ओपनर डेभन कन्वे र रचिन रविन्द्रको शतकप्रेरित न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ को उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित निकालेको छ । न्युजिल्यान्डले अघिल्लो विश्वकपको फाइनलमा बेहोरेको हारको बदलासमेत लिएको छ । न्युजिल्यान्डले जितसँगै महत्वपूर्ण दुई अंक जोडेको छ । दुई सय ८३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा एक विकेट गुमाउँदै भेट्टाएको थियो ।
कन्वे १९ चौका र ३ छक्कासहित एक सय ५२ रनमा अविजित रहे । तेस्रो नम्बरमा क्रिजमा आएका रविन्द्रले आक्रामक ब्याटिङ गर्दै ११ चौका र ५ छक्कासहित १ सय २३ रनमा अविजित रहेका थिए । उनको यो पहिलो शतक हो । कन्वे र रविन्द्रले दोस्रो विकेटका लागि २ सय ७३ रनको अविजित साझेदारी गरेपछि न्युजिल्यान्ड जित निकाल्न सफल भएको थियो ।
यसअघि अहमदाबादमा टस हारेर सुरुवाती ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८२ रन बनाएको थियो । जो रुटले सर्वाधिक ७७ रनको योगदान गरे । कप्तान जस बटलरले ४३ रन बनाएका हुन् । ओपनर जोनी बेयरस्टोले ३३, ह्यारी क्रुकले २५, लियाम लिभिङस्टोनले २० रनको योगदान गरे । न्युजिल्यान्डका म्याट हेनरीले सर्वाधिक तीन विकेट लिएका थिए ।