१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० असोज १८ बिहीबार ०६:१०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कराँते आजदेखि : विश्व च्याम्पियनसिपपछि एसियाडमा नजर

Read Time : > 1 मिनेट
२०८० असोज १८ बिहीबार ०६:१०:००

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा बिहीबारदेखि कराँते इभेन्ट सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्को पदक जित्ने सम्भावित खेलमा कराँते पनि रहेको छ । यसअघि तेक्वान्दो र बक्सिङबाट पदकको आशा गरिएको थियो । ती खेलका खेलाडी क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेनन् । धेरैजसो खेलाडी पहिलो बाउट वा पहिलो चरणबाटै बाहिरिएका थिए । मार्सल आर्टस् विधामा अब पदकको आशा कराँतेमा छ । 

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा भएको एसियाडमा कराँतेले नै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । यद्यपि, १९औँ एसियाडमा भने नेपाल पदकविहीन नहुने पक्का भइसकेको छ । बुधबार नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालको पदक पक्का भएको हो । प्रतियोगिताको नियमअनुसार सेमिफाइनलमा पुग्ने चारै टोली पदक हुनुपर्ने अवस्था छैन । दुई सेमिफाइनलिस्टले संयुक्त रूपमा कांस्य पदक हात पार्नेछन् । 

कबड्डीले अनपेक्षित रूपमा दिलाएको पदकमाथि नै कराँतेले संख्या थप्ने योजना छ । गत वर्षको १५ चैतदेखि नै कराँतेले प्रशिक्षण थालेको थियो । सुरुमा ४८ जना खेलाडीलाई छनोट गरियो । त्यसपछि हाङझाउ एसियाडका लागि नेपाल कराँते महासंघले अन्तिम आठ खेलाडीलाई छनोट गरेको हो । महासंघले यी आठ खेलाडीलाई एसियाडको तयारीमा राख्यो । 

विश्व च्याम्पियनसिपको अनुभव
नेपालबाट सन्तोष श्रेष्ठले ६७ केजीमुनिको तौलसमूह, मोहम्मद शेख आलमले ७५ केजी मुनिको तौलसमूह, विप्लवलाल श्रेष्ठले ८४ केजीमाथिको तौलसमूह र स्वर्णिम मानन्धरले एकल कातामा नेपालको चुनौती पेस गर्नेछन् । यसैगरी, सविना श्रेष्ठले ५० केजीमुनिको तौलसमूह, निरूपा तामाङले ६१ केजीमुनिको तौलसमूह, एरिका गुरुङले ६८ केजीमाथिको तौलसमूह र एलिसा रास्कोटी मगरले एकल कातामा नेपालका लागि खेल्नेछन् । हाङझाउमा उत्रनुअघि खेलाडीहरूले इन्डोनेसियामा भएको विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका थिए, जहाँ नेपालले पदक हात पारेको थियो । इन्डोनेसियाको प्रदर्शन र त्यहाँ भएको क्लोज क्याम्पका कारण कराँतेमा पदकको सम्भावना रहेको प्रशिक्षक कुशल श्रेष्ठले नयाँ पत्रिकालाई बताएका छन् ।

‘हाङझाउ एसियाडका लागि हामी विश्व च्याम्पियनसिप खेलेर आएका हौँ, हाम्रो तयारी राम्रो छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘यहाँ नेपाल कराँतेमा पदकनजिक छ ।’ नेपालले कराँतेमा ६ जना कुमुते र दुईजना कातामा प्रतिस्पर्धा गर्नेछन् । यद्यपि, नेपालको पदक जित्ने अभियानमा विश्वका बलिया राष्ट्र जापान, इरान, काजकिस्तान र चीनजस्ता खेलाडीविरुद्ध खेल्नुपर्ने हुन्छ । बुधबार निकालिएको ड्रअनुसार नेपालका खेलाडीले उनीहरूविरुद्ध खेल्नुपर्छ । कातामा नेपालको पोलमै जापान रहेको छ । यद्यपि, नेपाली खेलाडीले विश्वस्तरका काताका खेलाडीहरूलाई चुनौती दिन सक्ने प्रशिक्षक श्रेष्ठको भनाइ छ । ‘हाम्रो पोलमा जापानजस्तो बलियो राष्ट्र रहेको छ, यद्यपि हामी उनीहरूलाई चुनौती दिन सक्छौँ,’ आत्मविश्वासी श्रेष्ठले भने ।

कुमुतेमा आशा
नेपाल कराँते महासंघले काताभन्दा पनि कुमुते (फाइट) स्पर्धामा पदकको आशा गरेको छ । इन्डोनेसियामा भएको डब्लुएसकेएफ वल्र्ड च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रदर्शन र त्यहीँ नै भएको प्रशिक्षणपछि एसियाडमा कराँतेले पदकको आशा गरेको हो । कुनै समय अन्तर्राष्ट्रियस्तरमा राम्रो नतिजा र प्रदर्शन गरिरहेको कराँते पछिल्लो समय निरन्तर ओरालो झर्दै आएको थियो । कराँते महासंघमा नयाँ नेतृत्वको आगमनसँगै कराँते पुरानै लय र गतिमा फर्कने विश्वास छ ।