मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Thursday, 19 December, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८o असोज २९ सोमबार o६:३२:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शेखर–एमाले गठबन्धनले पायो औपचारिकता : कोइरालाको कदमले संस्थापन सशंकित

मध्यावधि रोक्नेसम्म कोइरालाको कदम स्वीकार्य भए पनि त्यसपछिका उनका रणनीतिमा संस्थापनको नजर

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार o६:३२:oo

प्रधानमन्त्री र कांग्रेस सभापतिसँग गठबन्धन कायमै राख्ने सहमति गरेका डा. शेखर कोइरालाले एमालेसँग घोषित सहकार्य अगाडि बढाएका छन् । उनको समूहबाट कोशीमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री बनाएर यसलाई औपचारिकता दिएका छन् । 

कोइरालाको कदमले कांग्रेसको संस्थापन पक्ष सशंकित बनेको छ । कांग्रेसको संस्थापन पक्ष र सत्तागठबन्धन डा. कोइरालाले कोशीमा चालेको कदमको अन्य प्रदेश र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा मन्थनमा जुटेका छन् । विश्लेषकहरू यो कांग्रेसको शेखर समूह र कोशीका मुख्यमन्त्रीले लिने रणनीतिमा भर पर्ने बताउँछन् । 

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै उनले एमालेका रामबहादुर रानामगर र कांग्रेसका आफ्नो समूहका शमशेर राईलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । काठमाडौंमा डा. कोइरालालाई भेटेर विराटनगर पुगेलगत्तै कार्कीले एमालेलाई सरकारमा सहभागी गराउने कदम चालेका हुन् । 

गठबन्धनले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने सहमति जनाएको छ । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने–नदिने, सरकारमा सहभागी हुने–नहुनेलगायतका विषयमा ठोस निर्णय भएका छैनन् । तर, कोशीको पछिल्लो कदमप्रति कांग्रेसको संस्थापन पक्षको प्रतिक्रिया अलि फरक छ । 

कांग्रेस सहमहामन्त्री महेन्द्र यादव नेताहरूबीच गठबन्धन जोगाउन सहमति भए पनि जटिलता रहेको बताउँछन् । कांग्रेस, गठबन्धन र मुख्यमन्त्री कार्कीका लागि अबको बाटो सहज नभएको उनको टिप्पणी छ । उनका अनुसार मध्यावधि अझै टरेको छैन । मध्यावधि रोक्नेसम्म कोइरालाको कदम स्वीकार्य भए पनि अगाडि उनले लिने रणनीतिमा कांग्रेस संस्थापनको नजर रहनेछ । 

‘कांग्रेसले एमालेसँग गठबन्धन गरेको छैन । तर, कोशीमा कांग्रेसको विद्रोही र एमाले मिलेर सरकार बनेको छ । त्यसकारण कोशीले जटिलता निम्त्याएको छ,’ उनले भने, ‘एमालेले पहिलादेखि नै गठबन्धनमा बल्छी हाल्न खोजेकै थियो, कोशीमा सफल भएको छ । त्यसको प्रभाव अरू प्रदेश र केन्द्रमा थोरबहुत पर्छ । कांग्रेस, मुख्यमन्त्री र गठबन्धनलाई सजिलो छैन । मध्यावधिमा जाने सम्भावना टरेको छैन ।’

कोइराला समूहले कोशीमा आवश्यकताका आधारमा एमालेसँग सहकार्य भएकाले अरू प्रदेश र राष्ट्रिय राजनीतिमा असर नपर्ने दाबी गरेको छ । शेखर–गगन समूहनिकट केन्द्रीय सदस्य मधु आचार्य कोशीको अन्य प्रदेश र केन्द्रीय राजनीतिमा पर्ने–नपर्ने संस्थापनको भूमिकामा भर पर्ने बताउँछन् । ‘मुख्यमन्त्रीलाई सबै दलले समर्थन गर्नु र वातावरण तयार गर्नुको विकल्प छैन । पार्टीमा पेलेर गएको परिणाम कोशीको विस्फोटन हो । कोशीमा त्यही रूपमा सभापतिज्यू कसरी अगाडि बढ्नुहुन्छ त्यसको आधारमा अरू प्रदेश र केन्द्रको समीकरणमा असर देखिन्छ,’ आचार्यले भने, ‘कोशीमा मध्यावधि रोक्न सबै दल तयार छन् । फरक परिस्थितिमा सर्वदलीय सहमतिको सरकार बनाउन लाग्नुबाहेक विकल्प छैन । 

