मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Wednesday, 18 December, 2024
ब्रह्मा चेलानी
२o८o भदौ २४ आइतबार o९:५५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतको शान्त उदय

Read Time : > 3 मिनेट
ब्रह्मा चेलानी
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार o९:५५:oo

भारत प्रमुख विश्वशक्तिका रूपमा उदाउनु पछाडिको प्रेरक शक्ति यसको तीव्र आर्थिक वृद्धिदर हो 

चीनको तीव्र आर्थिक मन्दीले विश्वभर नै खतराको घन्टी बजाएको छ । तर, छिमेकको अर्काे जनसांख्यिकीय शक्तिको उदयलाई भने राहत दिएको छ । भारतले सन् २०२३ को दोस्रो त्रैमासिकमा ७.८ प्रतिशतको प्रभावशाली दरमा वृद्धि साक्षात्कार गरेको छ भने अहिलेसम्म अन्य देशले अवतरण गर्न नसकेको चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्ने पहिलो देश बनेर पनि अर्काे महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । र, चीनको जस्तो भारतको आरोहणमा बढ्दो आक्रामक विदेश नीति वा अन्य देशको भूभागप्रतिको भोक देखिएको छैन ।

भारतको भूराजनीतिक, आर्थिक तथा सांस्कृतिक प्रभाव बढ्दै जाँदा यसको विश्वव्यापी पदचिह्न पनि बढ्दै गएको छ । चीनको ‘सुस्ती’लाई कतिपयले उसको चार दशक लामो आर्थिक वृद्धिको गतिमा विरामका रूपमा निष्कर्ष निकाल्न थालेका छन् । उनीहरूका अनुसार यसले भारतीय अर्थव्यवस्था र अन्य विकासशील एवं उदीयमान मुलुकका लागि नयाँ अवसर खुला गर्नेछ ।

यस वर्षको सुरुमै भारतले एउटा कोसेढुंगा पार गरेको थियो । जनसंख्यामा भारतले आधिकारिक रूपमा चीनलाई उछिन्यो । चीन गत तीन सय वर्षभन्दा धेरै समयदेखि विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश थियो । चीनको खुम्चिँदै र तीव्र गतिमा बुढ्यौलीमा जाँदै गरेको जनसंख्याले उसको आर्थिक वृद्धि र भूराजनीतिक महत्वाकांक्षामा अवरोध पुर्‍याउन सक्ने सम्भावना छ, जब कि २८.२ वर्षको औसत उमेरसहित युवा जनसंख्याको अनुपात उच्च भएका देशमध्येको भारतले ठूलो जनसांख्यिकीय लाभ लिन सक्ने देखिन्छ ।

भारत प्रमुख विश्वशक्तिको रूपमा उदाउनु पछाडिको प्रेरक शक्ति यसको तीव्र आर्थिक वृद्धिदर हो । भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) चीनको भन्दा सानो भए पनि भारत अहिले विश्वमा सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र हो । यसले विश्वव्यापी जिडिपीको वृद्धिमा आगामी पाँच वर्षमा अमेरिकाको ११.३३ प्रतिशतकोे हिस्सेदारीलाई पछि पार्दै १२.९ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ ।

चीनको चार दशक लामो आर्थिक वृद्धिमा तीव्र मन्दी हुँदा अन्त्य हुँदा जनसांख्यिकीय हिसाबमा एसियाको अर्काे विशाल मुलुकको भूराजनीतिक एवं आर्थिक शक्तिका रूपमा उदयलाई राहत प्रदान गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा स्थिरता र पुनरुत्थान देखिएको छ, तर उसको भविष्य यो राजनीतिक स्थिरता र तीव्र आर्थिक वृद्धिलाई कायम राख्ने उसको क्षमतामा निर्भर रहनेछ ।

