत्ता लाग्न नसकेको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरू बताउँछन् । परीक्षणमा नयाँ प्रविधिको प्रयोग र परीक्षणलाई विस्तार गर्नु चुनौती रहेको एचआइभी फोकल पर्सन जोशीले बताए । औषधि सेवन गर्ने केन्द्र थोरै हुँदा संक्रमितलाई नियमित औषधि सेवन गर्न पनि समस्या रहेको उनले बताए । एआरटी सेन्टरमा सहज पहुँच नभएपछि बीचमै औषधि छोड्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमण पत्ता लागेका, तर उपचारमा नरहेका संक्रमितको अवस्थाबारे सरोकारवाला निकाय बेखबर छन् । स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष प्रदेशभरि एक लाख ४४ हजार ६ सय ४९ जनामा एचआइभी परीक्षण गरिएको थियो ।