कोइरालानिकट केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल कोशीको घटनालाई आवश्यकताको रूपमा लिनुपर्ने टिप्पणी गर्छन् । ‘कोशीमा सरकार गठनको अन्तिम विकल्पमा आवश्यकताका आधारमा एमालेसँग मिलेर सरकार बनाउने बाटो तय भएको छ । अरू प्रदेश र केन्द्रमा यो परिस्थिति छैन, त्यही रूपमा कोशीको असर पर्दैन । उहाँ केन्द्रमा रहेका गठबन्धन फेरबदल गर्ने पक्षमा हुनुहुन्न,’ पोखरेलले भने । 

कोशीमा कोइराला एक्लै बढेपछि इतर समूहमा पनि अविश्वास बढेको छ । स्रोतका अनुसार पछिल्लो समय कोइराला र महामन्त्री थापाबीच संवादहीनताको अवस्था छ । दुई नेताबीच कोशीको कुनै संवाद छैन । कोशीका विषयमा कोइरालाले सीमित नेताहरूसँग मात्र छलफल गरेका थिए । जसकारण महामन्त्री थापा कोइरालासँग रुष्ट छन् । 

आफ्नो प्रस्तावमा वकालत नगरेको भन्दै कोइराला महामन्त्री थापासँग रुष्ट छन् । महामन्त्री थापाले यसबारे कुनै धारणा तथा टिप्पणी गरेका छैनन् । ‘उहाँहरूबीच विगत केही समयदेखि नै दूरीको अवस्था थियो । केन्द्रीय समिति बैठकमा पनि डा. सापले महामन्त्रीको आलोचना गर्नुभएको थियो । लामो समयदेखि डा. सापले पनि टिमको मिटिङ राखेर छलफल गर्न खोज्नुभएको देखिँदैन थियो । भएका मिटिङ पनि औपचारिकतामा मात्र सीमित थिए । यसले अवस्था थप चिसिएको छ । कोशीमा स्पष्ट रूपमा उहाँहरू फरक–फरक धारमा देखिनुभयो । दूरी बढ्दै गएको छ,’ स्रोत भन्छ । 

केन्द्रीय सदस्य आचार्यले कोशीका कारण आफ्नो समूहलाई कुनै फरक नपर्ने र कोशीको विषयमा इतर समूहमा निरन्तर संवादबाट यो विषय टुंगो लाग्ने बताए । ‘आफ्नो प्रदेश भएकाले प्रत्यक्ष रूपमा शेखर कोइराला देखिनुभएको हो । अप्रत्यक्ष रूपमा शेखर–गगन समूहको मिसन कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ, अरू दलको भर परेर हुन्न भन्ने नै हो । यसमा महामन्त्री गगनको असहयोग भन्ने होइन’, आचार्यले भने, ‘अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रदेश भएकाले उहाँको सक्रियता देखिनु अस्वाभाविक होइन । तर, यसबीचमा हाम्रो समूहमा संवादको कमी भएको अवश्य हो । अब निरन्तर संवादबाट बाँकी विषय टुंगो लगाउँछौँ र समूहलाई सशक्त बनाएर जान्छौँ ।’ 

माओवादी सचिव गणेश शाह कोशीको विषयले गठबन्धनमा शंका जन्माएको र गठबन्धनले कांग्रेस नेतृत्वको सरकारका रूपमा मानेर जाने सम्भावना रहेको बताए । ‘कांग्रेसभित्र शब्दमा विद्रोह थियो, अहिले उहाँहरू (शेखर समूह) पार्टीमै बसेर एक्सनमा जानुभएको छ । कांग्रेसमा भएको विद्रोह पार्टी नफुटाई संस्थापनलाई धम्क्याउने प्रकृतिको छ । अध्यक्ष प्रचण्डले गठबन्धनको सरकार भनिसक्नुभएको छ । तर, शंका कायमै छ,’ शाहले भने, ‘अब गठबन्धनले पनि भित्तामा पुर्‍याउने होइन, गठबन्धनमा नै रहेको कांग्रेसको नेतृत्वमा बनेको सरकार हो भनेर लिने र समर्थन गर्ने सम्भावना छ । यद्यपि, पार्टीहरूले निर्णय गरिसकेका छैनन् । विद्रोही कांग्रेसले लिने रणनीतिले भोलिको बाटो तय हुन्छ ।’ 

