Skip This
इरानविरुद्ध नेपाल २७४ रनले विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १३:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

इरानविरुद्ध नेपाल २७४ रनले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:५९:oo

एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा बिहीबार भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको हो। जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो।

इरानका लागि आमेर खोर्सन्दले ३७ रन बनाए । उनले २२ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाएका हुन् । साबेर इब्राहिमपुर ४३ बलमा एक चौकासहित ११ रनमा नटआउट रहे । त्यसबाहेक अन्य इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
 
इरानलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान तीन–तीन विकेट लिए । त्यस्तै, हेमन्त धामी र आकाश चन्दले समान दुई–दुई विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै तीन सय ५३ रनको योगफल बनाएको थियो । नेपालको इनिङमा कप्तान देव खनालले शतक प्रहार गरे भने दीपक बोहाेरा र दीपकप्रसाद डुम्रेले अर्धशतक बनाए ।

तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । त्यस्तै, दीपक बोहाेराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । पाँचौँ नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए । देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । 

यसैगरी, दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ रन तथा सुभास भण्डारीले १८ रन जोडे । इरानका दद्रहमान राइसीले र सलमान निज्मान्दले समान तीन–तीन विकेट लिए भने शेखी र जियाद राइसीले समान दुई–दुई विकेट लिएका थिए । अब नेपालले दोस्रो खेल यही असोज २८ गते बहराइनसँग खेल्नेछ ।
 
प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एसाेसिएट टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

सो प्रतियोगितालाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा  नेपालसहित बहराइन, साउदी अरेबिया र इरान छन् भने समूह ‘बी’मा युएई, ओमान, कतार र चीन छन् ।

त्यसैगरी, समूह ‘सी’मा सिंगापुर, कुबेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’मा हङकङ, मलेसिया, जापान र इन्डोनोसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछन् । रासस

ad
ad