भारतको युवा जनसंख्याले उपभोगमा वृद्धि गरेको छ । साथै, नवप्रवर्तनलाई पनि बल दिइरहेको छ । यो कुरा भारतको विश्वस्तरीय अर्थव्यवस्था र हालैको चन्द्रयान अवतरणबाट पनि प्रमाणित हुन्छ । अमेरिकाको अन्तरिक्ष मिसनको बजेटको करिब ६ प्रतिशत मात्रै अन्तरिक्ष अन्वेषणमा खर्च गर्ने भारतले नवप्रवर्तनकै बलमा यो सफलता हासिल गर्न सकेको हो । पूर्वऔपनिवेशिक शासक बेलायतलाई उछिनेको भारतको जिडिपीले सन् ०३० सम्ममा जापान र जर्मनीलाई उछिन्दै अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्दै छ ।

छिमेकमा बढ्दो अस्थिरतालाई ध्यानमा राख्दा, भारतको रक्षा बजेट विश्वको तेस्रो ठूलो रक्षा बजेट हुनु आश्चर्य होइन । विस्तारवादी महत्वाकांक्षा बोकेका दुई आणविक शक्ति सम्पन्न संशोधनवादी मुलुक चीन र पाकिस्तानबीचको गहिरिँदो रणनीतिक गठबन्धनले ती मुलुकसँग सीमा जोडिएको भारतको अवस्थितिलाई खतरापूर्ण बनाएको छ । यसबाहेक, विगत तीन वर्षदेखि भारत र चीनबीच हिमालय क्षेत्रमा तनावपूर्ण सैन्य गतिरोध चलिरहेको छ । विवादित तिब्बत–लद्दाख सीमा क्षेत्रमा वेलावेलामा हुने झडपका कारण द्विपक्षीय सम्बन्ध दशकौँयताको खराब बिन्दुमा पुगेको छ । पूर्ण युद्धको जोखिमका बाबजुद चीनसँग भिडेर भारतले चिनियाँ शक्तिलाई चुनौती दिएको छ । यसरी चीनलाई चुनौती अन्य कुनै पनि देशले दिएका छैनन् ।

पश्चिमा मुलुकसँग घनिष्ठ सम्बन्ध गाँस्दागाँस्दै पनि भारत पश्चिमासँग औपचारिक सैन्य गठबन्धनमा प्रवेश गर्न भने हिचकिचाइरहेको छ । यसका लागि आंशिक रूपमा पश्चिमा शक्तिहरू पनि जिम्मेवार छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले चीन–भारत सैन्य गतिरोधबारे टिप्पणी गर्न आनाकानी गर्नु, भारतलाई खुलेर समर्थन गर्नु त परै जाओस्, आफ्नो प्रतिरक्षाका लागि भारत आफँै जिम्मेवार छ भन्ने स्पष्ट संकेत दिएको नै हो । देशको आर्थिक वृद्धिको भविष्य बाह्य खतराबाट आफूलाई जोगाउने क्षमतामा निर्भर रहने भएकाले भारतले आफ्नो परम्परागत सशस्त्र बलको आधुनिकीकरण र आणविक निरोध बढाउने प्रयासलाई तीव्र पार्नेछ ।

चीन र भारतबीच बढ्दो भूराजनीतिक प्रतिद्वन्द्विताले ग्लोबल साउथलाई एकताबद्ध गर्ने र ब्रिक्स समूहलाई जी–२० र जी–७ को भरपर्दाे विकल्पमा रूपान्तरण गर्ने प्रयासमा बाधा पुर्‍याउन सक्छ । ब्रिक्स राष्ट्रहरू (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)ले हालै साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट, इथियोपिया, अर्जेन्टिना र इरानसहित ६ वटा नयाँ सदस्य थपेर समूह विस्तार गर्न सहमत भएका छन् । ११ सदस्य राष्ट्रको फरक–फरक स्वार्थलाई ध्यानमा राख्दा ब्रिक्स प्लसलाई कुनै पनि प्रमुख विषयमा सहमतिमा पुग्न अझ कठिन हुने देखिन्छ । यसैबीच, चीनको आर्थिक मन्दीले राष्ट्रपति सी चिनफिङलाई आफ्नो विस्तारवादी एजेन्डालाई दोब्बर बनाउन अभिप्रेरित गर्न सक्छ । बाइडेनले हालैमा चीनको अर्थतन्त्रलाई ‘टिकिङ टाइम बम’को संज्ञा दिँदै भनेका छन्, ‘जब खराब मानिसलाई समस्या हुन्छ, उनीहरूले नराम्रो काम गर्छन् ।’ भारत, मलेसिया, फिलिपिन्स, भियतनाम, ताइवान एवं भुटान (र रुसको केही भागसमेत)को विशाल भूभागलाई चिनियाँ भूभागका रूपमा चित्रण गरिएको चीनको विवादास्पद नयाँ राष्ट्रिय नक्साले पनि चीनको बढ्दो आक्रामक व्यवहारले निम्त्याएको खतरालाई उजागर गरेको छ ।