 मुख्यमन्त्री कार्कीले सम्हाले कार्यभार : एमाले र कोइराला समूहबाट एक–एक मन्त्री नियुक्त
कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पदभार सम्हालेका छन् । शपथलगत्तै उनले एमालेका राम राना र कांग्रेसको शेखर कोइराला समूहका शमशेर राई (दायाँ तस्बिर)लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । शपथपछि मुख्यमन्त्री कार्कीले आफूले सर्वदलीय सरकार बनाउन प्र्रयत्न गर्ने बताए । तर, उनलाई समर्थन गरेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरू सर्वदलीय सरकारको पक्षमा नरहेको बताए । ‘हामीले पटक–पटक सर्वदलीय सरकारका लागि गठबन्धनलाई आग्रह गर्‍यौँ, तर कोही तयार भएनन् । त्यसैले अब हामी पनि यसको पक्षमा छैनौँ,’ उनले भने, ‘बाँकी कुरा मुख्यमन्त्रीज्यूको व्यवहारमा भर पर्नेछ ।’

विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्– विद्रोही कांग्रेस र  मुख्यमन्त्रीको रणनीतिमा अबको राजनीति 
कोशी घटनामा कांग्रेस र गठबन्धनको राजनीतिलाई नजिकबाट नियालेका विश्लेषक गेजा शर्मा वाग्ले सम्भावित परिदृश्यबारे अझै तस्बिर प्रस्ट भइनसकेको बताउँछन् । उनी गठबन्धन, कांग्रेसको आन्तरिक राजनीति र इतर समूहको भविष्यको विषय कांग्रेसको विद्रोही समूह र कोशीका मुख्यमन्त्रीले अख्तियार गर्ने रणनीतिमा भर पर्ने विश्लेषण गर्छन् ।

‘कोशी प्रकरणले गठबन्धनमा पनि विश्वासको संकट सिर्जना भएको देखिन्छ । माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धन कायम राख्ने लिखित सहमति सार्वजनिक भएको छ । तर, मन्त्रिपरिषद् विस्तारसम्म पुग्दा हिजो कोशीमा भएको सहमतिलाई अनुशरण गरिएको देखिएन । कांग्रेसको शेखर समूह र कोशीका मुख्यमन्त्रीले कुन रणनीति अख्तियार गर्छन् भन्ने कुरामा विश्लेषण गर्नु अहिले प्रि–म्याचुअर्ड हुन्छ । अहिले कोशीको सरकार गठबन्धनको हो कि विद्रोही कांग्रेस र एमालेको भन्ने स्पष्ट भइसकेको छैन । तर, मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद् विस्तार हेर्दा विद्रोही कांग्रेस र एमालेको सरकार देखिन्छ,’ वाग्ले भन्छन् ।

कोशीमा सफल भएपछि सबैतिर गठबन्धन भत्काउने एमाले रणनीति 
कोशीमा सत्तारूढ गठबन्धन भत्काउन सफल भएपछि प्रमुख विपक्षी दल एमाले केन्द्र र अन्य प्रदेश सबैतिर नयाँ गठबन्धनको पक्षमा उभिएको छ । सबैभन्दा ठूलो दल कांग्रेससँग केन्द्रदेखि अन्य प्रदेशमा सत्ता–सहकार्यका विभिन्न विकल्पमा संवाद गर्ने एमालेको प्रस्ताव छ । 

एमालेले स्थिरता, अराजकताको अन्त्य, सांस्कृतिक मूल्य–मान्यताको रक्षा, महँगी र भ्रष्टाचार नियन्त्रणका लागि हात अगाडि बढाइसकेकाले सहकार्य कांग्रेसको निर्णयमा निर्भर रहने नेताहरूको भनाइ छ । तर, कांग्रेसको संस्थापन पक्ष तयार नभए पनि डा. शेखर कोइराला नेतृत्वको कांग्रेसको विद्रोही पक्षलाई साथ दिने एमालेको नीति छ ।

