१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक ७ मंगलबार १७:००:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले उचाल्यो एसिसी यू- १९ प्रिमियर कपको उपाधि, डिएलएस मेथडअनुसार युएई १९ रनले पराजित

एसिसी यू-१९ प्रिमियर कप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक ७ मंगलबार १७:००:००

एसिसी यू– १९ प्रिमियर कपको उपाधि नेपालले उचालेको छ । डकवर्थ लेविस पद्धतिको आधारमा युएईलाई १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । 

डिएलए मेथडअनुसार जितको लागि एक सय ९८ रनको लक्ष्य पाएको युएई २६.५ ओभरमा एक सय ७८ रनमा अल आउट भएपछि नेपाल १९ रनले विजयी भएको हो । 

जारी प्रतियोगिताबाट नेपाल एसिया कपमा छनोट भएको छ । आगामी डिसेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा नेपालसँगै युएई र जापान पनि छनोट भएका छन् ।

आज टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा दुई सय ८० रन बनाएको थियो । युएईले दुई सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा ११ ओभरमा दुई विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । 

लामो समयसम्म अवरुद्ध भएको खेल पुनः सुरु हुँदा युएईले २७ ओभरमा एक सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो । सो लक्ष्य पछ्याउने क्रममा युएई २६.५ ओभरमा एक सय ७८ रन बनाउँदा अलआउट हुन पुग्यो । 

मलेसियाको बायोमास ओभलमा भएको उपाधि भिडन्तमा नेपालका कप्तान देव खनालले शतकीय इनिङ खेलेपछि नेपालले सुदृढ रनस्कोर खडा गरेको थियो । 

देवको कीर्तिमानी शतकमा नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८० रन बनाएको हो । नेपालका लागि उत्तम थापामगरले ५७ र ओपनर अर्जुन कुमालले ५५ रनको महत्वपूर्ण इनिङ खेले । दीपक डुम्रेले २८ रनको योगदान गरे । विकेटकिपर उत्तमले पहिलो खेलमै छाप छोडे । 

देवले ९२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै एक सय रन बनाएका थिए भने नेपालबाट यू– १९ मा सर्वाधिक तीन शतक बनाएका देवले जारी प्रतियोगितामा इरानविरुद्ध पनि शतक प्रहार गरेका थिए । 

खेलमा नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर दीपक बोहरा पाँच रनमै आउट भए । उनको स्थानमा आएका आकाश त्रिपाठी शून्य रनमै आउट भएपछि नेपाल संकटमा देखिएको थियो ।  तर, अर्जुन र देवले एक सय २५ रनको साझेदारी गरेपछि नेपाल खेलमा फर्किएको हो ।  

जवाफी ब्याटिङ गरेको युएईका लागि ध्रुव परेशारले ४९ बलमा ५ चौका र दुई छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । यस्तै, अर्यांश शर्माले ३२ तथा कप्तान आयन खानले ३० रन बनाए । 

युएईलाई अलआउट गर्ने क्रममा आकाश त्रिपाठीले चार विकेट लिए । सुवास भण्डारीले तीन, आकाश चन्दले दुई तथा हेमन्त धामीले एक विकेट लिए ।