यी बाह्य खतराका साथै घरेलु आर्थिक चुनौतीको सामना गर्न भारतले अपनाउने प्रतिक्रियाले उसको भाविष्यलाई आकार दिनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुरानो भारतीय कर्मचारीतन्त्रलाई आधुनिकीकरण गर्न र झन्झटिला प्रक्रिया हटाउँदै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न इ–सरकारलाई बढावा दिने मामलामा ठूलो फड्को मारेका छन् । उनको सरकारले देशको पूर्वाधारको उन्नयन र विस्तारमा ठूलो लगानी गरेको छ । नियामक सुधार लागू गरेको छ । मोदीको ‘मेक इन इन्डिया’ पहलमार्फत म्यानुफ्याक्चरिङको स्वदेशीकरणलाई बढावा दिन खोजिएको छ । तर, भारतले आफूलाई विश्वव्यापी म्यानुफ्याक्चरिङ केन्द्रको रूपमा रूपान्तरण गर्न मानव पुँजीमा, विशेषगरी शिक्षा र प्रशिक्षणमा लगानी गर्नुपर्नेछ । यसबाहेक, भारतको आकार र विविधताले पनि ठूलो चुनौती खडा गरेको छ ।

सम्भवतः भारत सुरुदेखि नै लोकतान्त्रिक प्रणालीमार्फत आधुनिकीकरण र समृद्धिलाई अघि बढाउने पहिलो विकासशील अर्थतन्त्र हो । तर, विश्वको व्यापक सांस्कृतिक विविधतायुक्त देशमध्ये एक भारतको कहिल्यै नटुंगिने चुनावी चक्रले अक्सर विभाजन र धु्रवीकरणलाई नै बढावा दिएको छ । अमेरिकी शैलीको ध्रुवीकृत राजनीतिका बाबजुद भारतको लोकतान्त्रिक ढाँचाले स्थिरताको आधारस्तम्भको रूपमा काम गरेको छ । खुला अभिव्यक्ति र संवादलाई बढावा दिएर, भारतीय राजनीतिक प्रणालीले जमिनीस्तरका समुदाय र व्यक्तिहरूको सशक्तीकरण गरेको छ । यसले ऐतिहासिक रूपमा सीमान्तकृत वर्ग र जातिका सदस्यलाई नीति–निर्माणको उच्चतम तहमा पुग्न सक्षम बनाएको छ ।

भारतले आफ्नो वर्तमान प्रगतिलाई कायम राख्न सक्छ कि सक्दैन भन्ने कुरा यसको राजनीतिक स्थिरता, तीव्र आर्थिक वृद्धि, आन्तरिक तथा बाह्य सुरक्षा र अग्रगामी विदेश नीति कायम राख्ने क्षमतामा निर्भर रहनेछ । सफलताले विश्वको नयाँ भूराजनीतिक आधारभूमि र तीव्र गतिमा वृद्धि भइरहेको अर्थव्यवस्था ‘भारत’को विश्वव्यापी हैसियत बढाउनेछ र इन्डो–प्यासिफिकमा अमेरिकी हितलाई अगाडि बढाउन मद्दत गर्नेछ । 

(बर्लिनस्थित रोबर्ट बोस्च एकेडेमीका रिसर्च फेलो ब्रह्मा चेलानी नयाँदिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका रणनीतिक अध्ययनका प्राध्यापक हुन् । उनका ‘वाटर : एसियाज न्यु ब्याटल ग्राउन्ड’लगायत पुस्तकका लेखक हुन्।) 

– प्रोजेक्ट सिन्डिकेट