कोइराला पक्ष पनि एमालेसँगको सहकार्यलाई निरन्तरता दिन तयार भएपछि दुई पक्षको सहमतिमा आइतबार नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । शपथ लिनुअघि मुख्यमन्त्री कार्की एमाले अध्यक्ष केपी ओलीलाई भेटेर काठमाडौंबाट विराटनगर फर्किएका थिए । जब कि कोइरालाले शनिबार प्रधानमन्त्री र कांग्रेस सभापतिसँग अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका थिए । 

‘हामी वर्तमान सत्तागठबन्धनप्रति दृढ र स्पष्ट छौँ, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौँ,’ प्रधानमन्त्री र कांग्रेस सभापतिसँग यस्तो सहमति गरेको २४ घन्टा नबित्दै उल्लंघन गरेर  कोइरालाले एमालेसँग केन्द्र र प्रदेश दुवैतिर सहकार्यका लागि ढोका खुला राखेको सन्देश दिएका छन् । कोइरालाको कदमले गठबन्धनलाई झट्का लागेको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सम्भावित मध्यावधि रोकेर राजनीतिक स्थिरताका लागि कोशीबाट आफ्नो पार्टीले सत्ता–सहकार्यको हात अगाडि बढाएको टिप्पणी गरे । ‘मुलुकमा स्थिरता दिनुपर्ने आवश्यकता छ भन्ने महसुस गरेर हामीले कांग्रेससँग सहकार्यका लागि हात अगाडि बढाएका छौँ । तर, यसलाई कांग्रेसले संस्थागत रूपमा कसरी लिन्छ, सबै कुरा उसैमा निर्भर हुनेछ,’ उनले भने, ‘हामीले सहकार्यका लागि हात दिँदा त्यसलाई कांग्रेसले गम्भीरतापूर्वक लिएन भने मुलुकमा कांग्रेसकै कारण अझ बढी संकट आउन सक्छ,’ गौतमले भने । 

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिक्मत कार्कीले कांग्रेस नेता शेखर कोइराला समूहसँगको सहकार्य दाउपेचबाट नभई पवित्र उद्देश्यबाट प्रेरित भएको दाबी गरे । ‘कांग्रेससितको हाम्रो सहकार्य पवित्र उद्देश्यबाट प्रेरित छ । कोशीमा प्रयास गर्दैमा केन्द्रमा पनि त्यसैको प्रभाव परिहाल्छ त भन्न सकिन्न । तर, अहिलेको सूचना प्रविधिको युगमा स्वाभाविक रूपमा यसको प्रभाव देशभर पर्न भने सक्छ,’ कार्कीले भने, ‘केन्द्रदेखि प्रदेशसम्म कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने समयको माग हो । कांग्रेसले यसलाई समयमै बुझ्न सकेन भने पछि मिल्छु भन्दा पनि मिल्न नपाउने गरी समय घर्किन पनि सक्छ ।’ 

सरकारको आयु दुई महिना : पाण्डे 
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गठबन्धन सरकारको आयु दुई महिना मात्रै भएको दाबी गरेका छन् । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले केन्द्र र प्रदेश सबैतिर सत्तासमीकरण बदलिने सम्भावना रहेको औँल्याए । ‘अहिले कोशीमा जस्तो परिस्थिति देखिएको छ । यसबाट एक–दुई महिनाभित्रै अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा बन्छ भन्ने मैले देखिरहेको छु । यो सरकारको आयु दुई महिना राखिदिए हुन्छ,’ उनले भने ।

कांग्रेससँग सत्ता–सहकार्य गर्ने प्रस्ताव 
राजेन्द्र गौतम, प्रचार विभाग प्रमुख, एमाले

मुलुकमा स्थिरता दिनुपर्ने आवश्यकता छ भन्ने महसुस गरेर हामीले कांग्रेससँग सहकार्यका लागि हात अगाडि बढाएका छौँ । तर, यसलाई कांग्रेसले संस्थागत रूपमा कसरी लिन्छ, सबै कुरा उसैमा निर्भर हुनेछ । हामीले सहकार्यका लागि हात दिँदा त्यसलाई कांग्रेसले गम्भीरतापूर्वक लिएन भने मुलुकमा कांग्रेसकै कारण अझ बढी संकट आउन सक्छ ।